३२ किलो सुन प्रकरण, पाँच जनाविरुद्ध मुद्दा दायर
महेन्द्रनगर : फागुन २ गते कञ्चनपुरबाट बरामद गरिएको ३२ किलो सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। तीमध्ये २ जना हिरासतमै छन्। उनीहरूलाई आइतबार नै अदालतमा उपस्थित गराइएको छ।
सोमबार हिरासतमा रहेका दुवै जनाको बयान लिने काम भएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। राजस्व अनुसन्धान विभागले आइतबार जिल्ला अदालतमा राजस्व चुहावट कसूरअन्तर्गत मुद्दा दायर गरेपछि सोमबार अभियुक्तद्वयको बयान लगिएको हो।
‘सुन प्रकरणको पनि मुद्दा दायर भएर अदालतमा २ जनाको बयान लिइएको छ’, उनले भने, ‘थुनछेक बहस भएपछि आदेश आउन सक्छ।’ उनका अनुसार जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासमा उक्त मुद्दा परेको छ। सोमबार न्यायाधीशकै रोहवरमा अभियुक्तको बयान गराइएको हो। बरामद गरिएको सुन राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।
प्रहरीले २३ किलो ६ सय ग्राम सुनसहित २ जनालाई फागुन २ गते कञ्चनपुरको पुनर्वासाबाट पक्राउ गरेको थियो। लुकाएर राखिएको सुन प्रहरीले फागुन २ र ३ गते पुनर्वास र शुक्लाफाँटा नगरपालिकाबाट बरामद गरेको थियो। पुनर्वासबाट १८ किलो र शुक्लाफाँटाबाट ५ किलो ६ सय ग्राम सुन बरामद भएको थियो। बरामद सुन र पक्राउ परेका दुवैलाई प्रहरीले राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।
पुनर्वास नगरपालिका–२ घर घएका शंकरबहादुर विकको घरबाट १८ किलो तथा शुक्लाफाँटा नगरपालिका–११ बाट ५ किलो ६ सय ग्राम सुन केन्द्रीय अनुसन्धान ब्युरोसहित प्रहरीको टोलीले बरामद गरेको थियो। राजस्व चुहावट गरी सुन भित्र्याइएकाले त्यसको अनुसन्धानको जिम्मेवारी नेपाल प्रहरीले विभागलाई नै दिएको थियो। शुक्लाफाँटा नगरपालिका–११ का ३३ वर्षीय लक्ष्मण तिरुवाले भारतबाट ३२ किलो सुन नेपाल भित्र्याएका थिए। उनले पक्राउ परेलगत्तै प्रहरीलाई दिएको बयानमा ८ किलो सुन मालिकलाई नै फिर्ता दिएको र घरमा लुकाएको ४ सय ग्राम सुन बिक्री वितरण गरेको बताएका थिए।
राजस्व अनुसन्धान विभागले भने नेपाल भित्रिएको ३२ किलो सुन नै राजस्व चुहावट गरी ल्याएको भन्दै अभियोग पत्र दायर गरेको हो। विभागले ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो। विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुलउपर हुनुपर्ने दाबी गर्दै राजस्व चुहावटको मुद्दा दायर गरेको हो। विभागले लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, इन्दिरा विक र शंकरबहादुर विकविरुद्ध अभियोग पत्र दायर गरेको हो।
अभियोग दायर गरिएका अन्य ३ जना भने फरार छन्। राजस्व अनुसन्धान विभागले प्रहरीले पक्राउ गरे २ जनासहित परिवारकै सदस्यका ५ जनालाई अभियुक्त बनाएर अभियोग दायर गरेको हो। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुरुप बरामद भएको सुनलाई थोक मूल्य मानी दफा २३ (१) बमोजिम ५ जनालाई नै बिगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैद सजाय गर्न माग गरिएको छ।
विभागले बरामद गरिएको सुनसमेत जफत गर्न अदालतसमक्ष माग गरेको छ। उक्त सुन भारतको अयोध्याबाट भैरहवाको सुनौली नाका भएर करिब तीन महिनाअघि नै सुन तस्करी गर्ने भारतीय व्यापारीको ३२ किलो सुन नेपाल भित्रिएको थियो। मंसिर ७ गते (नोभेम्बर २३) नै भारतको अयोध्यादेखि ३२ किलो सुन लिएर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ३३ वर्षीय लक्ष्मण तिरुवा आएको प्रहरी अनुसन्धानबाट खुलेको हो। तिरुवा भारतको दिल्लीमा एक कम्पनीमा सवारी चालकका रूपमा कार्यरत थिए।
बरामद सुन राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकमा बुझाइसकेको छ।