विदेशिन उक्साउने ‘कागजपत्र’

विदेशिन उक्साउने ‘कागजपत्र’

अध्ययनका लागि होस् वा रोजगारी; अधिकांश नेपालीको सपना हो, विदेश। त्यसमाथि पश्चिमा देश जान पाए जस्तोसुकै कसरत गर्न तयार हुन्छ आजको नेपाली समाज। फिल्म ‘कागजपत्र’ विदेशिने त्यही हुटहुटीको कथा हो। फिल्मले विदेशिन अनेक थरी सोचिरहेकालाई सजिलो बनाइदिएको छ। सुरुदेखि अन्त्यसम्म फिल्मको पात्र, दृश्य, संवाद र कथाको मूल मन्त्र नै विदेशिन उक्साउनु हो।

दाङको तुलसीपुरमा बस्छन् राजकुमार (भोलाराज सापकोटा)। उनी त्यहाँ रहेको हुलाक कार्यालयमा पियनको काम गर्छन्। दैनिक साइकलमा यात्रा गर्ने उनको जागिरले घरको आर्थिक अवस्था धान्न नसकेको अनुमान सजिलै गर्न सकिन्छ। अर्कोतर्फ छिन् उनकी श्रीमती देवी (सरिता गिरी)। शानसँग खान, लाउन र समाजमा ठाँट देखाएर हिँड्न उनी श्रीमान्लाई विदेशिन दिनरात कर गर्छिन्। राजकुमारलाई भने दुई सन्तान र श्रीमती छाडेर विदेशिने कुनै इच्छा हुँदैन।

अर्कोतिर देवीकी अविवाहित बहिनी बुनु (शिल्पा मास्के) को सपना हुन्छ अस्टे«लिया जाने। उनले नर्सिङ पढेकी हुन्छिन्। उनको विदेशिने चाहना र देवीको श्रीमान्लाई विदेश पठाउने इच्छाबाट नै कथा अगाडि बढ्छ। अस्टे«लियाको भिसा पाउनकै लागि २० वर्षीया बुनु चालीस वर्षका भिनाजु राजकुमारसँग विवाह गर्न राजी हुन्छिन्। यसमा दिदी देवीको पनि पूर्ण समर्थन रहन्छ। फेक म्यारिज सर्टिफिकेट देखाएर विदेशिने प्रचलन नेपाली समाजको यथार्थ हो। तर, फिल्मले विषयवस्तु अराजक ढंगमा प्रस्तुत गरेको छ।

आफ्नी छोरीलाई विदेश पठाउन नचाहने बुनुका बुवा छोरीको भिसा लागेसँगै विदेशिनु सही हो भन्ने निर्णयमा पुगेका छन्। उनले आफ्नो परिवारको सुखद भविष्यको कल्पना गरेका छन्। यसबाट पनि बुझ्न सकिन्छ, फिल्मले भविष्य राम्रो बनाउन विदेशिनुपर्ने सन्देश दिन्छ।

अर्कोतर्फ सरकारी जागिर छाडेर विदेश जान लागेका प्रसंगहरू पनि फिल्ममा छन्। गाउँमा हरकोही विदेशबाट कमाएर ल्याएको धनसम्पत्तिको चर्चामा छन्। विदेशिने पात्रले अनेक ताण्डव गरेको देख्दा लाग्छ, फिल्मले विदेशिने तरिका सुझाउँदै छ।

पहिलो हाफमा फिल्मले जबरजस्ती हँसाउने काम गरे पनि दोस्रो हाफमा रुवाउँछ। फिल्मभर यौन संवादको भरपूर प्रयोग छ। फिल्ममा हरकोही पात्र दोहोरो अर्थ लाग्ने संवाद गर्न उद्यत छन्। यसले पात्रहरू एकअर्काभन्दा फरक प्रस्तुत हुन सकेका छैनन्। पात्रको परिवेश र कथाले भन्दा गफले दर्शकलाई अल्झाउँछ। यसलाई फिल्मको कमजोर पक्षका रूपमा लिन सकिन्छ। दोस्रो हाफमा फिल्मको कथावस्तुले ट्र्याक छोडेको अनुभव गर्न सकिन्छ। सीता र उनका पतिको रहस्यमय मृत्युले फिल्मको विषयवस्तु एक्कासि मोडिन्छ।

एकातिर फिल्मले विदेशिनुबाहेक अन्य विकल्प नखोज्ने समाजको प्रतिनिधित्व गर्छ। अर्कोतर्फ वैदेशिक रोजगारले समाजमा निम्त्याएको विकृति र विसंगतिलाई हास्यव्यंग्यका रूपमा प्रस्तुत गर्छ। संवेदनशील मुद्दालाई निर्देशक तथा लेखक अपिल विष्टले हलुका रूपमा प्रस्तुत गर्नु आफंैमा असंवेदनशील कार्य हो।

फिल्म वास्तविक कथाको निकै नजिक छ। पात्रहरू पनि वास्तविक लाग्छन्। बीचबीचमा थुप्रै पल्ट न्यारेसनको प्रयोग भएको छ। यसले कथाको गम्भीरतामा ब्रेक लगाउँछ।

राजकुमार र देवीको केमेस्ट्री प्रशंसनीय छ। सोझा राजकुमार अनि महŒवाकांक्षी देवीको भूमिकाले कथालाई रोचक बनाएको छ। तर, बुनु र जग्गा दलाली गर्ने केशव (नाजिर हुसेन)को प्रेम प्रसंग भने खासै लोभलाग्दो छैन। नायिका शिल्पा मास्केले आफ्नो भूमिकालाई न्याय गरेकी छन्। यता नाजिरको भागमा भने लेखकले न राम्रो संवाद लेख्न सकेका छन् न त प्रभावकारी भूमिकामै उनलाई उभ्याउन सकेका छन्। मुख्य कलाकार नाजिर अतिरिक्त कलाकारको भूमिकामा सिमित छन्।

गम्भीर विषय कमेडीमा रूपान्तरित गरेर फिल्मले मोरल भ्यालुको हेक्का राखेको छैन। तर, फिल्मभित्रका पात्रहरूको भूमिका सशक्त छ। गीतसंगीत तारिफयोग्य छ। छायांकन राम्रो छ। निर्देशकले फिल्म बनाउन जति मेहनत गरेका छन् स्क्रिप्ट लेखनमा भने त्यति नै चुकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.