विप्लवले चाहे म संयोजन गर्छु : माधव नेपाल
चितवन : सरकारले प्रतिबन्धित गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीलाई नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वार्तामा आउन आग्रह गरेका छन्। उनले विद्रोहमा खर्चिने शक्ति र उर्जालाई देश रुपान्तरणमा लगाउन सके राम्रो हुने सुझाव दिए। विप्लवले वार्ता गर्न चाहे मात्रै छलफलका रुपमा अघि बढाउन सकिने उनले दावी गरे।
प्रेस चौतरी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले वार्तामा आउनका लागि आग्रह गर्दै सहज अवतरणका लागि आफूले सहजीकरण गर्न तयार रहेको बताए।' देशलाई शान्तिको अवस्थामा फर्काउनु हामी सबैको जिम्मेवारी हो, नेपालले भने, 'यदि विप्लवजीले वार्ताका लागि नेताको सहयोग चाहे त्यसका लागि मेरो भूमिका पक्कै सकारात्मक हुनेछ।'
विप्लव नेतृत्वको माओवादीलाई सिद्धयाउनका लागि नभई नियन्त्रणको प्रयास मात्रै गरेको बताए। पार्टीका नेताले संवादको प्रयास गरेको बताए। सरकारप्रति भएका आलोचनालाई सकारात्मक पाटो खोज्नु पर्ने भन्दै जोड दिएका छन्।विधिमा गए सजिलै पार्टी एकीकरण हुने बताए। 'जसरी केन्द्रीय र स्थायी कमिटीको एकिकरण टुङ्गियो त्यही विधि सबै ठाउँमा लागु गर्ने हो भने कुनै गारो छैन , यदि चाहने हो भने एक हप्तामा पार्टी एकीकरण टुङ्गिन्छ।'
नेता नेपालले सरकारको अलोपालो बारे आफूलाई थाहा नभएको भन्दै त्यसमा आफूलाई कुनै हतार भएको बताए। उनले अहिले महाधिवेशनभन्दा पनि पार्टीमा एकताबद्ध बनाएर सरकारको गतिविधिलाई जनतामाझ लोकप्रिय बनाउने प्राथमिकता भएको बताए।