हायसको ठक्करबाट बालकको मृत्यु, तीन घाइते
विराटनगर : पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका-८ मा तीव्र गतिमा रहेको हायस गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। बा ५ ख ३५४ नम्बरको हायसले ठक्कर दिंदा सुनसरीको धरान उपमहानगरपालिका-१७ का १३ वर्षीय सविन मग्रातीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए।
उनका अनुसार तीव्र गतिमा गुडिरहेको हायस अनियन्त्रित भएर सडकमा हिंडिरहेका बालकलाई ठक्कर दिएको थियो। बिहान साढे ५ बजे पश्चिमतर्फ जाँदै गरेको हायस अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पथरीशनिश्चरे नगरपालिका-९ का २९ वर्षीय रमेश बस्नेत, हायसमै सवार सुन्दरहरैंचा-८ का १४ वर्षीय सुमन रम्तेल र उर्लाबारीका २१ वर्षीय सचिन भित्रीकोटी घाइते भएको प्रहरीले जनाएको छ।
स्थानीय मेडिलकमा उपचारपछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते अन्य दुईजनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ।