एसईई परीक्षा : सप्तरीमा पनि विद्यार्थी आन्दोलित
राजविराज : सप्तरीमा जारी एसईई परीक्षाअन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन्। भविष्यसँग खेलबाड भएको भन्दै परीक्षार्थीले राजविराजमा विरोध प्रदर्शन गरी जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी लगाएका छन्।
परीक्षा अघि प्रश्नपत्र बाहिरिएपछि बिहीबारको विज्ञान विषयको परीक्षा रद्द भएको थियो। शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बिहीबार राति नै सामाजिक सञ्जालमा आएपछि आजको परीक्षा स्थगित भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीका प्रमुख शंकरराज लुइटेलले जानकारी दिए।
परीक्षा दिन गएका विद्यार्थीहरु निराश हुँदै फर्किएका छन्। विज्ञान विषयको परीक्षा रद्द हुनुका साथै शुक्रबारको परीक्षा समेत स्थगित भएपछि आक्रोशित परीक्षार्थीले नाराबाजी गर्दै जुलुससहित राजविराज नगर परिक्रमा गरेका छन्। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिँदै कोणसभा गरेका छन्।
कोणसभामा विद्यार्थी नेताहरुले जिल्ला शिक्षा समन्वय समिति, प्रहरी र प्रमुख जिल्ला अधिकारी र शिक्षाका माफियाले आर्थिक चलखेलका आधारमा प्रश्नपत्र बिक्री गरेको आरोप लगाएका छन्।
सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालले सुरक्षित साथ राखिएको प्रश्नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको दावी गरेका छन्। सम्पूर्ण प्रश्न पत्र आफूहरुकहाँ शिलबन्दीका साथ रहेको र परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रमा पुर्याइने गरिएकोले यो अन्यत्रबाटै बाहिरिएकाले अनुसन्धान भइरहेको उनले बताए।
उनले पनि प्रश्नपत्रहरु राखेको ठाउँहरु चेकजाँच गर्दा शिलबन्दी साथ सुरक्षित राखिएको र अघिल्लो राति नै सामाजिक सञ्जालमा हुबहु प्रश्वपत्र देखिएकोले सप्तरीबाट नभई अन्यत्रबाटै प्रश्नपत्र बाहिरिएको हुनसक्ने बताए।
विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगाबै प्रश्न पत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको छ भने शुक्रबारको परीक्षा सुरु हुनु अगावै राष्ट्रिय परीक्षा बोर्डको निर्देशनमा परीक्षा स्थगित भएको छ।
परीक्षार्थी भने आगामी दिनको परीक्षा पनि स्थगित हुने वा सूचारु हुने दोधारमा परेका छन्। परीक्षार्थीका अभिभावक राजविराज ७ का दिपक चौधरीले ७० हजार पाँच सयभन्दा बढी विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने जो सुकै भएपनि कडा कारवाही गर्नुपर्ने माग गरे।
एसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहे पनि समितिलाई चुनौति दिँदै प्रश्नपत्र बाहिरिने क्रमले निरन्तरता पाएपछि प्रहरी, प्रशासन पनि अन्यौलमा परेको छ। मोबाइल र सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिर ल्याउने कार्यमा सलंग्न भएको आरोपमा प्रहरीले विभन्न विद्यालयका शिक्षकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
एसएलपी मावि पत्थगाढाका केन्द्राध्यक्ष देबुकुमार यादवले पनि शिलबन्दी रहेको प्रश्नपत्रका पोकाहरु परीक्षा सुरु हुनुभन्दा ठीक १५ मिनेट अगाडि मात्र खोलिने गरिएको तर एक दिन अगावै प्रश्नपत्र बाहिरिएकोमा आश्चर्य प्रकट गरे। उनी भन्छन्, 'इन्टरनेट, इमेल, इमो आदीमार्फत अन्यत्र जिल्लाबाट नै बाहिरिएको प्रश्नपत्र सप्तरी पनि आइपुगेको हो।'
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेको छ। विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्नपत्र बिहीबार नै फेला परेको छ।
परीक्षाको ठिक एक दिन अगाडि प्रश्नपत्र बाहिरिने कार्यमा शिक्षा क्षेत्रका माफियाको मिलोमतो रहेको परीक्षार्थीको दावी छ। जिल्ला शिक्षा विकास तथा समन्वय समिति, प्रहरी देखि शिक्षा क्षेत्रका माफियाहरु क-कस्को संलग्नता र मिलोमतोमा प्रश्नपत्र बाहिरिएको बारे गम्भिरतापूर्वक अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने अभिभावकको माग छ।परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावक मानसिक तनावमा परेका छन्।