अब मेरो बिहा भयो, पत्रव्यवहार गर्न मिल्दैन

अब मेरो बिहा भयो, पत्रव्यवहार गर्न मिल्दैन

(अन्नपूर्ण पोस्ट्को शनिबारीय परिशिष्टांक फुर्सदमा २०७५ चैत ९ गते ‘हिजो-अस्ति’ स्तम्भमा लोकरञ्जन पराजुलीको लेख ‘९४ की कवि, को हुन् मधुधारा? ’ छापिएको थियो। त्यो लेख पढेर २०१८ सालदेखि छापिइरहेको रचना पत्रिकाका संस्थापक÷सम्पादक तथा लेखक रोचक घिमिरेले लेख छापिएकै दिन शनिबार बिहान फोन गर्नुभयो। नयाँ पुस्ताले इतिहासका यस्ता विषयमा चासो देखाएर लेखे-छापेकामा धन्यवाद दिँदै उहाँले आफूले पहिले लेखेको लेख छाप्ने भए पठाइदिन्छु भन्नुभयो। नछाप्ने त कुरै थिएन, हामी प्रकाशित सामग्रीबारे व्यापक बहस होस्, प्रचुर प्रश्न-टिप्पणी उठोस् भन्ने नै चाहिरहेका छौं। घिमिरेप्रति आभार प्रकट गर्दै ‘गरिमा’ मासिकको २०६८ असार अंकमा ‘कौतुकमयी मधुधारा र उनको काव्यिक रहस्य !’ शीर्षकमा छापिएको लामो लेखको संक्षिप्तीकृत रूप यहाँ प्रस्तुत गर्छाैं। लेखले अनौठो खुलासा गरेको छ।)

प्रेम राजेश्वरी, लोकप्रिया, कृष्ण मञ्जरी, गोमा आदि नारी हस्ताक्षरका कविता ‘गोरखापत्र’, ‘शारदा’मा प्रकाशित भइरहेका थिए। यस्तै समयमा नाम पनि मीठो स्वाद पनि रुचिकर भएका कविता लिएर एउटी कवयित्री देखा परिन् नेपाली साहित्याकाशमा— १९९४ साल जेठ २२ गतेको ‘गोरखापत्र’मा ‘सत्य तरंग’ शीर्षक कविताकी रचयिताका रूपमा ती थिइन्— कुमारी मधुधारा ! उनको नाम र उनको कविता दुवै आकर्षक थिए।

आफ्नो बेग्लै पहिचान र स्वादिलो सिर्जना सीप लिएर देखा परेकी यी कवयित्रीप्रति समकालीन स्रष्टा र साहित्यका पाठकहरूमा निकै चाख उमार्‍यो। लगत्तै १९९४ साल भदौ १९ गतेको ‘गोरखापत्र’मा ‘जटारह’ शीर्षक उनको अर्को कविता प्रकाशित भयो। रामेछापको ठोसे बजारबाट उच्च हिमाली क्षेत्रस्थित जटापोखरी नामक धार्मिक कुण्डमा जाँदाको मार्ग वर्णनमा आधारित त्यस कविताले प्रकृतिवर्णनमा मधुधाराको बलियो क्षमताको सन्देश दियो पाठकहरूलाई।

यसपछि १९९४ असोज २ गतेको ‘गोरखापत्र’मा ‘स्त्री जीवन’, त्यसै साल मार्ग ११ गते ‘माहुरी’, १९९४ कै माघ २२ गते ‘अबोला लेखनी र हामी अवला’ शीर्षक कविता ‘गोरखापत्र’मा नै प्रकाशित भए। यी कविताबाट मधुधाराको लोकप्रियता बढ्न थाल्यो। आफ्ना पत्रिकामा प्रकाशनार्थ कविता पठाउन सम्पादकहरूका चिट्ठी जान थाले सुदूर रामेछापको ठोसेमा। ‘गोरखापत्र’का सम्पादक प्रेमराज शर्माका चिट्ठी बराबर आउँथे मधुधारालाई।

तिनमा उनलाई प्रेरित र प्रोत्साहित गरिएको हुन्थ्यो। प्रेमराजकै प्रोत्साहनले ‘गोरखापत्र’मा मधुधाराका ६ वटा कविता छापिए। ‘गोरखापत्र’मा छापिएको मधुधाराको छैटौं कविताको शीर्षक थियो, ‘हिमाल’, १९९४ फागुन २८ गते छापिएको हो त्यो कविता। १९९५ सालमा मधुधाराका कविता कतै प्रकाशित भएनन्। १९९६ साल आश्विनको ‘शारदा’मा ‘धूम्र उडान’ शीर्षकको कविता लिएर फेरि देखा परिन् मधुधारा।

नेपाली भाषा प्रकाशिनी समितिद्वारा प्रकाशित-कविताहरूको संकलन ‘नेपाली पद्य संग्रह’मा पनि समावेश गरिए मधुधाराका कविता। ‘हिमाल’, ‘अवोला लेखनी र हामी अवला’ अनि ‘धूम्र उडान’ शीर्षकका उनका कविता नेपाली पद्य संग्रह (भाग १) का विसं १९९८ देखिका विभिन्न संस्करणमा छापिएका छन्।

मधुधाराको परिचय दिँदै सम्पादक बदरीनाथ भट्टराईद्वारा यस्तो लेखिएको छ, ‘‘जन्म-करीब १९८३

स्थान-पूर्व २ नं. ठोसे (मेग्जे)

डि.भक्त बहादुर कार्कीकी कान्छी छोरी। कर्णेल भक्तबहादुरकी साली। शास्त्री पं.सोमनाथ घिमिरेबाट प्राथमिक देखि कविता रचनासम्मको शिक्षा। २००३ मा वेददेव अधिकारीका साथमा विवाह। २००६ मा प्रसव वेदनाले मृत्यु।

कुमारी छँदा नै उहाँले कविताहरू लेखी गोरखापत्रमा प्रकाश गराउनुभएको हो। बिहे भएपछि चाहिं उहाँका कविता प्रकाश भएनन्। उहाँको शैली ज्यादै सरल र सरस छ। कच्चै उमेरमा पनि स्त्रीजातिको दुरवस्था देखी ‘अबोला लेखनी र हामी अवला’ मा आफ्नो वेदना देखाउनुभएको छ। कलम र अवलाको सादृश्य कमजोरी प्रकट गरी सुधारको प्रतिज्ञा पनि गर्नुभएको छ। ‘धूम्र उडान’मा चाहिं व्याजोक्ति अलङ्कार भरेर धूम्रपानबाट हुने हानि दर्शाउनु भएको छ’’ (बदरीनाथ भट्टराई, ‘नेपाली पद्य संग्रह’ भाग १, चौथो संस्करण, २००८)।


तारिफ गरेर चिठी लेख्थ्यौं। अधीर भएर उत्तरको प्रतीक्षा गथ्र्यौं। उत्तर आउँथ्यो र रमाइलो मानेर पढ्थ्यौं। यस्तै चल्दाचल्दै २००० सालमा पत्रमा लेखिन्, ‘अब मेरो बिहा भयो, पत्रव्यवहार गर्न मिल्दैन, क्षमा पाऊँ !’

डा. ईश्वर बरालद्वारा सम्पादित ‘हिमालचुली’ मा मधुधाराको ‘हिमाल’ शीर्षक कविता समावेश गरिएको छ र यस्तो सम्पादकीय टिप्पणी दिइएको छ, ‘‘नारी कवयित्रीमा लोकप्रिया देवी, गुह्येश्वरी देवी, कुसुम मञ्जरी देवी, गोमा, मधुधारा, लक्ष्मी प्रिया देवीको प्रसङ्ग यहाँ उठ्नु प्रासङ्गिक नै छ। ...मधुधारा अत्यन्त थोरै कलावधिमा काव्यात्मक झिल्का देखाई स्वर्ग गइन्’’ (डा.ईश्वर बराल, ‘हिमालचुली’, साझा प्रकाशन, २०४३)।

‘मधुधारा’का कविताका प्रशंसक, आजका राष्ट्रकवि माधव घिमिरेको भनाइ यस्तो छ, ‘‘गोरखापत्रमा प्रकाशित मधुधारा नाम जति मिठो लाग्थ्यो, त्यसभन्दा झन् बढी तिनको कविता मिठो लाग्थ्यो। उनको एक कविता पढ्दा त मलाई सल्लाघारी र निगालाघारीमा हुर्हुराउँदै दौडिने कुहिरोमा आरुढ भएर लेकाली फूल रुझाउने सिमसिमे पानीको सङ्गीतले आमन्त्रित हुँदै प्रिय लेक जगरामा पुगेजस्तो लाग्थ्यो’’ (माधव घिमिरे, ‘दीपज्योति’ वर्ष ५ अंक १, वैशाख २०३९)।

उमानाथ शास्त्री सिन्धुलीय आफ्नो महाकाव्य मधुधारालाई समर्पण गर्दै यस्तो पंक्ति कोर्नुहुन्छ :

यो कुनाभित्र त्यो वेला

भित्तो फोरी समाजको

बग्ने साहित्यकी धारा

मधुधारा ! कता गयौ ?

बिजुलीमा बली हाँस

चाहे बादलमा छिप

यो तिम्रै फूल बारीको

फूल यौटा थुङो टिप

(उमानाथ शास्त्री ‘सिन्धुलीय’, ‘मकवाली वाला’, २०३५ साझा प्रकाशन)

आज पनि नेपाली साहित्यका नारी स्रष्टाहरूबारे चर्चा गर्दा लेखकहरू मधुधाराको नाम छुटाउँदैनन्। यसरी साहित्यकारहरूद्वारा रुचाइएकी र कवयित्रीका रूपमा तारिफ गरिएकी मधुधाराको वास्तविकता के थियो त ? को थिइन् मधुधारा ? त्यस बारेको सत्यतथ्यका साक्षी दुइजना दिवंगत स्रष्टाका भनाइबाट मधुधाराको रहस्य यसरी उद्घाटित हुन्छ। नेपाली पद्य संग्रह भाग १ मा मधुधारालाई कविता रचनाको शिक्षा दिने भन्दै नाम उल्लेख गरिएका विद्वान्को भनाइयस्तो छ—

‘‘१९९२ सालमा म शिक्षकमा नियुक्त भै ठोसे र सालू पाठशालाहरूमा कार्यरत भएँ। त्यसै समयमा कुनै महिलाको नाममा कविता छपाएर सम्पादकलाई झुक्याई मनोविनोद गर्ने लहड मेरो मनमा आयो र ठोसे पाठशालाकी एक छात्रा ‘मधुधारा’ का नामबाट १९९४ सालको सुरुतिर ‘सत्यतरङ्ग’ शीर्षक कविता गोरखापत्रमा पठाएँ। मेरो योजना अनुसार सम्पादकजी झुक्किए र त्यो तुरुन्त छापियो। अरु कविताको माग गरेर निकै तारीफ सहित सम्पादक प्रेमराज पौडेलको पत्र समेत आयो। त्यसवेला म सालू पाठशालामा थिएँ र साम्बजी (साम्बभक्त शर्मा सुवेदी ‘मुरारि’) रामेछापमा। हरेक हप्ता रामेछाप हाटमा हाम्रो भेट हुन्थ्यो। मैले आफ्नो लहडबाजी साम्बजीलाई सुनाएँ। उहाँलाई पनि मधुधाराको नामबाट कविता पठाउन प्रेरित गरें।

उहाँले मान्नुभो। अनि मधुधाराका नाममा हामी दुवैका कविता बराबर ‘गोरखापत्र’मा छापिन थाले। प्रेमराजजी पनि साँच्चिकै कवयित्री ठानेर पत्र लेख्न थाल्नुभयो। हामी उत्तर दिन थाल्यौं। ‘यस्ती प्रगतिशील नारीले अङ्ग्रेजी पढ्नुपर्छ राजधानी मै आउनोस् म सहयोग गर्छु’ भन्ने प्रेमराजजीको ताकिती पत्र बराबर आउन थालेपछि चाहिं हामीले ‘अब मेरो बिहे भैसक्यो आउन मिल्दैन’ भनी मधुधाराको भाकाबाट जवाफ पठाइदियौं; अनि मात्र प्रेमराजजीबाट पिण्ड छुट्यो। त्यो बेला अरु पनि केही भावुक कविहरू मधुधारालाई पत्र लेख्न थालिसकेका थिए। अतः यस्तो लहडबाजी चालू राख्नु मनासीब लागेन र पछि कविताहरू पठाउन छाडियो। त्यसवेलाको हाम्रो यस्तो मनोविनोदले एउटी काल्पनिक र चर्चित कवयित्री जन्माएको थियो” (सोमनाथ घिमिरे व्यास, ‘अभिव्यक्ति’ पूर्णांक ३३, भाद्र २०३९)।

अर्का सम्बन्धित विद्वान्को भनाइ हेरौं

मेरा साथी पं सोमनाथ घिमिरे व्यासको मधुधारा सँग परिचय रहेछ र उनको चातुर्य शिल्पकला आदिबाट प्रभावित भै उनका नामबाट ‘सत्य तरङ्ग’ भन्ने कविता गो.प.मा सजधजका साथ व्यासजीले लेखी पहिले ९४ सालको प्रारम्भमै छपाउनुभएको, पछि बराबर लेख पठाउन साथी व्यासले मलाई प्रेरणा गर्दा मधुधाराका नामबाट मेरा चार कविता छापिए। मधुधारा संग मेरो र उनको देखादेख सम्म भएन। व्यासजीले मेरो नाम सम्म सुनाउनु भयो होला। ९४ सालमा सोमनाथ व्यास सालू भन्ने ठाउँमा सालू पाठशालामा गुरु हुनुहुन्थ्यो र म चाहिं रामेछाप पाठशालामा पढाउथें। सालुबाट रामेछाप २ कोस टाढा पर्दछ। प्रत्येक बिहिबार रामेछाप हाटमा साथी सोमनाथ सँग भेट हुन्थ्यो। हामी दुवैको सल्लाहले मधुधाराका नामबाट गोरखापत्र सम्पादक कहाँ चिट्ठी जान्थ्यो।

गोपका सम्पादक प्रेमराजजीले उनको नामको कवितालाई सत्य ठहर्‍याई पत्र पठाउन थाल्नुभयो। रामेछापबाटै पत्रको उत्तर जान थाल्यो। विचरी मधुधारालाई पत्तै हुँदैनथ्यो। उनको नाउँको पत्रबाट गद्यमा पनि प्रभावित भई ‘अङ्ग्रेजी पढ्न आउनुहोस् सकेसम्म म सहायता गर्न तत्पर छु’ भन्ने पत्र सम्म आयो। ‘मेरो विवाह भयो अव मलाई स्वतन्त्रता छैन’ भन्ने पत्र पठाएपछि मात्र पत्र व्यवहारबाट अवकाश मिल्यो। यस्ता रितले यो खेल भएको भित्री रहस्य विचरीलाई के थाहा ? ” (साम्बभक्त शर्मा सुवेदी (आत्म जीवनी), संग्रह प्रकाशन २०३२)

मधुधाराका नाममा प्रकाशित सात कवितामध्ये कुन कुन कविताका लेखकको को हुन् त ? भन्ने डा. गणेश भण्डारीको जिज्ञासा शान्त पार्दै साम्बभक्त सुवेदीले क्रमशः ती कविताका शीर्षक र रचनाकारबारे यसरी प्रस्ट पार्नुभएको छ— (१) ‘सत्य तरंग’-सोमनाथ घिमिरे (२) ‘जटारह’-सोमनाथ घिमिरे (३) ‘स्त्री जीवन’-साम्बभक्त सुवेदी (४) ‘माहुरी’-साम्बभक्त सुवेदी (५) ‘अबोला लेखनी र हामी अबला’-साम्बभक्त सुवेदी, (६) ‘हिमाल’-सोमनाथ घिमिरे (७) ‘धूम्र उडान’-साम्बभक्त सुवेदी (गणेश भण्डारी, ‘मधुपर्क’, २०२६ वर्ष २ अंक ८)।

डा. गणेश भण्डारीले यस्तो अड्कल पनि गर्नुभएको छ, ँमधुधारा को हुन् त ? भन्ने प्रश्नका उत्तरमा के मात्र भन्न सकिन्छ र सुनिएको छ भने पं.घिमिरेले आफ्नी प्रियतमाको काल्पनिक या वास्तविक (निश्चित थाहा छैन) नाउँबाट कविता प्रकाशित गराएका हुन् र पछि पद्य सङ्ग्रहमा परिचय पनि घिमिरेले नै दिलाइ दिएका हुन्। यसको प्रमाणमा हमी पं. साम्बभक्त सुवेदी, पं.सोमनाथ घिमिरे, पं. बदरीनाथ भट्टराईलाई औंल्याउन सक्छौं’’ (गणेश भण्डारी, ‘मधुपर्क’ २०२५ वर्ष १ अङ्क ५)।

डा.भण्डारीको उक्त लेख प्रकाशित भएको बेला उहाँले औंल्याउनुभएका तीनैजना स्रष्टा जीवित हुनुहुन्थ्यो। उहाँहरूमध्ये साम्वभक्त सुवेदी र सोमनाथ घिमिरेले विभिन्न पत्रिका र पुस्तकमा मधुधाराका विषयमा चर्चा गर्नुभएको छ। तर सम्बन्धित विद्वान्हरूद्वारा व्यक्त धारणामा डा.गणेश भण्डारीको भनाइ पुष्टि हुने आधार पाइँदैन। सुवेदी र घिमिरे दुवै मित्रहरू मात्र होइन बदरीनाथ भट्टराईले पनि मधुधारा ठोसे पाठशालामा सोमनाथ घिमिरे शिक्षक छँदा उहाँकी छात्रा रहेकी र पछि उनको विवाह रामेछाप कठजोरका वेददेव अधिकारीसँग भएको कुरा अवगत गराउनुभएको छ। यी तथ्यबाट डा. गणेश भण्डारीद्वारा उठाइएको प्रश्न केवल उहाँको अड्कलबाजी मात्र भएको सिद्ध हुन्छ।

युगकवि सिद्धिचरण श्रेष्ठले आफू पनि मधुधाराको फ्यान भएको कुरा यस पंक्तिकारसँग व्यक्त गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो, ँकुमारी मधुधारा चर्चित कवयित्री थिइन्। हुलाकबाट तिनका कविता गोरखापत्र, शारदा आदि पत्रिकामा आउँथे। अचेल तपाईंहरूले पारिजात, प्रेमा शाह, बेन्जु शर्मा आदिलाई मन पराएजस्तै त्यो बेलाका हामी युवा कवि लेखकहरू मधुधाराका फ्यान थियौं। तिनको तारीफ गरेर चिठी लेख्थ्यौं। अधीर भएर उत्तरको प्रतीक्षा गथ्र्यौं। उत्तर आउँथ्यो र रमाइलो मानेर हामी पढ्थ्यौं। यस्तै पत्र व्यवहार चल्दाचल्दै २००० सालमा तिनले आफ्नो पत्रमा लेखिन्, ‘अब मेरो बिहा भयो, पत्रव्यवहार गर्न मिल्दैन क्षमा पाऊँ !’ साम्वभक्त र तपाईंका पिता (सोमनाथ घिमिरे व्यास)ले मधुधाराका नाममा कविता लेखेर हामीलाई झुक्याइदिएको र हामी सजिलै भुक्किएको सम्झँदा अहिले पनि मलाई ज्यादै नमज्जा लाग्छ। मधुधाराको मोहिनी रूप र रसिक माधुर्यको जुन छवि हाम्रो मनमा थियो अचानक त्यो गल्र्याम्म ढल्दा प्रेमराज र म जस्ता सम्पादकहरूको कस्तो हालत् भयो होला आफैं सोच्नुस् !’’ (रोचक घिमिरे, ‘सम्झनामा फक्रिएका थुंगा’ २०५६, साझा प्रकाशन)

यस पंक्तिकारलाई पिता सोमनाथ घिमिरेद्वारा थाहा भएअनुसार उहाँले ठोसे पाठशालामा अध्यापक छँदा आफ्नै नाममा गोरखापत्रमा प्रकाशनार्थ कविता पठाउनु भएछ। दुईवटासम्म कविता पठाउँदा पनि नछापिएपछि उहाँले त्यही विद्यालयमा पढ्ने आफैंद्वारा नामकरण गरिएकी छात्रा मधुधाराको नामबाट ‘सत्य तरंग’ शीर्षक कविता गोरखापत्रलाई पठाउनुभएछ। तत्काल त्यो छापिएछ। यसबाट उत्साहित भएर फेरि दोस्रो ‘जटारह’ शीर्षक कविता त्यसैगरी पठाउँदा त्यो पनि छापियो। त्यतिमात्र होइन सम्पादक प्रेमराज शर्माले मधुधारालाई प्रेरित गरेर चिठीसमेत लेख्न थाल्नुभएछ।

सालू पाठशालमा सरुवा भएपछि रामेछाप पाठशालाका शिक्षक आफ्ना घनिष्ठ मित्र साम्वभक्त सुवेदीलाई पनि हौस्याएर मधुधाराका नाममा कविता लेख्न लगाएर गोरखापत्र, शारदा आदिमा पठाउन लाग्नुभएछ। मधुधाराका कवितालाई तारिफ गरेर चिठी लेख्ने अरू कविहरूमा सिद्धिचरण श्रेष्ठ र भवानी भिक्षु हुनुहुन्थ्यो भन्नुहुन्थ्यो पिताजी। ती पत्रहरू रामेछापकै घरमा भएका र आफू काठमाडौं बस्न थालेपछि संरक्षणको अभावमा हराएका कुरा पिताजी गर्नुहुन्थ्यो ! तत्कालीन दुईजना युवा कविले गरेको लहडबाजीले एउटी काल्पनिक कवयित्री जन्माएर चर्चाको चुलीमा पुर्‍याएको यो सन्दर्भ नेपाली साहित्यको इतिहासमा अनौठो र रमाइलो घटनाका रूपमा देखा पर्छ। यस घटनासँग सम्बन्धित स्रष्टाहरू कोही पनि आज जीवित हुनुहुन्न। उहाँहरूद्वारा रचिएको त्यस्तो कौतुकमय कृत्यचाहिँ नेपाली साहित्यक वृत्तमा मनोरम घटनाका रूपमा सुरक्षित रहनेछ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.