नगरपालिकाको केन्द्र सार्ने निर्णयको विरोध
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले केन्द्र सार्ने भन्दै गरेको निर्णयको गोकुलेश्वर बजारका स्थानीय र व्यापारीले विरोध गरेका छन्। सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको केन्द्र वडा नम्बर ९ गोकुलेश्वरबाट नक्तड परिगाउँमा सार्ने निर्णय गरेको थियो।
नगरपालिकाको केन्द्र बजार क्षेत्रबाट टाढा र अपायक पर्ने भन्दै नसार्न आन्दोलन गरिएको गोकुलेश्वरका व्यापारी भुवन भण्डारीले बताए। नगरकार्यपालिकाको निर्णयको विरोधमा गोकुलेश्वरको बजार बन्द गरिएको छ। गोकुलेश्वर बजारका व्यापारी तथा स्थानीयले नाराबाजी गर्दै नगरपालिका कार्यालय घेराउसमेत गरेका छन्।
यातायात चल्न दिएका छैनन् भने शैक्षिक संस्थासमेत बन्द छन्। शैल्यशिखर नगरपालिकाले सहरी आवास तथा भवन डिभिजन कार्यालयको ३० करोड आर्थिक सहयोगमा नगरपालिकाको नयाँ भवन निर्माण गर्न लागेको छ। तर, जमिन अभावमा उक्त रकम नपाइने सम्भावना बढेको नगरपालिकाले जनाएको छ।
भवनका लागि १० रोपनी जमिन आवश्यक रहेकामा बजार क्षेत्रमा जमिन नपाउँदा केन्द्र नक्तड सार्नुपरेको शैल्यशिखर नगरपालिकाका प्रवक्ता माधवराज भट्टले बताए। नगरपालिका भवन चौलानी नदी कटानको जोखिममा रहेका कारण नयाँ ठाउँमा भवन निर्माण गर्ने निर्णय गरिएको उनको भनाइ छ।
भवनका लागि १० रोपनी जग्गा खोजी गर्न ६ महिनाअघि सूचना सार्वजनिक गरिएको थियो। तर, गोकुलेश्वरका स्थानीयले जमिन दिन नचाहेका कारण बजार क्षेत्रबाट २ किलोमिटर दूरीमा रहेको नक्तड सार्ने निर्णय भएको भट्टले बताए। सार्वजनिक सूचनामार्फत पहिलो प्राथमिकतामा गोकुलेश्वर, दोस्रोमा गाजरी, नक्तड र बगर क्षेत्र भनी आह्वान गरिएपछि नक्तडका स्थानीयले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए। तर, स्थानीय र व्यापारीले निर्णय नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। बजार व्यवस्थापन समितिको अगुवाइमा बुधबारसमेत बजार बन्द गरिएको छ।