निलम्बनको खतरामा एथलेटिक्स : मारमा खेलाडी

निलम्बनको खतरामा एथलेटिक्स : मारमा खेलाडी

काठमाडौं : एसियन एथलेटिक्स च्याम्पियनसिप नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यो प्रतियोगितामा नेपाली खेलाडी नियमित रूपमा सहभागी हुँदै आएका छन्। यसपटक भने नेपालको सहभागिता अन्योलमा परेको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम पठाउन केवल एक दिन बाँकी रहँदासम्म पनि नेपाल एथलेटिक्स संघले यस विषयमा कुनै ठोस निर्णय गर्न सकेको छैन। अप्रिल २१ देखि २४ सम्म कतारमा हुने एसियन च्याम्पियनसिपका लागि खेलाडीको नाम पठाउन एसियन एथलेटिक्स एसोसिएसन (एएए) ले शनिबारसम्मको समय दिएको छ।

संघका कार्यवाहक महासचिव धनवीर चौधरी भने शुक्ररबारसम्म खेलाडी पठाउने विषयमा छलफलमात्र भइरहेको बताउँछन्। ‘दुईजना खेलाडी पठाउने कुरा भएको छ। यद्यपि, अध्यक्षज्यूसँग छलफल गरेपछि मात्रै अन्तिम निर्णय हुनेछ’, चौधरीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘हामी चाँडै नै यसबारेमा निर्णय गर्नेछौं।’

च्याम्पियनसिप एसियाली क्षेत्रमा आयोजना हुने ठूलो प्रतियोगिता हो। यो प्रतियोगितामा आफूले दिएको निश्चित कोटाभित्रका खेलाडीलाई एएएले खाने र बस्ने सुविधासमेत उपलब्ध गराएको हुन्छ। यसपटक नेपालले प्रतियोगितामा ६ जना खेलाडी पठाउने कोटा पाएको छ।

यद्यपि, नेतृत्वले समयमै ध्यान नपुर्‍याउँदा नेपाली खेलाडीले यो अवसर गुमाउने अवस्था सिर्जना भएको छ। सहभागिताको अवसर पाए पनि नेपाली खेलाडीले प्रतियोगिताका लागि आवश्यक तयारी गर्न पाएका छैनन्। तयारी बिना कस्तो नतिजाको अपेक्षा गर्ने ? नेपाली एथलेटिक्सको नेतृत्व गैरजिम्मेवार बनेका कारण खेलाडीले व्यहोर्नु परेको समस्याको यो पछिल्लो उदाहरण हो।

स्वर्ण विजेताको व्यथा पनि उस्तै

अहिले युवा धावक अजित यादव चर्चामा छन्। उनले यसै महिना हङकङमा भएको तेस्रो एसियन युथ च्याम्पियनसिपको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेर सनसनी मच्चाए। एसियाली स्तरको एथलेटिक्स प्रतियोगितामा नेपालले जितेको यो पहिलो स्वर्ण पदक हो। यो ऐतिहासिक पदक हात पार्ने क्रममा अजितले भारतीय धावक अमित जञ्जिरलाई ६ सेकेन्डले पछि पारेका थिए।

पदक जितेपछि सबैले अजितको प्रशंसा गरे। अजित हङकङबाट फर्कंदा उनलाई लिन संघका पदाधिकारी राति नै विमानस्थल पुगे। यद्यपि, उनलाई प्रतियोगितामा सहभागी गराउन भने संघका पदाधिकारीहरूले नै बेवास्ता गरेका थिए। संघका पूर्वमहासचिव सनील राजवंशीसहित एथलेटिक्स खेल सम्बद्ध केही व्यक्तिहरूको जोडबल कारण मात्र प्रतियोगितामा अजितको सहभागिता निश्चित भएको थियो। उनले पदक जितेर फर्कंदा भने त्यसको जस लिने धेरै देखिए।

निलम्बनको चेतावनी

राष्ट्रिय रेकर्डको ‘अपडेट’ नगरेको र वार्षिक प्रतिवेदन नपढाएको जस्ता कारण देखाउँदै एएए र अन्तर्राष्ट्रिय एथलेटिक्स एसोसिएसन् (आईएएएफ) ले नेपाल एथलेटिक्स संघलाई सन् २०१८ बाटै ब्लाक लिष्ट ‘ब्याड स्ट्यान्डिङ’ मा राखेको थियो। यही कारण आईएएएफबाट वार्षिक रूपमा प्राप्त हुनुपर्ने १५ हजार डलरको आर्थिक सहायतासमेत नेपालले पाएको छैन। संघका पदाधिकारीहरू भने प्रतिवेदन पठाउने तरिकाबारे आफूहरूलाई जानकारी नै नभएको बताउँछन्।

‘यसअघि साथीहरूले पठाइरहनु भएको थियो। सन् २०१८ को प्रतिवेदन भने आईएएएफ र एएएमा पठाउन सकेनौं। प्रतिवेदन कसरी पठाउने भन्नेबारे हामीलाई जानकारी नै भएन’, कार्यवाहक महासचिव चौधरी भन्छन्, ‘यो वर्षको प्रतिवेदन भने अध्यक्षज्यूले पठाउँदै हुनुहुन्छ।’ नेतृत्वको यस्तै कार्यशैलीका कारण पछिल्लो समय दुवै अन्तर्राष्ट्रिय निकायले संघलाई निलम्बनको चेतावनी दिएको छ। एएएको पछिल्लो पत्रअनुसार अप्रिल २० तारिखभित्र निर्वाचन गर्न नसके आईएएएफले नेपाललाई निलम्बन गर्ने चेतावनी दिएको छ।

एकलौटी निर्वाचनको तयारी

अहिलेको कार्यसमितिको चारवर्षे कार्यकाल सन् २०१८ को फेब्रुअरी १२ तारिखमै सकिएको छ। त्यसलगत्तै निर्वाचनमार्फत नयाँ कार्यसमितिको चयन गर्नुपर्ने थियो। तर, विभिन्न बहानामा संघले अहिलेसम्म पनि निर्वाचन गर्न सकेको छैन। संघले निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति नदिएको दाबी गर्दै आएको छ। राखेपले भने संघले आफूभित्रको विवादको कारण चुनावी साधारणसभा गर्न नसकेको जनाएको छ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले पहिलो पटक निर्वाचन साधारणसभाका लागि अनुमति लिन आएको तर, संघभित्र नै विवाद रहेकाले त्यसलाई मिलाएर आउन सुझाव दिएको बताए। उनका अनुसार संघले त्यसपछि दोस्रो पटक निर्वाचन गर्न निवेदन नै दिएको छैन। पछिल्लो समय एएएले अप्रिल २० को समयसीमासहित निलम्बनको चेतावनी दिएपछि संघले चैत २४ गते निर्वाचन गर्ने गरी मिति सार्वजनिक गरेको छ।

अध्यक्षको आफ्नै दाबी

दोस्रो संविधानसभाको सदस्य भएकै बेला राजीवविक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चुनिएका थिए। पहुँच र सबै दृष्टिकोणले उनको आगमनबाट नेपाली एथलेटिक्स निकै उत्साही बनेको थियो। उनको आगमनपछि एथलेटिक्स खेलको विकास हुने धेरैको विश्वास थियो। तर, उनको कार्यकालमा सोचेको जस्तो काम हुन सकेन। अध्यक्ष शाह आफैं पनि समय दिन नसकेको स्विकार्छन्।

उनले संविधान बनाउने जिम्मेवारीका कारण आफूले संघमा समयमा दिन नसकेको प्रतिक्रिया दिएका छन्। ‘म संविधान बनाउने जिम्मेवारीमा थिएँ। त्यसैले संघका लागि पर्याप्त समय दिन सकिन’, एथलेटिक्स संघले गत बुधबार एसियन युथ एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण पदक विजेता अतिजलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, ‘अब समय निकाल्ने छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.