प्रदेश-२ मा एसईई प्रकरण : वीरगन्जमा तोडफोड र आगजनी, बजार बन्द

प्रदेश-२ मा एसईई प्रकरण : वीरगन्जमा तोडफोड र आगजनी, बजार बन्द

वीरगन्ज : राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश-२ मा शुक्रबारको एसईई परीक्षा रद्द गरेपपछि आक्रोशित परीक्षार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण वीरगन्ज शुक्रबार तनावग्रस्त बनेको छ।

प्रदर्शनमा उत्रिएका एसईईका विधार्थीले वीरगन्जमा शुक्रबार बिहानैदेखि प्रदर्शन गर्दै सार्वजनिक र निजी सम्पतिमा तोडफोड गर्नुका साथै आगजनी पनि गरेका छन्। शुक्रबारको समाजिक विषयको परीक्षा स्थगीत भएको खबर सार्वजनिक भएलगत्तै बिहान सात बजे नै घण्टाघर चोकमा सयौंको संख्यामा जम्मा भएका परीक्षार्थीले सडकमा टायर बालेर नाराबाजी गरेका थिए।

त्यस क्रममा घण्टाघर चोकमा रहेको ट्राफिक डिभाइडर, फलामको बेरियर र साइन बोर्ड उखेलेर आगजनी गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारी विधार्थीले प्रहरीमाथि नै ढुङा प्रहार गरेका थिए।

स्थिति तनावपूर्ण भएपछि प्रहरीले विधार्थीमाथि लाठी चार्ज गरेको थियो।लाठी चार्ज भएपछि थप आक्रोसित भएका विधार्थीले प्रहरीलाई निशाना बनाउँदै ढुङगा हान्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस प्रहार पनि गरेको थियो । 

त्यसले पनि स्थिति नियन्त्रणमा नआएपछि वीरगन्ज महानगरपालिकाबाट दमकल मगाएर प्रहरीले विधार्थीमाथि पानीको फोहोरा हानेको थियो। पानीको फोहोरा हान्न थालिएपछि थप आक्रोशमा आएका विधार्थीले दमकलमाथि लगातार ढुङगामुढा गरेपछि दमकल भागेको थियो। विधार्थीको ढुङगा प्रहारबाट दमकलको शीशा पनि फुटेको छ।

त्यसपछि प्रदर्शनकारी विधार्थीले नगरको विभिन्न क्षेत्रमा पुगेर सडकमा भेटिएका सार्वजनिक बस, स्कुलबस, टाटासुमो, ट्रक लगायतका करिब दुई दर्जन सवारी सधानमा तोडफोड गरेको पर्साका प्रहरी नायव उपरक्षक अनन्तराम शर्माले बताए।

विधार्थीले ना ६ ख ९३४० , ना ५ ख ६५३९ र ना २ ख ७६८१ नम्बरको सार्वजनिक बस,सगरमाथा स्कुलको ना ४ ख ५८४८ र ना २ ख २८४५ नम्बरको बस, विद्यासदन माविको ना १ क ३३१५ नम्बरको बसमा तोडफोड गरेका हुन् । 
प्रदर्शनकारी विधार्थीले घण्टाघर चोकमा रहेको बाबा रामजनम तिवारीको शालिक परिसरमा रहेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको सन्देशमुलक फलामको साइन बोर्ड उखेलेर जलाइ दिएका छन्।

 घण्टाघर चोकमा प्रहरीसँग भएको झडपका क्रममा प्रहरीको लाठी चार्जबाट प्रदर्शनकारी मध्येका सिद्धार्थमाविका छात्र शीवशंकर पटेल र गीता गजेन्द्र मावि सुखचैनाका छात्र श्रीराम राम तथा नेविसंघका नेता मुनराज तिवारी घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार गरिएको छ। 

अनुभूती कलेजमा तोडफोड, कलेजका कर्मचारी र विधार्थीमाथि कुटपिट 

प्रर्दशनकारी विधार्थीको एक समूहले वीरगन्जको मुर्ली बगैंचामा रहेको अनुभूती कलेजमा पनि तोडफोड गरेको छ। घण्टाघरबाट बसपार्कमा पुगेर हिमाल भान्छा घर एण्ड लजमा तोडफोड गरी मुर्ली बगैंचामा पुगेका विधार्थीले अनुभूति कलेजमा तोडफोड गरेका हुन्। 

उनीहरुले कलेजको बाहिर पट्टीको पर्खालको सबै शीशा फुटाउनुका साथै रिसेप्सनभित्र पनि पसेर सीसी, एलइडी टिभी र फर्निचर तोडफोड गरेका हुन्। कलेज परिसरमा रहेका फुलका गमला, केही थान मोटरसाइकल पनि तोडफोड गरेका विधार्थीले रिसेप्सनमा बसेका लेखापाल जायद हुसेन र कलेजको कक्षा ११ मा अध्ययनरत छात्र सन्दिप पटेललाई पनि कुटपिट गर्दै घाइते बनाएका छन्।  

कलेजमा तोडफोड गर्ने मध्येका कन्चनजंगा माविका छात्र नितेश गुप्ता र ओशीश माविका छात्र अर्जुन यादवलाई भने प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

एसईईका विधार्थीको तोडफोडबाट कलेजमा १० लाखभन्दा बढीको भौतिक क्षति भएको कलेजका लेखापाल जायद हुसेनले बताए। यस्तै बिहान ११ बजे तिर हुल बाँधेर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका प्रदर्शनकारी विधार्थीले त्यहाँ पनि एक घण्टा सम्म नाराबाजी र प्रदर्शन गरेका छन्।

एसईईका परीक्षार्थीको प्रदर्शनका कारण वीरगन्ज बजार शुक्रबार बिहानैदेखि बन्द रहेको छ। यसअघि बिहीबार पनि विज्ञान विषयको परीक्षा रद्द भएपछि आक्रोसित विधार्थीले बिहीबार बेलुकी घण्टाघर चोकमा करिब दुई घण्टासम्म प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए। 

कलैयामा पनि विद्यार्थीको प्रदर्शन

एसईई परीक्षाको सामाजिक र विज्ञान विषयको परीक्षा रद्द गरिएको विरोधमा बाराको कलैयामा पनि शुक्रबार विद्यार्थीले प्रदर्शन गरेका छन्।  कलैयाको भरत चोकमा उनीहरूले बिहान साढे सात बजेदेखी साढे नौ बजेसम्म टायर बालेर सडक समेत अवरुद्ध पारेका थिए। परीक्षा रद्द गरेर सरकारले आफूहरुसित अन्याय गरेको भन्दै करिब डेढ दुई सयको संख्यामा रहेका विद्यार्थीले परीक्षा रद्द गर्न पाइदैन, विद्यार्थीको भविष्यसँग खेलवाड गर्न पाइदैनजस्ता नारा पनि लगाएका थिए।

यी पनि पढ्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.