सीपसँगै संस्कार
जब मानिसले नीतिको पालना गर्छन्, तब समाजमा सकारात्मक सोचको विकास हुन्छ, त्यसपछि नागरिकमा दायित्वबोध हुन्छ।
आजका बालबालिका विद्यालयभन्दा बाहेकको समयमा प्रायः ग्याजेटमै झुन्डिने गरेको पाइन्छ। हातमा एउटा फोन, ट्याब वा ल्यापटप लिएर बसेपछि उनीहरूको सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित हुन्छ। घरमा कोही पाहुना आए पनि उनीहरूलाई खासै वास्ता हुँदैन।
बाबुआमाले ‘ल अंकलआन्टीलाई नमस्कार गर त’ भनेपछि मात्रै अभिवादनका लागि उनीहरूको हात उठ्छ। कोही त यति पनि नगरी दौडिँदै आफ्नै कोठामा जान्छन् र पुनः आफ्नै ग्याजेटमा व्यस्त हुन्छन्। हिजोआज घर वरपर खेल्ने ठाउँ पनि त्यति नहुने र बाबुआमाको व्यस्तताले छोराछोरीलाई अल्मलाउन नजाँनिदो रूपमा आफैंले ती ग्याजेटमा अभ्यस्त गराउँदै लगेका हुन्छौं ।
यस्ता बानीव्यवहारले बालबालिकालाई शारीरिर एवं मानसिक रूपमा असर त पुर्याउँछ नै, उनीहरू नैतिकवान् एवं चारित्रिक पनि बन्दैनन्। यस्ता विद्यार्थीलाई असल व्यक्ति बनाउन नैतिक शिक्षाको भूमिका महत्त्वपूर्ण हुन्छ। जब मानिसले नीतिको पालना गर्छन्, तब मात्र समाजमा सकारात्मक सोचको विकास हुन्छ। नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै जान्छ। आजका विद्यार्थीमा नैतिक शिक्षाको बीज रोपेमा मात्रै भोलिका नागरिकमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकार जस्ता सकारात्मक पक्षले स्थान पाउने विज्ञहरू बताउँछन् ।
नैतिक शिक्षालाई पाठ्यक्रमको एक अंश मात्र बनाउनुभन्दा पनि व्यावहारिक रूपमै प्रयोग गर्न विद्यार्थीलाई सिकाउनु जरुरी देखिन्छ। हामीले सानै उमेरबाट बालबालिकामा राम्रा विचार आत्मसात् गराउन सक्यौं भने मात्र उनीहरूको भविष्य उज्ज्वल हुन सक्छ। हिजोआज प्रायः विद्यार्थीका आमाबाबु दुवै कामकाजी हुने भएकाले दुवै व्यस्त हुन्छन्। आफ्ना छोराछोरीको आवश्यकता त जसरी भए पनि पूरा गरिदिन्छन्। तर उनीहरूसँग केही समय बसेर छलफल गर्ने र भावना साट्ने समय अभिभावकसँग नभएका कारण आमाबाबु र छोराछोरीबीचको दूरी पनि बढ्दै गएको देखिन्छ। आफूले बिहानदेखि बेलुकीसम्मै दुःख गरेर भए पनि छोराछोरीलाई महँगा स्कुलमा भर्ना गरिदिन्छन्। यति धेरै पैसा तिरेपछि त विद्यालयले आफ्ना छोराछोरीको शिक्षादेखि संस्कारसम्मका कुरा सबै हेरिहाल्छ नि भन्ने पनि आमाबाबुलाई लाग्न सक्छ।
अभिभावकको अपेक्षाअनुरूप सन्तानको समग्र नतिजा त्यति सकारात्मक देखिँदैन। त्यसैले नैतिक शिक्षाको ज्ञान किताबी पढाइले मात्र पर्याप्त हुँदैन भन्ने यसले पुष्टि गर्छ। विद्यालय मात्रै होइन, घरमा पनि
यसको व्याावहारिक प्रयोग हुनु जरुरी देखिन्छ। घरमा अभिभावक पनि त्यत्तिकै नैतिकवान् भए छोराछोरीले पनि असल आचरण र संस्कार सिक्न सक्छन्।
आफ्ना सबै विद्यार्थीलाई आचरणवान् र निष्ठावान बनाई देशका लागि योग्य जनशक्ति तयार पार्नु पूर्वीय चिन्तनको उद्देश्य हो। यो पूर्ति गर्न केही न केही स्रोत चाहिन्छ। त्यही स्रोत खोज्दै जाने क्रममा संस्कृतसम्म पुगिने वाल्मीकि क्याम्पसका प्रा.डा. देवमणि भट्टराईले बताए। उनका अनुसार विद्यार्थीको अलिकति मात्र भए पनि आचरण सुधार्ने र उनीहरूलाई चरित्रवान् बनाउने हो भने पूर्वीय परम्परामा भएका ज्ञानविज्ञानलाई आजका बालबालिकाबाट वञ्चित गराउनुहुँदैन। शिक्षाप्रद संस्कृतको अध्ययन र हाम्रो संस्कृतिको अनुसरण गर्नु उनी अत्यावश्यक ठान्छन्। मातृदेवो भव, पितृदेवो भव जस्ता आदर्श वाक्य र समाजोपयोगी अनेक प्रकारका शिक्षाप्रद वचन संस्कृति साहित्यमा धेरै छन्। ‘हामीले यस्ता कुरा आजका विद्यार्थीलाई नपढाएसम्म उनीहरू गुणवान् होऊन् भनेर कसरी अपेक्षा गर्न सकिन्छ ?’ उनले प्रश्न गरे।
नेपाल धर्मसंस्कृति, कलासाहित्य, दर्शन आदि अनेक विषयले परिपूर्ण छ। तर विद्यालय एवं अभिभावकले यस प्रकारका ज्ञान आफ्ना सन्ततिमा नसारेकै कारण आजका विद्यार्थी चरित्रहीन र विभिन्न खाले दुव्र्यसनीको कुलतमा समेत फसेको देखिन्छ। त्यसैले आजका विद्यार्थीलाई चरित्रवान् बनाउन सानै कक्षादेखि कम्तीमा संस्कृत विषयको ५० पूर्णांकको भए पनि अध्यापन गराइनुपर्ने उनको भनाइ छ। ‘विद्यालय तहको कोर्स डिजाइन गर्दा नै सानै कक्षादेखिको पाठ्यक्रममा संस्कृत शिक्षा समावेश गरे विद्यार्थीलाई नैतिकवान् बनाउन सकिन्छ’, उनले थपे।
कार्यव्यस्तताका कारण हिजोआज अभिभावकले सकेसम्म बिहान चाँडै र बेलुकी ढिलासम्म राख्ने विद्यालय रोज्ने गरेका छन्। यस्तो अवस्थामा बालबालिकाले अधिकांश समय घरभन्दा विद्यालयमा नै बिताउने हुनाले कक्षाकोठामा पढाइने पाठ र विद्यालयको वातावरणले पनि उनीहरूको आनिबानीमा धेरै प्रभाव पारेको देखिन्छ। विद्यालयका प्रारम्भिक दिनदेखि नै उनीहरूमा शिक्षाका साथै असल संस्कारको विकास गराउनु आजको आवश्यकता रहेको डिल्लीबजारस्थित मानसी किड्स प्यालेसकी संस्थापक सीता अर्यालले बताइन्।
मानसीमा विद्यार्थीलाई बालमैत्री वातावरणमा उनीहरूको समग्र विकासलाई ध्यानमा राखेर आफूहरूले अध्ययनअध्यापन गराउँदै आएको उनको भनाइ छ। अभिभावकको व्यस्तताले गर्दा हिजोआज बालबालिकालाई सानै उमेरमा विद्यालयमा भर्ना गरिने र उनीहरूको समय घरभन्दा विद्यालयमै बढी बित्ने हुनाले खेल्दै सिक्दै भन्ने किसिमको शिक्षा दिनुपर्ने उनले बताइन्। बालबालिकाको स्वभावै चञ्चल हुने भएकाले उनीहरूलाई यसो गर, यसो नगर भनेर बन्देज लगाउनुभन्दा यसो गरे राम्रो हुन्छ, यसो गरे नराम्रो हुन्छ भनेर मायाले सम्झाउनुपर्छ। त्यसैगरी हामीले जस्तो बोल्यो बालबालिकाले पनि त्यस्तै सिक्ने हुनाले सकेसम्म साना नानीहरूलाई पनि आदरार्थी शब्दको प्रयोग गरेर सम्बोधन गर्नुपर्ने उनको सुझाव छ।
विद्यालयको संख्या बढेसँगै अध्यापन पद्धतिमा पनि प्रतिस्पर्धा हुँदै गएको देखिन्छ। हिजोआज विद्यार्थीलाई कक्षाकोठाभित्र पाठ्यपुस्तकमा आधारित कोर्स मात्रै पढाउनेभन्दा पनि अन्य धेरै क्षेत्रको जानकारी दिने गरिन्छ। विद्यार्थीको बौद्धिक विकासका साथै शारीरिक विकासका लागि धेरै अतिरिक्त क्रियाकलापको पनि व्यवस्था गरिएको हुन्छ। विद्यार्थीलाई नै केन्द्रमा राखेर उनीहरूलाई प्रयोगात्मक र सिर्जनात्मक सिकाइमा आफूहरूले जोड दिँदै आएको शंखमूलस्थित अक्षरा स्कुलका संस्थापक धु्रव भट्टराईले बताए।
खेल्ने ठाउँको अभावका कारण बालबालिका घरबाहिरभन्दा भित्र नै बसेर कम्प्युटर, टेलिभिजन र मोबाइलमा रमाउने गरेको देखिन्छ। यसले गर्दा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै सामाजीकरण हुनबाट पनि बालबालिकालाई टाढा नै राख्छ। त्यसैले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि आफ्नो विद्यालयले पर्याप्त अतिरिक्त क्रियाकलापलाई समावेश गरेको पनि उनले बताए। यसका लागि विद्यालयमा पर्याप्त हरियालीसहितको ठूलो खेलमैदान पनि उपलब्ध छ।
विद्यार्थीलाई नैतिकवान् एवं चरित्रवान् बनाउन कक्षामा पढाइने कोर्सबाहेक उनीहरूलाई नियमित रूपमा परामर्श गर्दै आएको पनि उनले बताए। विद्यार्थीको रुचिअनुसारका अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुका साथै उनीहरूलाई स्वाध्ययनको बानी बसाली आत्मनिर्भरतातर्फ प्रेरित गर्नु पनि आजको आवश्यकता भएकाले सोहीअनुरूप विद्यालयले विभिन्न गतिविधि गर्दै आएको संस्थापक भट्टराईले जानकारी दिए।