नख्खु कारागारका २४ विद्यार्थी एसईई परीक्षा दिँदै
ललितपुर : यस पटकको एसईई परीक्षामा नख्खु काराबारबाट मात्रै २४ जना विद्यार्थी सामेल भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई ललितपुरका परीक्षा शाखाका शान्तिराम पौडेलका अनुसार उनीहरुको गार्डका रुपमा सोही विद्यालयबाट खटिएका छन् ।
उनीहरुको वास्तविक परीक्षा केन्द्र टीका विद्याश्रम माध्यमिक विद्यलय, सानेपा भए पनि उनीहरुलाई काराबारबाट नै परीक्षा दिने वातावरण मिलाइएको हो ।
विभिन्न सिलसिलामा काराबारसम्म पुगेका विद्यार्थीमध्ये एकजना ४९ वर्षीया परीक्षार्थी छन् । यस्तै अर्का दुईजना ४० वर्षका छन् । अन्य त्यसभन्दा कम उमेरका छन् । पौडेलका अनुसार गत वर्ष पनि २५ जनाले परीक्षा दिएका थिए ।
आइतबारदेखि सुरु परीक्षामा २९ जना अनुपस्थित छन् भने, सोमबार ३२ जना विद्यार्थी अनुपस्थित रहेको पनि उनले जनाए । शिक्षा विकास तथा समन्वय ईकाई, ललितपुरका प्रमुख गुणराज पोखरेलका अनुसार गत वर्ष थोरै ग्रेड आएको भन्दै पुन परीक्षा दिने ३ जना विद्यार्थी छन् ।
यस्तै यस वर्ष ललितपुरबाट चार जना दृष्टिबिहिन परीक्षामा सामेल छन् । लगनखेलको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अधययनरत सृष्टी सुवेदी, वृज कुमार शाह, आईतमान तामाङ र आशिष बराम परीक्षामा सामेल भएका हुन् । उनीहरु प्रत्येकलाई एक जना सहयोगी दिइएको छ ।
ललितपुरबाट नौ हजार ९ सय ३४ जना परिक्षार्थी रहेकोमा ५ हजार ९६ जना छात्र र ४ हजार ७ सय ७१ जना छात्रा छन् । यस मध्ये जम्मा दुई सय ८८ विद्यालय छन् ।