२६ दिनपछि सप्तकोसीमा भेटियो रमिलाको शव
विराटनगर : मोरङको बेलबारी-४ की २६ वर्षीया रमिला राईको शव हत्या भएको २६ दिनपछि सप्तकोसी नदीमा भेटिएको छ। राईको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै बुधबार भेटिएको हो।
बेलबारी नगरपालिकाका तत्कालीन एमालेका पूर्वअध्यक्ष एवं सत्तारुढ दल नेकपाका नेता योगेन्द्र गुरुङले राईको हत्या गरेर शव सप्तकोसीमा फालेको स्वीकार गरेका छन्। मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अुनसार सेतो बोरामा हात खुट्टा बाँधेर फ्यालेको अवस्थामा शव भेटिएको हो।
माछा मार्नेक्रममा बोराभित्र शव देखेपछि माझीले प्रहरीलाई खवर गरेका थिए। प्रहरीकै आग्रहमा उनीहरुले डुंगाको प्रयोग गरेर लगभग दुई घण्टा लगाएर शव बाहिर निकालेका हुन्। राईका आफन्तले शव रमिलाकै भएको पुष्टि गरेपछि प्रहरीले मुचुल्का तयार पारेको छ।
प्रहरीका अनुसार नेकपा नेता गुरुङले फागुन १७ गते राति हत्या गरेर १८ गते बिहान २ बजेर ५६ मिनेटमा राईको शव कोसी ब्यारेजमा फालेको बयानका क्रममा स्वीकार गरेका छन्। गुरुङलाई प्रहरीले फागुन २४ गते इलामबाट पक्राउ गरेको थियो।
प्रहरीसँगको बयानमा गुरुङले हत्या गरेर बा १५ च ७९१६ नम्बरको कारमा राखेर शव कोसीमा फालेको स्वीकार गरेका हुन्। ‘सिसी टिभी फुटेज’ मा योगेन्द्रको गाडी फागुन १७ गते राति साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार बिहान साढे ४ बजे सुन्दरहरैँचाको गोठगाउँबाट पूर्व लागेको देखिएको थियो । त्यही फुटेजको आधारमा प्रहरीले उनलाई खोजी गरेको थियो।
हत्या गरिएकी राई र गुरुङबीच प्रेम सम्बन्ध रहेको पनि खुलेको छ। बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।
रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए। रमिला बेपत्ता भएको भन्दै उनकी बहिनीले फोन गरेपछि गुरुङसमेत पटक-पटक रमिला बस्दै आएको माइती घरमा पुगेका थिए।
रमिलाको खोजी गर्न भन्दै गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए। हत्या गरिएकी राई सम्बन्ध विच्छेद गरेर बेलबारीस्थित माइतीमै बस्दै आएकी थिइन्।
उनकी एक छोरी छन्। गुरुङका भने श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्। उनी नोबेल सामुदायिक अस्पताल बेलबारीका अध्यक्ष हुन्।
हत्या भएको दिन राई र गुरुङ सुन्दरहरैँचाको विराटचोकस्थित हवना रेष्टुरेण्टमा गएको खुलेको छ। त्यहाँ मादक पदार्थ सेवन गरेर शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए। उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडेपछि रमिलालाई भने गाडीमै लिएर घरतर्फ गएका थिए।
गुरुङमाथि प्रहरीले दुई मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। व्यक्ति बेपत्ता पारेको कसुरमा र कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए। राईको शव भेटिएपछि अनुसन्धान सहज बनेको एसपी केसीको भनाइ छ।