सजिलो र सुविधायुक्त सर्जरी विधि ल्याप्रोस्कोपी

सजिलो र सुविधायुक्त सर्जरी विधि ल्याप्रोस्कोपी

उपचारका लागि अस्पताल आउने बिरामीमध्ये कतिपयको शल्यक्रिया गर्नुपर्ने हुन्छ। शल्यक्रिया गर्नुपर्छ भन्नासाथ कतिपय बिरामी आत्तिन्छन् र हतास हुन्छन्। अपरेसन गर्ने सुनेपछि बिरामीको परिवार पनि मानसिक तनावमा पर्छ। औषधिसेवनभन्दा शल्यक्रिया पीडादायी र जटिल उपचार पद्धति भएकाले पनि बिरामीसहित परिवार तनावमा पर्नु र डराउनु अस्वाभाविक होइन पनि। पुराना प्रविधिबाट गरिने शल्यक्रिया पीडादायी नै थिए र छन्। तर सर्वसाधारणले बुझेजस्तो पुरानो उपचार पद्धति अहिले छैन। दिनहुँ उपचारका नयाँ प्रविधि विकास भइरहेका छन्। जटिल भएको हुनाले पनि शल्यक्रियापछि जीवनलाई कतिले पुनर्जन्म पनि भन्छन्।

पछिल्लो समय भएका नयाँ प्रविधिको विकासले शल्यक्रिया सहज, आरामदायी र सुविधायुक्त भएको छ। यसको पछिल्लो उदाहरण हो, दुरबिन पद्धतिबाट गरिने ल्याप्रोस्कोपिक सर्जरी। पहिले कुनै पनि अपरेसन गर्दा चिर्नु पथ्र्याे। ठूलो घाउ हुन्थ्यो। रगत धेरै बगेर बिरामीलाई रगत नै चढाउनुपर्ने अवस्था पनि आउँथ्यो। घाउ छिटो निको नहुने, जटिलता उत्पन्न हुने गथ्र्यो र अस्पताल बसाइ लामो हुन्थ्यो। घाउ निको भएर पूरै स्वस्थ हुन महिनौं लाग्थ्यो। घाउ निको भए पनि गह्रौं भारी उठाउन वा काम गर्न वा अपरेसनभन्दा अघिजस्तो शारीरिक रूपमा सक्रिय जीवनयापन गर्न बिरामीलाई कठिन थियो। ल्याप्रोस्कोपिक सर्जरीले यस्ता सबै समस्या समाधान गरिदिएको छ।

पेट नचिरी स–साना प्वाल पारेर दुरबिनजडित अत्याधुनिक उपकरणले गरिने शल्यक्रिया नै ल्याप्रोस्कोपिक सर्जरी अर्थात दुरबिन पद्धतिबाट गरिने शल्यक्रिया हो। यस्तो विधिको शल्यक्रिया चिरेर गरिने अपरेसनको तुलनामा धेरै सुविधाजनक र सहज मानिन्छ। नचिरी शल्यक्रिया गरिने भएकाले घाउ पनि सानो हुन्छ। कतिपय अवस्थामा त बिरामी बिहान शल्यक्रिया गरेर साँझमा घर फर्कन सक्छन्।

अपरेसन गर्ने ठाउँमा दुखाइ महसुस हुन नदिन बिरामीलाई एनेस्थेसिया दिइन्छ, त्यसपछि ग्यासले पेट फुलाइन्छ र पेटमा सानो प्वाल पारेर दुरबिनजडित मसिना उपकरण भित्र छिराइन्छ। दुरबिनको सहायताले स्क्रिनमा पेटभित्रको अवस्था सुक्ष्म रूपमा हेर्दै मनिटरिङ गर्दै शल्यक्रिया अर्थात उपचार गरिन्छ। नांगो आँखाभन्दा दुरबिनले ५ गुणा बढी प्रष्ट देखिने हुँदा घाउ या रोग पूरै हटाउन वा निकाल्न सहज हुन्छ। पेटभित्रको वास्तविक अवस्था सुक्ष्म रूपमा देखिने हुँदा बिरामीका अन्य रोग पत्ता लगाउनसमेत सहयोग पुग्छ। भिडियो खिच्न मिल्ने भएकाले अनुसन्धानका लागि उपयोगी हुन्छ।

भिडियो उपचारको प्रमाण पनि हुन्छ। त्यसैले ल्याप्रोस्किोपिक सर्जरी विश्वमा सफल र लोकप्रिय भएको छ। स्त्री रोगसँग सम्बन्धित धेरैजसो शल्यक्रिया दुरबिन पद्धतिबाट गर्न सकिन्छ। खासगरि पाठेघर वा पाठेघरको ट्युमर निकाल्न, डिम्ब नलीमा बच्चा बसे उपचार गर्न, पाठेघरको, डिम्बासयको सिष्ट (मासु) निकाल्न ल्याप्रोस्कोपी सर्जरी सफल विधि हो।

शल्यक्रियाबारे केही भ्रम पनि छन् जस्तै– मासु खान हुँदैन, अदुवा, लसुन खान हुँदैन। यसले घाउ पाक्छ दुख्छ। यी असत्य हुन्। अपरेसन गरेको मानिसले मजाले आफूले चाहेको खानेकुरा खान सक्छन्। मासु जस्तो प्रोटिनयुक्त खानेकुराले घाउ छिटो निको हुन सघाउँछ।

सन्तान नहुने अपरेसन गर्न वा त्यस्तो अपरेसन गरेको भए फेरि सन्तान हुने बनाउन, पाठेघरसम्म जाने नली ठीक छ कि छैन पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी सर्जरी सहज विधि हो। कतिपयलाई पेटमा सानो प्वाल पारेर ठूलो पाठेघर कसरी निस्कन्छ भन्ने लाग्न सकछ। सानो प्वाल पारेर भित्र छिराइएको उपकरणको सहायताले पाठेघरलाई अलग गरेर योनीबाट झिकिन्छ। धेरै ठूलो भए टुक्र्याएर झिकिन्छ।

यसमा दुखाइ थोरै हुन्छ, धेरै दिन अस्पताल बस्न पर्दैन र अपरेसनपछि छिट्टै काममा फर्किन सकिने भएकाले धेरैको रोजाइमा ल्याप्रोस्कोपी सर्जरी पर्छ। पछिल्लो समय नेपालमा समेत विभिन्न रोगका शल्यक्रिया दुरविन पद्धतिबाट गर्ने क्रम बढेको छ। स्त्री रोगसँग सम्बन्धित शल्यक्रिया यही पद्धतिबाट देशका धेरै अस्पतालमा भइरहेका छन्।

अल्ट्रासाउन्डलगायत अन्य परीक्षणबाट पहिचान गर्न नसकिएका रोग पहिचान गर्न यो विधि निकै उपयोगी मानिन्छ। रोग पहिचान र उपचारमा जस्तै– बाँझोपन वा सन्तान नहुने समस्या पहिचान गर्न समेत यसको प्रयोग सफल भएको छ। यसबाट बाँझोपनको कारण थाहा पाउन सहज भएको छ।

बाँझोपनमा उपयोगी दुरबिन पद्धति

प्रसूति सेवाबाहेक स्त्री रोगका सबैजसो शल्यक्रिया दुरबिन पद्धतिबाट गर्न सम्भव छ। विकसित देशमा यसबाट धेरै रोगको शल्यक्रिया गरिए पनि नेपालमा यसलाई व्यापक र सहज पँहुचमा ल्याउन नसक्दा धेरै महिलाले पेट चिरेर गरिने शल्यक्रियाबाट पीडा भोगिरेहका छन्।

सुविधा र सहजताका दृष्टिले अधिकांश बिरामी अहिले ल्याप्रोस्कोपीक सर्जरी नै रोज्छन्। तुलनात्मक रूपमा ल्याप्रोस्कोपिक सर्जरी निकै फाइदाजनक र बिरामीका लागि पनि सहज र सुविधाजनक भएकाले यसलाई व्यापक विस्तार गर्न आवश्यक छ।

(बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन अल्का अस्पतालमा कार्यरत छन्।)  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.