यज्ञमा श्रम चल्यो, पूजा चलेन

यज्ञमा श्रम चल्यो, पूजा चलेन

वीरगन्ज : बाराको परवानीपुर गाउँपालिका–१ बुनियादमा आयोजित श्री विष्णु महायज्ञमा दलितलाई पूजापाठ गर्न रोक लगाइएको छ। पहिलो दिन बुधबार दलितमा पर्ने चमार र दुसाद समुदायका व्यक्तिलाई गैरदलितले मूल पूजामा बस्न दिएनन्।

गाउँमा चमारका १० र दुसादका २५ घर छन्। कलशयात्रामा सहभागी भई मण्डपमा पुगेपछि मूल पूजामा बसेका गैरदलितले पण्डितबाट टीका लगाउन र पूजामा बस्न रोक लगाएको स्थानीय राजेश चमारले बताए।

मूल पूजामा राजेश र गैरदलित १० जना बस्ने तय थियो। ‘मूल पूजामा सहभागी हुन चोखो कपडा लगाएर मण्डपमा पुगें’, उनले भने, ‘पण्डितले टीका लगाउन बोलाए तर मूल पूजामा बसेका गैरदलितले बस्न दिएनन्। उनीहरूले चमारहरू पूजामा बस्छन् भने हामी बस्दैनौं भने।’

गैरदलित रामायण महतो, कपिलदेव साह, मुखी महतो मण्डल र चन्द्रिका ठाकुरले बस्न नदिएको उनले सुनाए। दलितले प्रतिवाद गर्न खोज्दा वडाध्यक्षसमेत रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष मि श्री महतोको दबाबमा पछि हटेको उनले बताए। ‘वडाध्यक्ष महतोले विवाद नगर, यज्ञ भाँडिन्छ, बरु तिमीहरू घरमै बसेर पूजापाठ गर भनेर हामीलाई दबाब दिए’, उनले भने, ‘वडाध्यक्षले नै त्यस्तो दबाब दिएपछि हामी निरीह भयौं।’

अर्का स्थानीय राजेन्द्रराम चमारका अनुसार महायज्ञका लागि गाउँका सबै दलितले १÷१ हजार रुपैयाँ चन्दा दिएका छन्। मण्डप बनाउने, सरसफाइ गर्ने, महायज्ञस्थल सिँगार्नेलगायत तयारीमा पनि दलित सहभागी भएका थिए। ‘मैले पनि १ हजार चन्दा दिएको छु’, राजेशले भने, ‘मण्डप बनाउँदा र चन्दा दिँदा छोइछिटो भएन तर पूजामा बस्दा दलितसँग छोइन्छ, यो कस्तो न्याय हो ?       ’

महायज्ञ तयारीमा सहभागी गराए पनि पूजापाठमा भने तल्लो जातका भनेर रोक लगाएको राजेन्द्ररामको गुनासो छ। ‘चमारसँग चन्दा लिँदा छुवाछूत भएन, मण्डप बनाउँदा पनि हामीलाइ निच जाति भनिएन’, उनले भने, ‘तर, पूजा गर्दा भने छुवाछूत हुँदो रहेछ उनीहरूलाई।’

वडाध्यक्ष महतोले मूल पूजामा बसेका केही व्यक्तिले चमारलाई रोक लगाएको स्वीकार गरे। ‘गाउँमा सबै व्यक्ति एकै किसिमका हुँदैनन्’, उनले भने, ‘दलितलाई पूजामा रोकेर गल्ती भएको छ। तर, यही विवादले यज्ञ भाँडिने भएकाले मैले दलितलाई सम्झाइबुझाइ गरें। यसपछि हुने यज्ञमा दलितलाई जसरी पनि सहभागी गराइन्छ।’

बिहीबार पञ्चायती (सर्वपक्षीय छलफल) भए पनि न्याय नदिएको राजेशले बताए। ‘पञ्चायतीमा वडाध्यक्षसहित गाउँका अगुवाहरू थिए’, उनले भने, ‘तर, उनीहरूले यसपालि भइगयो, विवाद नगर भने। यसपछि महायज्ञ भयो भने पूजामा सरिक गराइन्छ भनेपछि हामी केही बोलेनौं।’

गाउँपालिका अध्यक्ष हरिनारायण साहले भने महायज्ञको पूजामा दलितलाई रोक लगाएको हल्ला आफूले पनि सुनेको बताए। ‘मैले पनि यो कुरा सुनेको छु’, उनले भने, ‘हामी छलफलका माध्यमबाट यो समस्या छिट्टै समाधान गर्छौं।’

दलितलाई पूजामा रोक लगाएको कुरा असह्य रहेको मानवअधिकार संगठन बाराका सचिव राजनारायण रामले बताए। ‘महायज्ञ आयोजना गरिएको बुनियाद सांसद एकबाल मियाँको गाउँ हो’, उनले भने, ‘सांसदकै गाउँमा यस्तो घटना हुनु लज्जास्पद छ’, उनले भने। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बुधबार नौदिने महायज्ञ उद्घाटन गरेका थिए। जातीय विभेदलाई कानुनले दण्डनीय मानेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.