‘निकट छौँ, रिलेसनमा छैनौँ’

‘निकट छौँ, रिलेसनमा छैनौँ’

गत वर्ष रिलिज फिल्म ‘लिली बिली’मा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ अनस्क्रिन जोडीका रूपमा देखिएका थिए। उनीहरूको जोडीलाई दर्शकले रुचाए। फिल्म ‘लभ स्टेसन’ मा उनीहरू एक पटक फेरि जोडी बनेर आउँदै छन्। ‘लभ स्टेसन’ जसिताको दोस्रो फिल्म हो भने प्रदीपले यसअघि ‘प्रेम गीत’, प्रेम गीत–२’, ‘रोज’लगायत फिल्ममा अभिनय गरिसकेका छन्। उनीहरूसँग ‘सम्पूर्ण’का लागि सामीप्यराज तिमल्सेना र सृजना खड्काले खुलस्त संवाद गरेका छन्। 


यहाँहरूको पहिलो भेट कहाँ भएको थियो?

प्रदीपः ‘लिली बिली’को प्रेस मिटभन्दा दुई दिनअघि भएको थियो। मिलन चाम्सको अफिसमा। 
जसिताः उहाँ त्यहाँ हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। उहाँलाई देखेपछि म छक्क परेकी थिएँ। 
भेट्नुअघि प्रदीपजीलाई जसिताजी र जसिताजीलाई प्रदीपजी कस्तो हुनुहुन्छ होला जस्तो लागेको थियो? 
प्रदीपः मैले पहिला नै उनको फोटो हेरिसकेको थिएँ। फोटो हेर्दा मान्छे त मेरै उमेरको रैछ तर घमण्डी होला, बोल्नै गाह्रो होला जस्तो लागेको थियो। सानैदेखि विदेशमा बसेकाले इंग्लिस मात्रै बोल्ने होला भन्ने पनि लागेको थियो। तर, भेट्नेबित्तिकै ‘नमस्कार’ भनेको देख्दा दंग परेँ। एकछिन कुरा गरेपछि ‘ए केटी त नेपाली पनि बोल्दो रैछ’ भन्ने लाग्यो। 
जसिताः मैले उहाँको फिल्म ‘प्रेम गीत–२’ हेरेकी थिएँ। उहाँबारे जान्न उहाँका अन्तर्वार्ता पनि हेरेकी थिएँ। त्यतिबेला केटा स्मार्ट नै रैछ भन्ने लागेको थियो। भेट्दा सोचेजस्तै पाएँ। उहाँको व्यक्तित्व र व्यवहारबाट प्रभावित भएँ। पहिलो भेटमा नै उहाँ मसँग राम्ररी बोल्नुभएको थियो।

कहिलेदेखि एकअर्कासँग खुल्न थाल्नुभयो?

प्रदीपः ‘लिली बिली’को सुटिङताका खुलेका हौँ। विदेशको चिसो ठाउँमा काम गर्न एकदमै गाह्रो भएको थियो। नेपालमा सुटिङ हुँदा टिम ठूलो हुन्छ, ख्याल गर्ने मान्छे धेरै हुन्छन्। विदेशमा त्यस्तो हुँदैन। आफ्नो ख्याल आफैँले गर्नुपथ्र्यो। त्यो बेलामा हामीले एकअर्कालाई सपोर्ट गर्‍र्यौं। घरबाट टाढा भएकाले खानेकुराको टेस्ट मिल्दैनथ्यो। उनले मलाई बाहिर खान लैजान्थिन्। त्यही बेला एकअर्कासँग घुलमिल हुने माहौल बन्यो। 
जसिताः  त्यही ‘लिली बिली’को सुटिङका बेला घुलमिल भएका हौँ। 

त्यो मिल्ती अलि धेरै गाढा भएको हल्ला छ नि?  

प्रदीपः हामी एकअर्कासँग मिलेको देखेर यस्ता हल्ला फैलिनु सामान्य हो। तर, हामी रिलेसनसिपमा छैनौँ। जसिता एकदमै फ्य्रांक छिन्। उनीसँग कुरा गर्दा केटा साथीसँग कुरा गरेको जस्तो लाग्छ। उनको बानी बेहोरा पनि जंकी टाइपको छ। उनी लजाएर बस्ने खालकी छैनन्। उस्तै परे एक दुई पन्च दिइहाल्ने टाइपकी छिन्। उनको व्यवहार नै यस्तो छ कि सजिलै नजिक भइन्छ। 
जसिताः त्यो बजारको हल्ला मात्र हो। हामी केवल साथी हौँ। 

रिलेसनसिपमा बस्ने सम्भावना कत्तिको छ?

प्रदीपः कुनै सम्भावना छैन। सम्बन्धमा बसेपछि एकदुई वर्षका लागि मात्र सोचेर हुँदैन। यो उमेरमा आएर कसैको भावनासँग खेल्ने कुरा पनि भएन। हामीले आफ्नोबारे मात्र सोचेर हुँदैन। परिवारबारे पनि सोच्नुपर्छ। आफ्नो इच्छालाई मात्र ध्यान दिएर हुँदैन। आमाबुबाको इच्छालाई पनि ध्यान दिनुपर्छ। 
जसिताः रिलेसनसिपमा बस्न धेरै कुरा सोचविचार गर्नुपर्छ। वर्तमान मात्र सोचेर हुँदैन, भविष्य पनि सोच्नुपर्छ। त्यसैले सम्भावना एकदमै कम छ।
‘प्रदीप र जसिता रिलेसनमा छन्’ भन्ने समाचार आएपछि परिवारको प्रतिक्रिया कस्तो थियो?
प्रदीपः एसएलसीदेखि प्लस टू पढ्ने बेलासम्म रिलेसनसिपका कुराले धेरै फन्डा हुन्थे। काम गर्न थालेपछि त्यस्तो खालको रिलेसनसिपमा म छैन। अहिले मेरो पूरा ध्यान काममा छ भन्ने घरमा सबैलाई थाहा छ। त्यसैले यस्तो विषयमा घरमा खासै कुरा हुँदैन। जसिता र म निकट छौँ तर रिलेसनमा छैनौँ। 
जसिताः हो, हामी निकट छौँ तर प्रेम सम्बन्धमा छैनौँ। मेरो घरमा पनि त्यो समाचारलाई गम्भीर रूपमा लिनुभएन। फिल्म लाइनमा यस्तो हुन्छ भन्ने उहाँहरूलाई थाहा छ। हाम्रो मात्र होइन, धेरैका यस्ता समाचार आइरहन्छन्। हामी साथी मात्रै हौँ भन्ने उहाँहरूलाई थाहा छ। घरमा मलाई सबैले विश्वास गर्नुहुन्छ। त्यसैले मैले उहाँहरूलाई केही भन्नै पर्दैन। 


मेरो कोईसँग लफडा छैन : प्रदीप खड्का

तपाईंका लभस्टोरी फिल्म लगातार आइरहेका छन्। ‘लभ स्टेसन’ त्यसैको निरन्तरता हो?

‘प्रेम गीत’, ‘लिली बिली’, ‘रोज’मा मेरो भूमिका फन लभिङ, प्रेमिकाका लागि कुुट्ने, कुटाइ खाने खालको थियो। तर, यो फिल्म प्रेमी–प्रेमिकामा मात्र केन्द्रित छैन। हिरो सानो बच्चाको फोटो लिएर उसको खोजीमा छ। फिल्मको ब्याकबोन त्यही फोटो र त्यसको क्यारेक्टर हो। यो फेमिली ड्रामा हो। यसमा एक्सन, कमेडी, रोमान्स सबै छ। अहिले ‘फिल्म समीक्षकका लागि होइन, दर्शकका लागि हो’ भन्ने जस्ता अभिव्यक्तिहरू आइरहेका छन्। यो फिल्ममा समीक्षकले चाहेको टेस्ट नहोला। तर, दर्शकले रुचाउने खालको टेस्ट अवश्य छ। 

अनि, समीक्षक चाहिँ दर्शक होइन र? 

मैले त्यसो भन्न खोजेको होइन। आजभोलि यस्तो पनि भनिन्छ भन्न मात्र खोजेको हुँ। मलाई के लाग्छ भने फिल्म भनेको इमोसन हो। फिल्ममा विगतदेखि वर्तमानसम्म परिवर्तन नभएको भनेको इमोसन हो। पहिलाको फिल्ममा पनि नौ वटै रस हुन्थे। अहिले पनि हुने त्यही हो। फिल्ममा प्राविधिक परिवर्तन आयो होला। स्टोरी, न्यारेसनको पाटोमा परिवर्तन भयो होला। प्रस्तुतीकरणमा भिन्नता आयो होला। तर, इमोसनमा कुनै परिवर्तन आएको छैन, आउँदैन पनि। समीक्षकले मन पराउने फिल्ममा हुने इमोसन पनि त्यही हो। कमर्सियल फिल्ममा हुने इमोसन पनि त्यही हो। कमर्सियल फिल्ममा रोनाधोना बढी होला। हिरोले एक मुक्का हान्दा १० जना गुन्डा उड्ने खालको फिल्म होला। समीक्षकले फिल्मले प्रभाव पनि पारोस्, दृश्य पनि बोलोस्, सन्देश पनि बोकोस् भन्ने खोज्नुहुन्छ। ‘लभ स्टेसन’ त्यो खालको फिल्म होइन भन्न खोजेको हुँ। 

प्रदीपजीले समीक्षादेखि हार खानुभए जस्तो छ नि?

अहिले त म फिल्म गर्न पाएकैमा आफूलाई भाग्यमानी ठान्छु। ‘टीभीभित्र कसरी छिर्ने?’ भनेर सोध्दा त्यसको जबाफ दिने कोही थिएन। म त्यस्तो पृष्ठभूमिमा हुर्किएँ। अहिले फिल्म खेल्न पाएको खुशी नै मैले पूर्ण रूपमा लिन पाएको छैन। मेरो फिल्म समीक्षकलाई÷दर्शकलाई भनेर सोच्दै सोच्दिनँ। मेरो फिल्म हेरेर मान्छे खुशी होऊन्, म हाँस्दा हाँसून्, रुँदा रोऊन् भन्नेमा मात्र मेरो सोच सीमित छ। जे गर्छु, मनैदेखि गर्छु। मैले सकेको र जानेको गर्छु। अहिलेसम्म मैले जे गरिरहेको छु, जानेर गरेको होइन। मेरो जीवनमा जे भइरहेको छ, आफैँ भइरहेको छ। म भगवान् भरोसामा हिँडिरहेको छु। 

तर, बजारमा त ‘प्रदीपलाई सब कुरा थाहा छ, त्यसैले ज्यादा राजनीति गर्छ’ भन्छन्। 

हो, मलाई यो आरोप छ। तर, किन छ मैले बुझ्न सकेको छैन। यो पनि एक प्रकारको माया नै होला। म मनमा जे छ, त्यही कुरा स्पष्ट राख्छु। आफू स्पष्ट हुने बेला कोसँग कसरी प्रस्तुत हुने, कस्तो व्यवहार गर्ने भनेर सोच्दिनँ। यही कारण मैले बोलेका कुरा विवादमा पर्छन्। कहिलेकाहीँ मजाकमा भनेका कुरालाई गम्भीर बनाएर अर्थको अनर्थ लगाएर समाचार आउँछ। 

तर, सबैले देखेकै हो, जोसँग काम गर्‍यो, उसैसँग पानी बाराबार छ।  

त्यस्तो कसैसँग पनि छैन। मेरो कोईसँग लफडा छैन। जो–जोसँग झगडा पर्‍यो भनेर भनिएको छ, उहाँहरू सबैसँग मेरो राम्रो सम्बन्ध छ। भेटेपिच्छे फोटो खिचेर अपलोड गर्नुपर्ने हो वा म्यासेजको स्क्रिनसट गरेर पठाउनुपर्ने हो, त्यो मलाई थाहा छैन। नत्र, नराम्रो कसैसँग छैन। ‘यसको इमेज खराब गर्छु’ भनेर कोही पछि लागेका छन् भने म जान्दिनँ। बिनाउद्देश्य मानिसहरूसँग सम्पर्कमा बस्दिनँ। यसको मतलब म स्वार्थी भएको होइन। बिनाकाम कसैसँग ‘किप  इन टच’ हुनु जरुरी ठान्दिनँ। यो मेरो समस्या हो।

यसलाई म मान्छु। तर, सम्पर्क भएन भन्दैमा सम्बन्ध बिग्रिएको भन्न मिल्दैन। सुदर्शन दाइ (सुदर्शन थापा) को फिल्मबाट अफर आइरहेको छ। मिलन सरसँग केही समय अगाडि मात्रै भेट भएको थियो। रामशरण पाठक सरसँग त झन् केही भएकै छैन। ‘सय कडा १०’ मा मलाई अफर गर्नुभएको थियो। ‘लिली बिली’को सुुटिङका कारण सहकार्य गर्न सकिएन। अरू को छ झगडा परेको भनेको...। उज्ज्वल घिमिरे सरसँग भर्खरै छुटेर आएको। भर्खरै नयाँ फिल्मको कन्सेप्ट सेयर गरिरहनुभएको थियो। अब भन्नुस्, कोसँग झगडा पर्‍यो?  

झुटो हो भने कहाँबाट आउँछन् त झगडाका कुरा?

म ‘कि मलाई कन्भिन्स्ड गर, कि म तिमीलाई कन्भिन्स्ड गर्छु’ भन्नेमा विश्वास गर्छु। कुनै विषयमा आफूलाई चित्त बुझेको छैन भने अन्तिमसम्म बहस गरिरहन्छु। यसलाई झगडा भन्न त मिलेन नि ! तर, गलत मानिससँग मेरो सम्बन्ध टिक्दैन। त्यसैले धेरैसँग मेरो व्यावसायिक सम्बन्ध मात्र छ।

अनमोेल केसीको ‘क्याप्टेन’को टे«लर रिलिज हुने दिन तपाईंले युट्युबमा ‘लिली बिली’ हालिदिनुभयो। गीत रिलिज गर्ने बेलामा पनि त्यस्तै भयो।  ‘रामकहानी’ सँग ‘रोज’ जुधाउनुभयो। सबैले तपाईंतिर औँल्याउँछन्। 

जसले यो आरोप लगाउँछ, उसैलाई थाहा होला। हामी एक हप्ता अगाडिबाट गीत हाल्ने योजनामा हुन्छौँ, अर्कोले हाम्रोभन्दा अगाडि हतार–हतार ‘रिलिजिङ टुमरो’ भनेर गीत हाल्छ। भन्नलाई फेरि हामीले जुधाएको भनिन्छ। यस्ता कुराहरू नियोजित रूपमा आइरहेका छन्। हामीमाथि पटक–पटक आक्रमण भइरहेको छ। रियाक्ट गर्ने कि नगर्ने? यस्ता कुरामा बोल्ने कि नबोल्ने? भन्ने कुरामा म बडो संकटमा छु। अस्ति राजेश हमाल दाइले भेटमा केही सल्लाह दिनुभएको छ। सही लागेको छ। 

के भन्नुभयो उहाँले? 

मैले केही बोल्नेबित्तिकै विवाद भइहाल्छ। के बोल्दा त्यसको नतिजा कस्तो आउँछ भनेर सल्लाह दिने मानिस थिएन। अस्ति राजेश दाइसँग भेट भयो। कुरैकुरामा मैले सोधेँ, ‘तपाईँ अहिलेसम्म त्यति धेरै विवादमा आउनुभएको छैन। म त जे गरे पनि विवादमा पर्छु। के गर्ने? स्ट्याटस लेख्ने हो कि नलेख्ने?’ मेरो कुरा सुनेपछि उहाँले भन्नुभयो, ‘समाचार त मेरो पनि धेरै आयो। तर, तिम्रो त्यो समाचार पब्लिकले पत्याएको छ कि छैन? विचार गर। पब्लिकले पत्यायो तिम्रो इमेज बिग्रिन थाल्यो भने रियाक्ट गर। पब्लिकले पत्याएको छैन भने रियाक्ट गर्नु जरुरी छैन। त्यस्ता समाचार आउँछन्, जान्छन्।’ उहाँको कुराले बल्ल शान्ति मिलेको छ। त्यसैले आजभोलि चुपचाप छु।   


म कठपुतली हो र नचाउनलाई? : जसिता गुरुङ

फिल्मसम्बन्धी ज्ञान प्रदीपजीले कत्तिको बाँड्नुहुन्छ  ?

धेरै बाँड्नुहुन्छ। उहाँको कुराले मलाई प्रेरणा दिन्छ। अरूसँग गफ गरिरहेको बेलामा पनि उहाँको कुरा सुनिरहेको हुन्छु। तर, उहाँको ध्यान गफ गर्नभन्दा काममा धेरै हुन्छ। ‘भोलि यो गर्नुपर्छ’, ‘यहाँ जानुपर्छ’ भनेर प्लानिङमा बढी व्यस्त हुनुहुन्छ। मलाई आवश्यक परेको बेला उहाँले सल्लाह दिनुहुन्छ। हामी कलाकारको सधैँ राम्रै दिन मात्र हुँदैन। कहिलेकाहीँ नराम्रा कुराहरू पनि बाहिर आउँछन्। यस्तो बेला म उहाँलाई सेयर गर्छु। यस्ता कुरालाई गम्भीर रूपमा नलिन सल्लाह दिनुहुन्छ। 

सल्लाह मात्र होइन, ‘प्रदीपले जसितालाई औँलामा नचाइरहेको छ’ भन्ने बजारभरि चर्चा छ नि। 

म कठपुतली हो र नचाउनलाई? मैले हरेक पटक भन्दै आइरहेकी छु। फिल्म क्षेत्रमा म जसलाई विश्वास गर्छु, उहाँहरूबाट सल्लाह लिन्छु। तर, निर्णय आफँै गर्छु। मैले उहाँसँग डेब्यू गरेको हुनाले आगामी दिनमा पनि राम्रो गरोस् भन्ने उहाँ चाहनुहुन्छ। तर, यसको मतलब उहाँले मलाई कब्जामा लिएको होइन।

‘छक्का पञ्जा ३ नगर्नू’ भनेर प्रदीपजीले नै सुझाएको रे नि त? 

मैले यो विषयमा थुप्रै समाचार पढेकी थिएँ। तर, मलाई आएर अहिलेसम्म कसैले सोधेको थिएन। तपाईंहरूले नै होला पहिलो चोटि सोधेको। आज म स्पष्ट पार्छु। मलाई अफर आएको थियो। म गर्थें पनि होला तर उहाँहरू यति चाँडो फ्लोरमा जान खोज्नुभएको रहेछ कि मैले सहज महसुस गरिनँ। यति छोटो समयमा त म काम गर्न सक्दिनँ भनेर उहाँहरूलाई भनेको थिएँ। तर, समाचारमा सब उल्टोपुल्टो आयो।

यस्ता कुरा आउँदा फिल्म इन्ड्रस्टी छोडेर भागाँै–भागौँ लाग्दैन? 

नढाँटी भन्नुपर्दा कहिलेकाहीँ लाग्छ। तर, आफूले गरेको कामबाट राम्रो प्रतिक्रिया आउँदा ती सबै कुरा बिर्सिन्छु। म सधैँ सकारात्मक हुने कोसिस गर्छु। मलाई यो क्षेत्रमा थामेर राख्ने भनेको मेरो परिवार, शुभचिन्तक र मेरा प्रशंसक हुन्। 

नेपाली फिल्म इन्डस्ट्री कस्तो लाग्दै छ? 

सुरुमा केही थाहा थिएन। बिस्तारै धेरै कुरा बुझेँ। अहिले पनि बुझ्दै छु। फिल्म क्षेत्रबारे पहिलाको भन्दा धेरै सचेत भइसकेँ। कुन अवस्थालाई कसरी सामना गर्ने भनेर सिक्दै छु। सबै जनाको राम्रो सपोर्ट छ। बेला–बेला चित्त पनि दुख्छ। यति धेरै मेहनत गरेर काम गरिरहेका हुन्छौँ, समाचार भने कामको भन्दा सधैँ निजी जीवनका बारेमा आइदिन्छ। प्रोफेसनल जीवनलाई पनि पर्सनल बनाएर समाचार आउँछ। ‘आई एम ट्वान्टी वान’ फिल्मको कुरा गर्छु। त्यो मेरो प्रोफेसनल कुुरा हो। त्यसलाई पर्सनल बनाएर धीरज मगरलाई मेरो एक्स बनाइयो। ‘जसिता एक्ससँग काम गर्दै’ भनेर समाचार आयो। म त समाचारको न भाषा बुझ्छु, न अर्थ बुझ्छु।

धीरजजीसँगको ‘अफेयर’को गाँठी कुरा के हो त? 

त्यो हुुँदै नभएको कुरा हो। समाचार आएपछि म आफैँ छक्क परेकी थिएँ। हामी एकैठाउँमा बसेकाले यस्ता कुरा आए। तर, म उहाँसँग बोलेको पनि थिइनँ। ‘इन्टु मिन्टु लन्डनमा’ को प्रिमियरमा हाई–हेलो मात्र भएको थियो। ‘प्रसाद’को प्रिमियरमा अलिअलि बोलेका थियौँ। उहाँसँग मेरो अहिलेसम्म जम्मा तीन चोटि मात्र भेट भएको छ। 

अनि फिल्म नि?

यो फिल्मको विषयमा धेरै चोटि कुरा भएसकेको छ। स्क्रिप्ट पूरा भइसकेको छैन। उहाँहरू स्क्रिप्टमा काम गरिरहनुभएको छ। स्क्रिप्ट तयार भएपछि मलाई मन पर्‍यो भने अवश्य गर्छु। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.