उ बेलाका 'प्रचण्ड'
ललितपुर : ०४७ साल ताकाको कुरा हो, डीडीसी र सीताराम ब्रान्डका दूध भर्खरै आउन थालेका थिए । ललितपुरको बगलामुखीस्थित कुम्भेश्वर मन्दिर परिसरमा त्यति बेला चिया बेच्थिन्— शान्ति खड्गी । चियाको मूल्य प्रतिकप तीन रुपैयाँ थियो । कुनोमा रहेको उनको पसलमा थुपै्र मानिस चिया पिउन आउँथे ।
खड्गीको परिवार बेरोजगार थियो । त्यसैले गहना बेचेर उनले चिया पसल खोलिन् । पसल खालेको केही वर्षपछि पुष्पकमल दाहाल नियमितजसो आउन थाले यहाँ । ‘रङ कडा, चिनी कम भएको दूध हालेकै चिया रुचाउँथे दाहाल’, खड्गी भन्छिन्, ‘दाहालपत्नी सीता पनि आउँथिन् । दुवैलेल दूध चिया रुचाउँथे । उनका छोरा प्रकाश र छोरीहरू भने आक्कलझुक्कल मात्रै देखिन्थे । खासै चिया खाँदैनथे ।’
दाहाल चिया पिउँदै राजनीतिक गफ गर्थे । चासोसाथ पत्रपत्रिका पढ्थे । राजनीतिक परिवर्तनका बहस गर्थे । घोत्लिइरहन्थे । तर उनी एकाएक गायब भए ।
एकाएक हराउने व्यक्ति दाहाल हुन् भन्ने थाहा थिएन, ५६ वर्षीय खड्गीलाई । त्यसैले त उनी चिया खान आउन छाडेकोमा उनलाई खासै वास्ता पनि लागेन । तर जब पत्रपत्रिकामा उनकोे तस्बिर छापियो, त्यसपछि भने उनलाई अचम्म लाग्यो । ‘विभिन्न पत्रपत्रिकामा समाचार छापिन थालेपछि मात्रै चिया खान आउने दाहाल रहेछन् भन्ने थाहा पाएँ’, उनले भनिन्, ‘त्यति बेला अचम्म लाग्याथ्यो ।’
पाटन मंगलबजारस्थित घरमा शान्ति खड्गी । तस्बिर : अन्नपूर्ण
उनको मस्तिष्कमा त्यो बेलाका दाहालको आकृति, वेशभूषा, भावभंगिमा स्पष्ट छ । त्यो बेलाको सम्झना गर्दै भनिन्, ‘त्यति बेला पनि दाहालले अहिलेको जस्तै कपाल मिलाउँथे ।’
दाहाल नरम बोल्थे । भेदभाव गर्दैनथे । लाएको गुन नबिर्सने खालका थिए । प्रत्येक दिन आउँथे । चियासँगै चुरोट तान्थे । सीता मिजासिली थिइन् । राम्रो बोल्थिन् । कहिलेकाहीँ आपत्मा दुईचार सय लिनेदिने पनि गर्थिन् । दुःखसुखका कुरा हुन्थे । खड्गीलाई बहिनी भन्थिन् । खुब माया गर्थिन् । उनीहरूसँगै चिया पसलमा सँगै आउने डा. बाबुराम भट्टराईबाहेक खड्गीले अरूलाई भने चिन्दिनन् ।
जनआन्दोलनअघि हितैषी बनेको दाहाल परिवारलाई भेट्न उनले निकै पहल गरिन् । तर त्यो सौभाग्य नपाएको उनको गुनासो छ । ‘तीनचार पटक भेट्न खोजेँ, उनका मान्छेहरूले समय मिलाइदिएनन्’, खड्गीले भनिन् ।
जनआन्दोलनपछि शान्तिवार्ता भएपछि भने दाहाल परिवार भेट्न पाए खड्गी र उनका श्रीमानने । सामाखुसीमा । त्यति बेला सीता दाहालले भूमिगतकालमा धेरै दुःख पाएको र मुस्किलले ज्यान बचाएर आएको अनुभव सुनाएकी थिइन् । ‘त्यसपछि भेट भएको छैन’, खड्गीले भनिन् । केही वर्षअघि सीता बिरामी पर्दा नर्भिक अस्पतालमा भेट्न पनि गएकी थिइन् । दुर्भाग्य, उनी त्यहाँ पुग्नेबित्तिकै सीताको गाडी हुइँकिएको थियो, घरतिर ।
बगलामुखी मन्दिरमा ०६५ सालको चैतमा आगो लाग्यो । त्यसपछि उनले त्यहाँ चिया बेच्न पाइनन् । ६२ वर्षको उमेरमा श्रीमान् मणिरत्न खड्गीको मृत्यु भयो । ११ महिनासम्म ब्रेन ह्यामरेज भएर थला परे । तीन महिना अस्पतालमा राख्दा लाखौं रुपैयाँ ऋण लाग्यो । उनको छोरा राजीव कुम्भेश्वर मन्दिरको बाहिरपट्टि गाडामा सामान बेच्छन् । एक आना एक पैसामा बनेको घरमा उनको संयुक्त परिवार बस्दै आएको छ । तर भूकम्पले चिराचिरा परिसकेको छ । भनिन्, ‘चाहेर पनि बनाउन सकिनँ । विभिन्न समस्या छन् ।’
राजनीतिबाट पीडित छ, खड्गीको परिवार । कांग्रेसमा लागेकी बूढी सासूले राजनीति गर्ने क्रममा सबै सम्पत्ति सकाइन् । राजनीतिपीडित भएकै कारण सरकारले सर्लाहीमा जग्गा दिएको थियो । तर त्यो जग्गामा पनि मुद्दा पर्यो । यतिबेला त्यही मुद्दाले समस्या पारेको छ । परिवार धान्न छोरालाई जागिर खोजिरहेको उनको भनाइ छ ।