विप्लवका कोसी ब्युरो संयोजकसहित दुई पक्राउ
विराटनगर : सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कोसी ब्युरो संयोजकसहित दुई नेतालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विप्लवका कोसी ब्युरो संयोजक काठमाडौं घर भएका पुस्कर भनिने घनश्याम श्रेष्ठ र कोसी ब्युरो सदस्य काभ्रे घर भएका आकाश शर्मा भनिने माधव गौतम रहेका छन्। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले दुवै जनालाई पक्राउ गरिएको पुष्टि गरे पनि विस्तृत विवरण खुलाउन मानेनन्।
दुवै जनालाई बाटोमा बसिरहेका बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार विप्लवको आन्तरिक प्रशिक्षण आयोजना हुने सूचना पाएर प्रहरीको क्षेत्रीय ब्युरो, इलाका प्रहरी कार्यालय धरान र मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट संयुक्त टोली परिचालित भएको थियो। प्रहरीले दुई जनालाई पक्राउ गर्न सकिए पनि अन्य नेता कार्यकर्ता भने फरार भएको जनाएको छ।
उनीहरूलाई पक्राउ गरिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट ७ किलोमिटर दक्षिणमा पर्छ। पक्राउ गरिएपछि दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा पुर्याइएको थियो। प्रहरीले उनीहरूका साथबाट नगद, उनीहरूले प्रयोग गर्ने मोबाइल, केही कागजपत्र र विभिन्न सिमकार्डहरू बरामद गरेको छ। विभिन्न ठाउँमा धाक धम्की दिएर चन्दा वापत उठाएको पैसा बरामद भएको प्रहरी दावी छ। प्रहरीले उनीहरूका साथबाट कति रकम बरामद भयो भन्ने कुरा खुलाउन मानेन।
मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनबाट आइतबार साँझ ७ बजेतिर प्रहरीले दुवै जनालाई पक्राउ गरे पनि सार्वजनिक नगरिकन घटनालाई गुपचुप राखेको छ। सरकारद्धारा प्रतिबन्ध लगाएको समूहका नेता कार्यकर्ता पक्राउ पर्दा पनि प्रहरीले सार्वजनिक नगरेको विषयलाई शंकास्पद रुपमा हेरिएको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्ध न्यौपानेले सोमबार साँझसम्म विप्लवका कोही पनि कार्यकर्ता पक्राउ नपरेको दावी गरे। ‘हामीले पक्राउ गरेका छैनौं। तपाईहरूलाई चैं कसरी थाहा भयो,’ उनले भने, ‘पक्राउ गरेको भए हामी सार्वजनिक गर्ने थियौं। अहिलेसम्म प्रदेशको कुनै पनि ठाउँबाट विप्लवका नेता कार्यकर्ता पक्राउ गरिएको विषयमा केही खवर आएको छैन।’ यस विषयमा बुझ्न खोज्दा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल सम्पर्कमा आउन चाहेनन्।
‘ग्रामीण क्षेत्रलाई लक्षित गरेर विप्लव समूहले प्रशिक्षणको आयोजना गरेको छ भन्ने सूचना आयो,’ प्रहरीका एक अधिकारीले भने, ‘त्यही सूचनाका आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गर्न सकेको हो।’ प्रहरीले विप्लवले आयोजना गरेको प्रशिक्षण विथोलिएको दावी गरेको छ।
सोमबार साँझ सम्पर्कमा आएका विप्लवकै एक नेताले श्रेष्ठका साथबाट पाँच लाख रुपैयाँ भन्दा बढी नगद प्रहरीले बरामद गरेको जानकारी दिए। ‘हामी एउटा विशेष कार्यक्रममा हिंडेका थियौं। प्रहरीले सुइँको पाएछ,’ ति नेताले भने, ‘कार्यक्रमका लागि आवश्यक पर्ने सबै पैसा बोक्नु भएका साथीलाई प्रहरीले पक्राउ गर्यो। हामी त्यहाँबाट उम्कन सफल भयौं।’ उनले बरामद भएको ठूलो परिणामको पैसा लुकाउ पनि प्रहरीले पक्राउ परेकाहरूको अवस्था सार्वजनिक नगरेको हुन सक्ने आरोप लगाए।
विप्लव समूहका ति नेताले दुई जनालाई प्रहरीले पक्राउ गरे पनि आफन्तलाई कुनै जानकारी नदिएको बताए। पक्राउ परेकाका आफन्तले प्रहरीले पक्राउ गरेपछि कुटपिट गर्दै चरम यातना दिएको जानकारी आफूहरूलाई आएको बताएका छन्। सबै तिर पक्राउका बारेमा खवर गर्दा कुटपिट गर्न र यातना दिन नपाइने भएका कारण प्रहरीले पक्राउ गरिएको विषयलाई गोप्य राखेको आरोप आफन्तको छ।
पक्राउ परेका दुवै जनालाई आइतबार राति नै इलाका प्रहरी कार्यालय धरानमा पुर्याइएको थियो। प्रहरी प्रवक्ता सुवेदीले दुवै जना विरुद्ध धरानबाटै सोमबार संगठित अपराध र हातहतियार खरखजना ऐन अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले यस विषयमा केही पनि बोल्न चाहेनन्।