अनेरास्ववियु र नेविसंघबीच झडप, चार घाइते

अनेरास्ववियु र नेविसंघबीच झडप, चार घाइते

विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र नेपाल विद्यार्थी संघ (नेविसंघ)बीच झडप भएको छ। 

दोहोरो ढुंगामुडासँगै सुरु भएको झडपका कारण स्थिति तनावग्रस्त बन्यो। झडपमा नेविसंघका चार नेता घाइते भएका छन् । झडपमा नेविसंघ ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा ल्याइएको छ। घाइतेमध्ये तोलाङ्गीको टाउकोमा ६ वटा टाका लगाएको छ।

क्याम्पसका प्राध्यापकले अन्यत्र पनि पठनपाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा नेविसंघको अगुवाईमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा आन्दोलन जारी छ।

त्यही आन्दोलन विवादमा परिणत भएपछि अखिल र नेविसंघबीच झडप भएको क्याम्पस प्रशासनले जनाएको छ। बिहान ८ बजेटबाट सुरु भएको झडपका कारण झन्डै दुई घण्टा क्याम्पस परिसर रणमैदान बनेको थियो। 

डीएसपी नवराज ढुंगानाको नेत्रृत्वमा परिचालित प्रहरी टोलीले क्याम्पस प्रवेश गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। स्थितिलाई नियन्त्रणमा लिने नाममा प्रहरीले विद्यार्थीमाथि अपशब्द बोल्दै दुर्व्यवहार गरेको र प्रहरीको यो कदम आपत्तिजनक रहेको विद्यार्थीको भनाइ छ। कसैलाई प्रहरीले पक्राउ भने गरेन। 

नेविसंघ सुकुना बहुमुखी क्याम्पसका पूर्व सभापति सुमन ढकालले क्याम्पसका प्राध्यापकले लिइरहेको दोहोरो सुविधाको विरोधमा आन्दोलन गर्दा अखिल सम्बद्ध विद्यार्थीले अवरोध गरेपछि दोहोरो झडप भएको बताए।

उनका अनुसार सुकुना क्याम्पसमा प्राध्यापन गर्ने १५ जना प्राध्यापकले अन्यत्रका क्याम्पस र सरकारी विद्यालयमा पनि पढाएर दोहोरो सुविधा लिइरहेका छन्।

'हामी प्राध्यापक र शिक्षकले दोहोरो सुविधा लिन हुँदैन भनेर आन्दोलन गरिरहेका छौं। अखिलले विज्ञप्तिमार्फत आन्दोलन नगर्न चेतनावी दिँदै हातखुट्टा भाँच्ने धम्की दियो,' ढकालले भने, 'क्याम्पस प्रशासनसँग सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाउन जाने क्रममा क्याम्पस प्रमुख नभेटिएपछि नेविसंघले विरोधमा नारावाजी गर्‍यो। अवरोध गर्न अखिलका नेता कार्यकर्ता आएपछि दोहोरो झडप भएको हो।' उनले शिक्षकले लिंदै आएको दोहोरो सुविधा तत्काल बन्द गर्नुपर्ने आफूहरुको माग रहेको बताए। 

अखिलका क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेतले नेविसंघले बाहिरका मान्छेलाई ल्याएर क्याम्पसको शैक्षिक वातावरणमै असर गर्ने गरी नाराजुलुस गर्न थालेपछि त्यसो नगर्न आग्रह गर्दा झडप भएको बताए। बस्नेतका अनुसार पठनपाठनमा अवरोध हुने गरी नाराजुलुस नगर्न र वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गर्दै स्ववियु सभापति सन्तोष लिम्बूसहित अखिल सम्बद्ध विद्यार्थीको समूह पुगेको थियो। 

'सम्झाई बुझाई गर्ने क्रममा सुरुमा नेविसंघका विद्यार्थीले स्ववियु सभापतिमाथि हातपात र दुर्व्यवहार गरे। त्यसपछि दुवै संगठनका विद्यार्थीबीच दोहोरो झडप भएको हो,' बस्नेतले भने, 'नेविसंघले सुरुमा हातपात गरेपछि प्रतिरक्षा गर्नुपर्ने अवस्था आयो। बाहिरका मान्छे ल्याएर क्याम्पसमा कुनै पनि गतिविधि गर्न हुँदैन भन्ने हाम्रो माग छ।'

शान्तिपूर्ण आन्दोलन गर्ने र क्याम्पसको पठनपाठन अवरुद्ध पार्ने कुनै पनि गतिविधि नगर्ने मंगलबार मात्रै भएको सहमति विपरित नेविसंघले आन्दोलन गरेको बस्नेतको दावी छ। 

क्याम्पस प्रमुख लक्ष्मीकुमार श्रेष्ठले नेविसंघले पूर्व जानकारी बिनानै क्याम्पसमा धर्ना दिएर पठन पाठन बन्द गराउँदै आन्दोलन थालेको बताए। 'प्राध्यापक र विद्यार्थीलाई समेत क्याम्पस प्रवेशमा रोक लगाउँदै नेविसंघ सम्बद्ध विद्यार्थीले आन्दोलन गरेको पाइयो,' उनले भने, 'स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गर्नु पर्‍यो।'

प्रमुख श्रेष्ठले क्याम्पसका प्राध्यापकले दोहोरो सुविधा लिएको भनेर भन्न नमिल्ने बताए। 'सुकुना क्याम्पसबाहेक अन्य स्कुल र क्याम्पसमा समेत पढाउने भएका कारण प्राध्यापकले अन्यत्रबाट अतिरिक्त सेवा शुल्क लिएका हुन्,' उनले भने, 'सुकुना नीजि स्रोतबाट सञ्चालित क्याम्पस भएकाले पनि कर्मचारी र शिक्षकको तलब भत्तामा यहाँ सरकारको लगानी छैन।'

सरकारको लगानी नै नभएको क्याम्पसमा पढाउँदा लिने सुविधा र अन्यत्र काम गर्दा लिने अतिरिक्त सेवा शुल्कलाई जोडेर दोहोरो सुविधाको नाम दिँदै शैक्षिक वातावरणमै असर गर्ने गरी लामो समयदेखि आन्दोलन भइरहेको उनको भनाइ छ। 

'कतिपय साथीहरु १० देखि ४ बजेसम्म स्कुल पढाउने र बिहान क्याम्पस पढाउने गर्नुहुन्छ,' क्याम्पस प्रमुख श्रेष्ठले भने,' काम गरे वापत लिएको पारिश्रमिकलाई दोहोरो सुविधा भनेर विरोध गर्नुको कुनै अर्थ छैन।'

समय मिलाएर कुनै पनि प्राध्यापकले अन्यत्र स्कुल वा क्याम्पसमा काम गर्नका लागि शिक्षा नियमावलीले नै बाटो खुल्ला गरिदिएको उनको भनाइ छ। नेविसंघले भने स्कुल र क्याम्पसबाटै सविधा लिने गरेको भन्दै विरोध गरिरहेको हो। क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसमा भएको असामान्य गतिविधिको अन्त्यका लागि बिहीबार सर्वपक्षीय बैठक र छलफलको आव्हान गरिएको जानकारी दिए। 

सुकुना क्याम्पस प्रशासनले भने घटनापछि नेविसंघका केन्द्रीय सदस्य किशोर कार्कीले क्याम्पस प्रमुख श्रेष्ठलाई फोन गरेर धम्क्याउने र गालीगलौज गर्ने काम गरेको बताएको छ। बुधबार दोहोरो झडप भए पनि बीएड, आइसीपीको परीक्षा भने सूचारु भएको क्याम्पस प्रशासनले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.