बाँदर आतंक रोक्न पासो
भोजपुर : टेम्केमैयुङ गाउँपालिका–६ र ७ कोटका बासिन्दाले बाँदर पक्रन खोरको पासो बनाएका छन्। अन्नबाली मात्र होइन, घरभित्र पसेर खानेकुरा खाई दुःख दिएपछि उनीहरूले नयाँ तरिका अपनाएका हुन्। पासोमा २ सय हाराहारी बाँदर परिसकेका छन्।
बाँसको भाटाले चारैतिर बारेर खोर बनाइएको छ। भाटाले बुनेको छानो लगाइएको छ। छानाको बीचबाट ढडियाजस्तो आकारमा खोरभित्र छिर्ने प्वाल राखिएको छ। भित्र राखिएका मकै तथा अन्य खानेकुरा खान पसेको बाँदर बाहिर निस्कन नसक्ने स्थानीय केदार नेपालले सुनाए। उनका अनुसार ढडियामा माछा परेजस्तै यो खोरले काम गर्ने हुँदा बाँदर भित्र पसेपछि बाहिर आउन सक्दैन।
यो कम खर्चिलो र प्रभावकारी देखिएको स्थानीय बलबहादुर राईले बताए। ‘बर्सेनि हजारौं बाँदरले गाउँमा बालीनाली सखापै पार्छ’, उनले भने, ‘एक–दुईवटा पक्रेर, बालीनाली रुँघेर दुःख कम हुने पनि होइन। साह्रै हैरान भएपछि यो तरिका अपनायौं।’ खोरले बाँदर समात्न सजिलो भएको उनले सुनाए। भने, ‘गाउँमा बाँदर आतंक कम भएको छ।’
बाँदर आतंकले प्रभावित वडामा पासो बनाउने काम भइरहेको वडाअध्यक्ष सूर्यप्रसाद नेपालको भनाइ छ। किसानको प्रत्यक्ष समस्यासँग गाँसिएको विषय समाधान गर्नु स्थानीय सरकारको जिम्मेवारी रहेको उनले सुनाए। ‘बाँदर आतंकका कारण बसाइ सरेर गाउँ रित्तिने सम्भावना बढेपछि हामीले गाउँलेलाई परिचालन गरी बाँदर नियन्त्रण अभियान थालेका हौं’, उनले भने। खोरमा १० देखि १५ वटा बाँदर एकैपटक फस्ने गरेको अर्का स्थानीयको भनाइ छ।
धनकुटा, खोटाङलगायत जिल्लाका स्थानीय तहले भारतबाट बाँदर समात्ने मान्छे ल्याएर काम गरिरहेका छन्। तर, भोजपुरमा स्थानीय स्रोत–साधन प्रयोग गरी खोर बनाइएको छ। यो तरिका विस्तार गर्न सकियो भने गाउँलेलाई बसाइँ जान रोक्न सकिने स्थानीय सन्दीप राईको ठम्याइ छ।
खोर निर्माणका लागि टेम्केमैयुङ गाउँपालिकाले १ लाख बजेट विनियोजन गरेको छ। ३४ वटा खोर बनाइएको छ। बाँदरप्रभावित अन्य क्षेत्रमा बनाउने क्रम रहेको गाउँपालिकाले जनाएको छ।
यो वर्ष वडाभर ५० वटासम्म खोर बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए। पासोमा परेका बाँदर निकुञ्ज तथा मानव बस्तीभन्दा टाढाका क्षेत्रमा छाड्ने प्रबन्ध मिलाइएको उनको भनाइ छ।