विकासका नाममा भ्रष्टाचार र बेथिति बढ्यो : नेता लेखक
बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले देशमा शान्ति,स्थिरता र विकास ल्याउने एक मात्र शक्ति नेपाली कांग्रेस भएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले सोमबार दशरथचन्द नगरपालिका- १ गुरुखोला कलौनमा गरेको अन्तरक्रिया एवं कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेता लेखकले माओवादीलाई शान्ति प्रक्रिया ल्याउने काम नेपाली कांग्रेसले नै गरेको बताए।
तत्कालिन समयमा माओवादी र राजा दुवैले हतियारको लडाई गरिरहेका बेला कांग्रेसले नै शान्तिको बाटो रोजेको उनको दाबी छ। लेखकले भने, 'नेपाली जनताको दुई बन्दुकको बीचमा रहेका बेला देशलाई शान्तिको बाटोमा ल्याउने शक्ति नेपाली कांग्रेस नै हो। त्यसैले कांग्रेस बलियो हुनु आवश्यक छ।'
उनले भने, 'पहिलो संविधानसभामा कम्युनिस्टको बहुमत थियो। त्यो बेला संविधान बनेन्। २०७० सालमा भएको दोश्रो संविधान सभाको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्यो, त्यसपछि हामीले संविधान जारी गर्यौं।'
नेपाली जनताको ७० वर्ष लामो संघर्षको फलस्वरुप प्राप्त वर्तमान उपलब्धि गुम्ने खतरा रहेको नेता लेखकले बताए। वर्तमान सरकारका गतिविधि संविधान विरोधी रहेको आरोप लगाउँदै नेता लेखकले देशमा प्राप्त उपलब्धि गुम्ने चिन्ता रहेको बताए।
देशमा विकासका नाम भ्रष्टाचार र बेथिति बढेको आरोप लगाउँदै नेता लेखकले नेपाली कांग्रेस प्रतिपक्षी भएकाले पनि जनताको बीचमा आएको बताए।