विकटमा सहयोग
चितवन : डेढ दशकदेखि ओढारमा बस्दै आएका सिद्धिका ७८ वर्षीय हस्तबहादुर चेपाङले नयाँ घर पाए । सौराहाका होटल व्यवसायी केशव खनालले सिद्धिको पाईमाराङमा १ लाख रुपैयाँ लागतमा वर्षअघि घर बनाइदिएका हुन् । खनालले चेपाङको रेखदेखसँगै बिरामी हुँदा उपचारको व्यवस्था गर्दै आएका छन् । उनले आवश्यक कपडा, भाडावर्तनसहित खाद्यान्न उपलब्ध गराउँछन् ।
चेपाङको अवस्थाबारे थाहा पाएपछि उनको यात्रा विकट क्षेत्रतर्फ मोडिएको थियो । भौगोलिक विकटताका कारण पछि परेको समाज र पढाइबाट वञ्चित बालबालिकाका लागि उनले सहयोग अभियान थाले । उनले विकट चेपाङ गाउँमा गएर सेवा गर्दै आएका छन् । घण्टौं हिँडेर खानेपानी ल्याउनुपर्ने बस्तीमा घरमै धारा पाएपछि स्थानीय चेपाङ खुसी छन् । गाउँमै आयआर्जनको काम भएपछि उनीहरू उत्साहित छन् ।
‘पहिले खानेपानी बोकेर ल्याउनुपथ्र्र्यो, अहिले घरमै धारा छ’, कोलभञ्ज्याङका गमन चेपाङले भने, ‘कसैले वास्ता नगरेको हाम्रो बस्तीको मुहार फेरिने आशा पलाएको छ ।’
खनालले जिङलाउमा खानेपानीका लागि अभियान चलाए । ६० घरमा खानेपानी सुविधा पुगेको छ । कृषि, भेटेरेनरी तालिम सञ्चालन गरी उनी स्थानीयलाई जागरुक बनाउन लागिपरे । इच्छाकामना गाउँपालिका साप्रेनीमा २७, थाप्राङमा ८२, कोलभञ्ज्याङमा ६५, बिङलाङमा ३७ घरका लागि पनि उनले खानेपानीको व्यवस्था गरिदिएका छन् । बङयाम, लेसराङमा पनि सहयोग कार्यक्रम पु¥याएका छन् ।
काउलेको कोलभञ्ज्याङ र थाप्राङमा तरकारी खेती र सुधारिएको चुलो बनाउने तालिम सञ्चालन गरेका छन् । अरू नपुग्ने भएकाले आफूले विकटका बस्ती रोजेको उनले सुनाए । ‘सुगममा जो पनि पुग्छन् तर सरकारकै नजर नपुगेको दुर्गम स्थानमा हामी सहयोग लिएर जाने गरेका छौं’, उनले भने, ‘गरिब बस्तीमा काम गर्न पाउँदा आनन्द अनुभूति हुन्छ ।’
आयआर्जनको तालिम दिएर उनी चेपाङको जीवनस्तर फेर्ने अभियानमा छन् । उनी मौरीपालन, बाख्रापालन, तरकारी खेतीका लागि विज्ञ लिएर गाउँ पुग्छन् । गाउँमा उत्पादित कृषिउपज उनले होटलका लागि खरिद गर्छन् । कृषि उत्पादन बिक्री भएपछि चेपाङहरू उत्साहित छन् । उनले स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छन् ।
उनले नेदरल्यान्ड, अस्टे«लिया, जर्मनी, बेल्जियमका दाताको सहयोगबाट कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । होटलमा आउने पाहुनालाई पहाडी क्षेत्र घुमाउँछन् । उनीहरूले पनि सहयोग गर्छन् । होटलबाट हुने आम्दानीको केही अंश उनी सामाजिक काममा खर्चिन्छन् । उनका दाइ राजेन्द्र खनालले अभियानमा साथ दिएका छन् । उनले बाल कल्याण संस्थामार्फत काम गर्दै आएका छन् । आफ्नो बाल्यकाल गरिबीमा बितेकाले गरिब बस्तीमा सहयोग लिएर पुग्ने गरेको उनीहरूको भनाइ छ । ‘मुख्य समस्या खानेपानी हो’, संस्थाका अध्यक्ष राजेन्द्रले भने, ‘त्यसको व्यवस्थाले गाउँमा परिवर्तन देखिएको छ ।’
उनका अनुसार पदमपुरको २ सय बिघामा तीनवटा डिप बोरिङ राखेर सिँचाइ र खानेपानीको व्यवस्था गरिएको छ । सोही स्थानको विद्यालयमा दिवा बाल विकास केन्द्र सञ्चालन गरिएको उनले सुनाए । माडीको बाँदरझुलामा खानेपानी अभाव भएपछि सम्भाव्यता अध्ययनको काम भइरहेको छ । विकट गाउँमा सहयोग गर्न थालेको दुई दशकभन्दा बढी भएको उनीहरूको भनाइ छ ।