तपाईं कहिल्यै पनि ‘स्थानीय’ बन्न सक्नुहुन्न
सबैको चाहना हुन्छ, शक्तिको शान्तिपूर्ण हस्तान्तरण। रक्तपात वा हिंसा कसैको चाहना हुँदैन।
मलयालम भाषाका उपन्यासकार बेन्यामिनको उपन्यास ‘खबुज’ नेपाली पाठकबीच लोकप्रिय बन्यो। ‘खबुज’ खाडी मुलुकमा श्रम बेच्न गएका युवाका नागबेली जीवनकथामा आधारित उपन्यास हो। विदेशिएका नेपाली युवाका कथासँग धेरै कोणबाट मिलेकाले पनि सानो आकारको यो उपन्यास निकै लोकप्रिय बनेको हो। भाषाप्रस्तुति पनि सुन्दर र सरल भएकाले उपन्यास धेरैका लागि प्रिय बन्यो।
त्यही ‘खबुज’का लेखक बेन्यामिनको हालै नयाँ उपन्यास प्रकाशित भयो। मलयालम भाषामा लेखिएको बेन्यामिनको उक्त उपन्यासको अंग्रेजी संस्करणको नामाकरण गरियो, ‘ज्यास्मिन डेज’। उपन्यासलाई मलायालमबाट अंग्रेजीमा शाहनाज हबिबले अनुवाद गरेकी छन्। सन् २०१८ देखि दिइने जेसीबी साहित्य पुरस्कारबाट बेन्यामिनको उपन्यास पुरस्कृत भएको छ। भारतीय लेखकले अंग्रेजी भाषामा लेखेको वा कुनै पनि अरू भाषाबाट अंग्रेजीमा भारतीय स्रष्टाले अनुवाद गरेको कृतिलाई यो पुरस्कार प्रदान गरिने छ। भारतको जेसीबी साहित्य प्रतिष्ठानले सो पुरस्कार स्थापना गरेको हो।
‘ज्यास्मिन डेज’ कुनै अज्ञात खाडी देशको एउटा सहरमा केन्द्रित भएर लेखिएको उपन्यास हो। त्यो सहरमा आप्रवासी र आफूलाई त्यो भूमिमा पुस्तौंपुस्तादेखि बस्दै आएको बताउने रैथाने जनताबीचको तनाव हिंसात्मक क्रान्तिमा परिणत हुन्छ।
बेन्यामिनले वर्षौँ खाडी देशमा बस्दाको आफ्नो अनुभव, त्यहाँ पाकिस्तानी सामाजिक सम्बन्ध र आपसी आत्मीय व्यवहार, आफूले लेखेको कृतिको अनुवाद हुँदा भएको अनुभव, मुसलमान महिलाका लागि ‘हरामी’ शब्दको अर्थ, क्रान्तिमा सामाजिक मिडियाको भूमिका अनि कसरी आप्रवासी जनता आफू जुन ठाउँमा गएको हो, त्यो देशको संस्कृतिसँग जतिसुकै सांस्कृतिक रूपमा घुलमिल भए पनि अन्ततः उनीहरू ‘विदेशी’ नै रहने गर्छन्, आदि विषयमा ‘स्क्रोल डट आइएन’सँगको कुराकानीमा चर्चा गरेका छन्। प्रस्तुत छ, उपन्यासकार बेन्यामिनसँग कुराकानीको अनुवाद :
तपाईंको कृति अंग्रेजी भाषामा अनुवाद भयो। यो अनुवाद प्रक्रियाबारे केही बताइदिनुस् न। कृति अनुवादका लागि कसरी अनुवादक छनोट भयो ? अनुवाद गरिएको गुरुकपी तपाईँले मूल संस्करणमा लेखेजस्तो भए नभएको जाँच्नुभयो कि भएन ? कस्तो अनुवादलाई तपाईँ आफ्नो कृतिको शक्तिशाली अनुवाद मान्नुहुन्छ ?
विश्व साहित्यमा यो सर्वकालिक र कहिल्यै नटुंगिने छलफल हो। एक जना लेखकका रूपमा म यो छलफलमा त्यत्ति संलग्न छैन। मूल प्रश्न भनेको अनुवादक मूल कृतिको विषयवस्तु, भाषा र लालित्यभित्र कति गहिराइमा पस्न सक्यो भन्ने हो। एक जना लेखकको रूपमा स्वार्थवश मैले शब्दशब्दको अनुवाद खोज्न सक्छु। तर शाब्दिक अनुवादले त अन्ततः एउटा भयानक पुस्तक मात्र तयार हुने वास्तविकतालाई पनि मैले स्वीकार्नै पर्छ। त्यसकारण लेखकले अनुवादकलाई केही स्वतन्त्रता दिनैपर्छ भन्ने मेरो बुझाइ छ। अनुवादकको स्वतन्त्र अनुवादले मूल कृतिको सुन्दरतालाई अझ समृद्ध बनाउँछ। मूल कृति र अनूदित कृतिबीचको सम्बन्ध भनेको पानी र खोलोको सम्बन्ध जस्तै हो। त्यसकारण अनुवाद भन्नुभन्दा पनि भावानुवाद भन्नु उपयुक्त हुने मेरो विचार छ।
सौभाग्यवश मेरा अनुवादकहरू मेरा कृतिको प्रकाशक आफैंले खोज्ने गरेको छ। म सधैं अनूदित कृतिको गुरुकपी पढ्ने गर्छु र सुझाव दिने गर्छु। मेरो मूल चासोको विषयमा भनेको अनुवादकले मेरो सोचाइलाई कति सही तरिकाले बुझेको छ वा छैन र मेरो शब्दको वास्तविक अर्थलाई समात्न सकेको छ वा छैन भन्ने नै हो।
‘ज्यास्मिन डेज’मा तपाईँले साम्प्रदायिक हिंसा र क्रान्तिको कथा बुन्न एउटा रेडियो स्टेसनलाई आधारभूत कथावस्तुको रूपमा छान्नुभएको छ। के कारणले रेडियो स्टेसन छनोटमा पर्यो ?
यो एउटा खाडी देशको अनाम सहरमा आधारित कथा हो। यो उपन्यासको मूल ध्येय साम्प्रदायिक हिंसा वा क्रान्तिबारे कुरा गर्नु होइन, बरु त्यस्तो परिस्थितिमा पनि मानिस मानिसबीचका सम्बन्धहरू कसरी अघि बढ्छन् भन्ने विषयलाई प्रकाश पार्नु हो। भारतमा भन्दा अघि नै खाडी देशहरूमा रेडियो स्टेसनहरू सुरु भएका थिए। त्यहाँ धेरै भाषिक रेडियो स्टेसनहरू छन्। ती स्टेसनहरू त्यहाँका सहरमा निकै लोकप्रिय छन्। क्षेत्रीय भाषाका रेडियो स्टेसन दुर्गम मरुभूमि गाउँका धेरै मानिसको एक्लोपनको अनन्य मित्र बनेका छन्। एक्लोपनासँग सामना गर्न ती ठाउँका मानिसका लागि रेडियो स्टेसन प्रमुख साधन नै भएका छन्। मैले उपन्यासमा यो अवस्थाको चित्रण गरेको छु किनभने मलाई उपन्यासमा चित्रण गरिएको जस्तो हिंसा भड्किने सहरमा रेडियो स्टेसनको भूमिका कस्तो हुने गरेको छ भन्नेबारेमा राम्ररी थाहा छ।
उपन्यासमा ‘ताया घर’ को व्याख्या छ। एउटै वंश परिवारअन्तर्गत विभिन्न शाखा परिवारका मानिस बस्ने घरको रूपमा ताया घरको व्याख्या गरिएको छ। त्यस्ता घरलाई अप्रवासीहरूको ‘आफ्नो समस्याको समाधान खोज्ने घर’को रूपमा पनि व्याख्या गरिएको छ। त्यस्ता ठाउँहरूमा अप्रवासीहरू नयाँ ठाउँमा रोजगारीको लागि सल्लाह र सहयोग खोज्न जम्मा हुने गर्छन्। साथै ताया घरलाई ‘पुरुष गुफा’को रूपमा पनि व्याख्या गरिएको छ जहाँ पुरुषले परिवारभित्रै महिलाको जीवनमा शासन गर्ने गर्छ। यस्तो घरको परिकल्पना कहाँबाट आयो ?
म धेरै वर्ष एउटा खाडी देशमा बसेँ। त्यति बेला धेरै पाकिस्तानी मजदुर, मित्र र छिमेकीहरूसँग मेरो भेट भइरहन्थ्यो। हामी एउटै कोठामा बस्थ्यौं, खाना एकै चुल्होमा पकाउँथ्यौं। क्रिकेट पनि सँगै खेल्थ्यौं। म उनीहरूसँग पूरै घुलमिल भएको थिएँ। उनीहरू आफ्ना हरेक दिनका कथाव्यथा हामीलाई सुनाउँथे। पारिवारिक सम्बन्ध र सहरका अरू सम्बन्धबारे उनीहरू आफ्ना कुरा सुनाइरहेका हुन्थे। उनीहरू सबैका आआफ्ना ताया घर हुने गर्छन् र उनीहरू मलाई ती आफ्ना ताया घरका अन्तरकथा सुनाउने गर्थे। यी सबै अनुभवले मलाई उपन्यासमा मेरो आफ्नै ताया घर सिर्जना गर्न मनग्य खुराक प्रदान गर्यो।
उपन्यासमा मूलपात्र समिराले आफूभित्रको ‘हरामी’लाई बारम्बार चर्चा गरेकी छन्। उपन्यासको मूल पात्र नै समिरा बनाउनुको मूल कारण उनीसँग सुन्नी मुसलमान समुदायमा स्वीकारिने र ‘हराम’को रूपमा लिइने दुवै विशेषता भएर हो ?
समिरा मात्र होइन, हरेक महिलालाई पटकपटक अर्की महिलाले ‘हरामी’को रूपमा लिएका हुन्छन् र कहिलेकाहीँ समिरा आफैंले आफूलाई हरामी मान्छिन्। समिरा तिनै महिलाका प्रतिनिधि पात्र हुन्। पुरुषले कोरिदिएका सीमा तोड्ने साहस भएकी महिला हुन् समिरा। ‘हरामी’ शब्दको अर्थ उनका लागि लज्जाको विषय होइन। बरु संसारसँग सामना गर्ने साहसको चिह्न हो।
उपन्यासमा सहरका सिया मुसलमानको जीवनबारे थोरै चर्चा गरिएको छ तर मूलतः उपन्यासमा सुन्नी मुसलमानकै व्याख्यामा बढी शब्द खर्च गरिएको छ। के कारणले तपाईँलाई एकजना सुन्नी पात्रको कथा उधिन्ने प्रेरणा दियो ?
एउटा सुन्दर र बलियो प्रजातान्त्रिक समाजमा बहुमत सधैं अल्पमतको आवाज बन्न जरुरी छ। उनीहरूले अल्पमतको स्वतन्त्रता, अधिकार र भावनाको आवाज उजागर गरिदिनुपर्छ। त्यही कारणले मैले समिरालाई एकजना सुन्नी मुसलमानको रूपमा परिकल्पना गरेँ जसले अरूका पीडालाई बुझ्न सक्छिन्।
उपन्यासमा ‘विदेशी’ शब्द लामो समयदेखि सहरमा बस्दै आएका मानिसलाई समेत गर्न प्रयोग गरिएको छ। तीमध्ये कतिजना त त्यहाँका नागरिकसमेत बनिसकेका छन्। पश्चिम एसियाको सन्दर्भमा यो शब्दको परिवेश के हो ?
मेरो विचारमा पश्चिम एसियामा मात्र होइन, संसारका जुनसुकै कुनामा पनि विदेशी भनेको विदेशी हुने गरेका छन्। अचेल आप्रवासीप्रतिको धारणा झन्झन् खतरनाक बन्दै गइरहेको छ। कुन ठाउँमा तपाईँले कति वर्ष बिताउनुभयो भन्ने कुरा महत्वको विषय हुने गर्दैन। जति वर्ष बसे पनि तपाईँलाई बाहिरिया नै मानिएको हुन्छ। तपाईं कहिल्यै पनि ‘स्थानीय’ बन्न सक्नुहुन्न। अझ त्यसमाथि तपाईंको आफ्नो देश वा धर्म वा छालाको रङका कारण तपाईँमाथि अनेकन शड्ढा उपशड्ढा गरिन्छ। पश्चिम एसियामा अधिकांश अप्रवासीसँग श्रम अनुमतिपत्र (वर्क भिसा) मात्र हुने गरेको छ। त्यस्तो भिसामा एक पटकमा दुई वर्ष सम्मका लागि मात्र म्याद थपिने गरिन्छ। निकै थोरै मानिसलाई मात्र त्यहाँको नागरिकता दिइन्छ र त्यहाँको समाजमा समावेश गरिन्छ। कदाचित् कसैले नागरिकता पाइहाले पनि अथवा त्यहाँको समाजमा समावेश गरिए पनि तपाईँलाई पर्खालको अर्को छेउसम्म मात्र पस्न दिइनेछ। अरब समाज आफ्नो रगत र संस्कृतिको शुद्धता जोगाउन चाहन्छ र अरू कुनै पनि संस्कृतिसँग घुलमिल हुन चाहँदैन। त्यसकारण तपाईँ विदेशी नै रहनुहुनेछ। साथै उनीहरू तपाईँको सेवालाई पैसा तिरेको दासताको रूपमा लिने गर्छन्। मैले उपन्यासमा यस्तै समस्याबारे चर्चा गरेको छु।
तपाईँको विचारमा हिंसा र राजनीतिक विद्रोहबीच सम्बन्ध हुन के आवश्यक छ ?
अधिकांश सन्दर्भमा हिंसा र राजनीतिक विद्रोहबीच सम्बन्ध हुने गर्छ। इतिहासले त्यही देखाएको छ। सबैको चाहना हुने गर्छ, शक्तिको शान्तिपूर्ण हस्तान्तरण। रक्तपात वा हिंसा कसैको चाहना हुने गर्दैन। तर सँगै उठ्ने प्रश्न भनेको आफ्नो हातमा रहेको शक्ति अरूलाई सुम्पिन तयार हुन्छ। शासक कहिल्यै पनि साधारण जनताका मागको सम्बोधन गर्ने पक्षमा हुँदैन। अधिकांश शासक आफू बसेको ठाउँ आफूलाई भाग्य वा भगवान्ले दिएको ठान्छन् र आफू संसारको अन्तिम समयसम्म त्यही सत्तामा बसिरहने सोच्छन्। त्यसै कारण जनताले तानाशाहहरूलाई सत्ताच्यूत गर्न हिंसाको सहारा लिन बाध्य हुन्छन्।
फेसबुक र ट्विटर ‘ज्यास्मिन डेज’ उपन्यासमाथि असहमति पोख्ने, प्रचार गर्ने, बहस गर्ने र अरू धेरै प्रयोजनको माध्यम बनिरहेका छन्। अभियान र क्रान्तिको विकासका लागि यी माध्यम वा दबुले खेलिरहेको भूमिकाबारे तपाईंको धारणा कस्तो छ ?
ती माध्यमहरू हाम्रा हातहातमा हालसालै मात्र आएका हुन्। हामीलाई त्यसको शक्तिबारे जानकारी थिएन। हामीले यसलाई हल्काफुल्का गसिप बाँड्न र हल्ला फैलाउन मात्र प्रयोग गर्यौँ। तर अरबमा भएको क्रान्ति र ज्यास्मिन क्रान्तिको समयमा ती माध्यमहरूले आफ्नो शक्ति प्रदर्शन गरे। ती घटनापछि पनि तिनीहरूले धेरैपटक आफ्नो शक्ति प्रदर्शन गरिसके। केरलामा हालै आएको बाढीपहिरोको क्रममा भएको ‘निर्भय’ घटना पनि यसको उदाहरण हो। यी दबुहरूले राजनीतिक पार्टीका अवस्थामा आनका तान फरक बनाइदिएका छन्।
यी अनुहारविहीन मानिसको हूल कहाँबाट आएका हुन् ? उनीहरू कसरी एकै ठाउँमा आउने गर्छन् ? लडाइँ लड्न उनीहरू कहाँबाट शक्ति आर्जन गर्ने गर्छन् ? यी सबै प्रश्नको उत्तर नै सामाजिक मिडिया हुन्। समाजलाई नजिकबाट हेर्ने एकजना लेखकको हैसियतले मैले यी सबै कुरालाई आफ्ना कृतिमा ध्यान दिनैपर्छ।
अनुवादः नीरज लवजू