लाज भो !
विमलजीले ‘अन्नपूर्ण फुर्सद’को नेतृत्व सम्हाल्ने भएपछि (अनुसन्धानमूलक) लेखका लागि फोनमार्फत र भेटेरै पनि आग्रह गर्नुभएको थियो। तयारी सामग्री केही नभएको र अन्य काममा व्यस्त भएकाले उहाँलाई ‘फुर्सदलाई अलि फुर्सदमा लेखूँला नि’ भनेको थिएँ। विमलजी पूर्वसहकर्मी हुनुहुन्छ, हामीले केही समय मार्टिन चौतारीमा सँगै काम गर्यौं। तत्काल लामो र गहन केही लेख्न नसक्ने भए छोटोछरितो भए पनि हुन्छ भन्ने कुरा भयो। उहाँले थप्नुभयो, ‘दाइ ट्विटरमा विभिन्न रोचक सामग्रीहरू फ्याँकिरहनुहुन्छ, तिनलाई यसो अलि मिलाएर यतातिर फ्याँक्नुहोस् न।’ शब्द ठ्याक्कै यिनै थिएनन्, कुरा यस्तै थिए।
हुन पनि मैले अनुसन्धान क्रममा भेटेका आफ्नो अनुसन्धानका विषयवस्तुभन्दा परका तर आफूलाई रोचक लागेर संग्रह गरिराखेका सामग्रीहरू बेलाबेलामा ट्विटरमा फ्याँकिरहन्छु, ताकि ती सामग्रीले कसैको मनमा उत्सुकता सिर्जिऊन् र उनीहरू थप अनुसन्धानमा प्रवृत्त होऊन्। तीमध्ये धेरै ‘गोरखापत्र’को अभिलेखबाट निकालिएका हुन्छन्।
सन् २०१२–२०१३ मा एउटा विद्वत्वृत्तिअन्तर्गत अमेरिकाको युनिभर्सिटी अफ इलिनोय एट सिकागोमा करिब नौ महिना (एक शैक्षिक वर्ष) मैले बिताएँ। सो क्रममा सिकागो युनिभर्सिटीमा रहेको ‘गोरखापत्र’का पुराना अंक माइक्रोफिल्ममा हेर्ने अवसर मिल्यो। मदन पुरस्कार पुस्तकालयमा रहेको ‘गोरखापत्र’को संग्रहको माइक्रोफिल्म सो विश्वविद्यालयको सहयोगमा उतारिएको थियो र त्यसको एक प्रति सो विश्वविद्यालयको पुस्तकालयमा समेत राखिएको छ।
मैले ‘गोरखापत्र’का १९९३ सालदेखि २०१७ सालसम्मका अंकहरू नेपालको शिक्षाको इतिहास केलाउने क्रममा हेरेको हुँ। त्यसका लागि ‘गोरखापत्र’मा प्रकाशित शिक्षासम्बन्धी सप्पै खाले सामग्री अध्ययन गर्नुपर्ने भन्ने आफूले ठम्याएकाले ‘गोरखापत्र’का हर अंक शिरदेखि पुछारसम्म म हेर्थें। कुनै पनि लेख, सम्पादकीय, विज्ञापन, इस्तिहार, पाठकपत्र, सूचनामा शिक्षाबारे केही कुरा परेको छ भने मैले तिनलाई आफ्नो संग्रहमा राखिहाल्थेँ।
यसरी आद्योपान्त ‘गोरखापत्र’का अंकहरू केलाउँदै जाँदा त्यहाँ विभिन्न खाले सामग्री देखिन्थे। यो मुन्टो र आँखा दुखाउने बहुतै झन्झटिलो काम गर्दा कतिपय रोचक सामग्री पढ्न पाइन्थ्यो; जसले आँखा, टाउको र घाँटीका पीडा बिर्साउँथे।
शिक्षाको इतिहास अनुसन्धान गरिरहेको भए पनि शिक्षाबाहेक मलाई चाख लागेका अन्य विषयसम्बन्धी सामग्री भेटेको खण्डमा तिनलाई समेत म संग्रह गर्थें। उदाहरणका लागि फेसनबारे, हलो जोत्नेबारे, राजनीतिबारे, पुस्तक/प्रकाशन/समीक्षाबारे, पोखराबारे जेजति सामग्री पाएको थिएँ तिनको म फोटोकपी उतार्थें। तर, मेरो मुख्य ध्यान शिक्षातर्फ भएकाले यी ‘अन्य’ विषयमा छापिएका कतिपय सामग्री छुट्थे। अनि माइक्रोफिल्ममै पनि ‘गोरखापत्र’का सबै अंक थिएनन्, छैनन्। यसरी संग्रह गरेका केही विषयका सामग्रीमा आधारित रही मैले लेखेका लेख विभिन्न पत्रिकामा छापिएका छन्।
आफूलाई रोचक लागेका तर आफ्नो अनुसन्धान क्षेत्रसँग कुनै साइनो नभएका कतिपय अन्य सामग्रीलाई म मेरो ‘फोसा’ फोल्डरमा संगृहीत गर्थें। सिनेमासम्बन्धी केही रोचक सामग्रीलाई मैले पहिले फोसामै राखेको थिएँ, तर पछि मलाई सिनेमामा केही लेख्न सकिन्छ जस्तो लाग्यो। अनि मैले पुनः माइक्रोफिल्मलाई दोहो¥याएँ, र सिनेमासम्बन्धी ‘गोरखापत्र’मा छापिएका र आँखाले भ्याएका सप्पै सामग्री छुट्टै फोल्डरमा संकलन गरेँ। पछि तिनमा आधारित भएर प्रारम्भमा पत्रिकाका लागि छोटो लेख र त्यसपछि नेपालमा सिनेमाको सार्वजनिक प्रदर्शनीको इतिहासबारे लामै लेख लेखेँ।
विमलजीबाट दोहोरिएर आएको आग्रह नकार्न नसकी मैले मेरा फोसाका पोका फोएँ। १९९४ सालको ‘गोरखापत्र’मा छापिएको एउटा सम्पादकीय टिप्पणी सहितको कवितामा मेरो नजर प¥यो। सो कविता मैले नाम कहिल्यै नाम नसुनेकी कवि मधुधाराको नाउँमा छापिएको थियो। उनको कविता राम्रो त छँदै थियो, सम्पादकले समेत सहर्याएका थिए।
आफू नेपाली साहित्यको विद्यार्थी वा साहित्यको इतिहासको अन्वेषक नभएकाले यी महिला साहित्यकारबारे कहीँ कतै केही लेखिएको छ कि भनेर मैले महिला कवि, साहित्यकार बारेका पुस्तकहरू (लीला लुइटेल, ज्ञानु पाण्डे, साहित्यकार कोष, आदि) खोतलेँ। ती पुस्तकमा मैले उनीबारे कसैले केही लेखेको भेटिनँ। अनि तिनैउपर संक्षिप्त टिप्पणी लेखेर विमलजीलाई दिने विचार गरी फोनमा कुराकानी गरेँ। उनीबारे केही थाहा छ कि भनेर सोधेँ, र लेखी पठाएँ। जुन गत हप्ता छापियो पनि। त्यो मेरो नाउँमा छापिएको लेखको महत्ता स्वयंमा थिएन, त्यो त मधुधाराको काव्यमा थियो, जसले यथोचित स्थान पाएको थियो।
तर रोचक घिमिरेजीले सात वर्षअघि नै ‘गरिमा’ (असार २०६८) मा मधुधारा र उनका नाउँमा छापिएका कविताबारे लेखिसक्नु भएको रहेछ। मेरो लेख छापिएपछि रोचकजीले विमलजीलाई सम्पर्क गर्नु भएछ। विमलजीमार्फत मैले सो लेखबारे जानकारी पाएँ र उहाँको लेख पढेँ। काण्ड निकै रोचक रहेछ, अनि लेख गज्जब। आफैंलाई लाज लाग्यो र ट्विटमा लेखेँ, ‘लाजै भो।’ रोचकजीले मात्रै होइन अरूले पनि लेखेका रहेछन्, अनि म मात्रै होइन अरूसमेत झुक्किएका रहेछन्, उहाँकै लेखबाट थाहा भयो।
पुरुषले महिलाको नाउँमा लेखेको यो मात्रै रचना होइन। न यो पहिलो हो, न अन्तिम नै। (शंकर लामिछाने र ‘कुमुदिनी काण्ड’ त कुख्यातै छ !) मैले राणाकालको उत्तराद्र्धमा महिला शिक्षाबारे अनुसन्धान पत्र लेख्ने सो मुद्दामा पत्रपत्रिकामा भएका बहस केलाएको थिएँ। सो बहसमा महिलाका नाउँमा विभिन्न पत्र छापिएका थिए। दरबार हाइस्कुलका प्राचार्य बोधविक्रम अधिकारीले पनि महिला शिक्षाबारे लेखेका थिए। उनको ‘पेट्रोनाइजिङ’ लेखमाथि महिलाहरूले असहमति जनाउँदै प्रतिक्रिया पठाएका थिए। कडा प्रतिक्रियाबाट तिलमिलाएका बोधविक्रमले ती लेखकलाई महिलाको मुखुण्डो लगाएका पुरुषको आरोप लगाएका थिए। महिलाले त्यस्तो बलियो तर्कसहित लेख्नै नसक्ने उनको ठहर थियो।
अरू ‘बोधविक्रम’हरूले पनि महिलाका नाउँमा आएका रचनामा शंका गरेको देखे–सुनेको छु, अद्यापि। यो त झन् पहिलेको कुरा थियो। तर म महिलालाई मात्र शंका गर्न चाहन्थिनँ र चाहन्नँ। कतिपय महिला लेखकले विभिन्न कारण पुरुषको नाउँमा लेखेका होलान् नि (उदाहरण, ब्रोन्ट दिदीबहिनी, जेके रोलिङ, आदि)। तर हामी पुरुषको नाउँमा छापिएका सामग्री पुरुषकै हो भन्ठान्छौं, जब कि महिलाका सामग्रीबारे चाहिँ तुरुन्तै संशय व्यक्त गर्छौं। किन महिलाले लेखेका सामग्रीबारे (अझै) प्रश्न उठाइन्छन्, शंका गरिन्छन् ? किनभने हामीलाई लाग्छ— महिलाले गतिलो, राम्रो लेख्नै सक्दैनन्; त्यो त पुरुषको जिम्मा हो। हामी ठान्छौं— ज्ञानको प्राधिकार पुरुषमा मात्रै छ। ज्ञानी, विचारवान्, जान्नेसुन्ने भनेको पुरुष नै हुन्छ !
खैर, जे भयो, सो भयो। यही मेसोमा पुरानो बिर्सिएको एउटा कविता, सर्जक र काव्यलेखनबारे एक पटक पुनः चर्चा–परिचर्चा गरियो। विमलजी र रोचकजी अनि अन्नपूर्ण फुर्सदलाई धन्यवाद।