छाप्ने भए छाप्नु, खोजेर जहाँ जे छन्...
घुम्ने मेचका अन्धालाई
साँघुरो चोकका द्यौतालाई
वीर भएका बुद्धुलाई
बुद्धु भएका वीरलाई
हल्लै हल्लाको देशमा
चार भञ्ज्याङ, यो चिसो एस्ट्रेमा
उभ्याउने हामी होइनौं।
‘केही लेख्छन् लामो सास फेर्छन्’
यस्ता भूपि शेरचन
हामीले दिक्क पारेपछि
एक दिन भन्छन्—
‘छाप्ने भए छाप्नू, खोजेर जहाँ जे छन्।’
भयो।
हामीले खोज्यौं, खोजायौं
अनि अलिकता रोजायौं
ऐले यो संस्करणचाहिँ
जस्ताको तस्तै बुझायौं।
भूपिलाई फेरि पनि
साझा प्रकाशनको घेरोमुनि
अर्कै रूपमा
अर्कै रंगमा
उजिल्याउने हाम्रो धोको छ।
(त्यो गरिदिने उनीबाहेक अर्को को छ ?
त्यसैले उजुरको पोको छ।)
अनि त्यसैले शुभकामनाको डोको छ—
भूपिले कलम नरोकून्
शुभ्र, शान्त र स्निग्ध
मैनबत्तीको शिखालाई नछोपून्।
(लोकप्रिय कवि भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पहिलोपटक विसं २०२६ मा साझा प्रकाशनबाट छापिएको थियो। यसै पुस्तकलाई पुरस्कृत गरेर साझा पुरस्कारको थालनी गरिएको थियो। माथिको कवितात्मक प्रकाशकीय क.दी. को हो। क.दी. अर्थात् कमल दीक्षित।)