लाजिम्पाट र लैन

लाजिम्पाट र लैन

सत्यमोहन जोशीले गरेको ‘लैन’ शब्दको व्युत्पत्ति पूरै बेठीक र प्रेम सिंह बस्न्यातको चाहिँ ठीक छ भन्ने यतासम्मका कुराबाट स्पष्ट हुनुपर्छ।


हाम्रा प्राचीन आचार्यहरूले भाषाको सम्यग्ज्ञानको लागि अत्यन्त परि श्रम गरेका थिए भन्ने कुरा वेदको अर्थ बुझ्न सजिलो होओस् भनी उनीहरूले छुट्ट्याएका ६ थरी विद्यामध्ये ४ थरी त भाषासम्बन्धी नै भएकोबाट मात्र पनि स्पष्ट हुन्छ। यी ६ थरी विद्या ‘षडङ्ग’ भनी कहलिएका छन् र भाषासँग सम्बद्ध ४ थरी विद्या शिक्षा, व्याकरण, निरुक्त र छन्द हुन्। शिक्षाले वर्णको ठीक उच्चारण सिकाउँछ त निरुक्तमा कुनै शब्दको व्युत्पत्तिको विषयमा विचार गरिएको हुन्छ। व्याकरणको र छन्दको चाहिँ परिभाषा गरिरहनु पर्दैन होला।

नेपाली भाषामा चलेका शब्दको व्युत्पत्ति गर्ने कामको थालनी राल्फ लिलि टर्नर (वि.सं. १९४५–२०४०)को वि.सं. १९८७ मा प्रकाशित ‘अ कम्पेर्एटिभ् यान्ड् एट्इमलज्इक्ल् डिक्शनरि अप्m द नेपाली ल्याङ्ग्विज्’ अर्थात् ‘नेपाली भाषाको तुलनात्मक र व्युत्पत्तिमूलक कोष’ (रूट्लेज यान्ड केगन पल, लन्डन, ई.सं. १९३१)बाट भयो भनी भन्दा त्यति अत्युक्ति नहोला। देवीदत्त पराजुली (वि.सं. १९३०–२०१०)बाट पनि नेपाली भाषाको कोषको विषयमा निकै काम भएको थियो। राममणि आचार्य दीक्षित (वि.सं. १९३९–२०२८)को लेखाइअनुसार वि.सं. १९८४ सम्म देवीदत्त पराजुलीको कोषमा १३ हजार चानचुन शब्दसंग्रह भइसकेको थियो (केशव मणि आचार्य दीक्षितद्वारा सम्पादित ‘पुराना संझना’, नलिनी देवी आचार्य दीक्षित, काठमाडौँ, २०२९, १३ पृ.)।

राल्फ लिलि टर्नरको कोष छाप्न श्री ३ चन्द्र (वि.सं. १९२०–१९८६, शासनकाल वि.सं. १९५८–१९८६)ले पैसा दिएका थिए। यो कुरा राल्फ लिलि टर्नरले आफ्नो त्यही कोषको प्रस्तावनामा कृतज्ञताज्ञापन गरी लेखेका छन् (‘अ कम्पेर्एटिभ् यान्ड् एट्इमलज्इक्ल् डिक्शनरि अफ् द नेपाली ल्याङ्ग्विज्’, भित्री मुखपृष्ठ, ‘प्रिफेस्’, ८ पृ.)। त्यो कोष छाप्न श्री ३ चन्द्रबाट उनले कं.रु. अर्थात् अहिलेको भाषामा भा.रु. ८२ हजार पाएका थिए भनी राममणि आचार्य दीक्षितले लेखेका छन् (केशव मणि आचार्य दीक्षितको ‘सम्झनाको बाटोमा’, गिरीश मणि आ. दीक्षित, काठमाडौँ, २०४३, १३० पृ.मा राममणि आचार्य दीक्षितको ‘मणि खलकको कथा र संस्मरण’बाट उद्धृत)। राल्फ लिलि टर्नरले कोष छाप्न पैसा पाएको थाहा पाएर  आफूले पनि त्यस्तै कोष छपाउन पैसा पाउँछु कि भन्ने आसले देवीदत्त पराजुलीले श्री ३ चन्द्रकहाँ बिन्ती चढाएछन्। यी पण्डितको घरखेत राखी पैसा दिनू भनी श्री ३ चन्द्रले आफ्ना कर्मचारीलाई अह्राउँदा धितो राखी सापटी लिने हो भने त महाराजकहाँ कराउन किन आउनुपथ्र्यो भनी उनले जवाफ दिएका थिए भन्ने पनि सुनिएको हो। यसैले होला, वि.सं. १९८४ मा देवीदत्त पराजुलीको कोषको विषयमा राममणि आचार्य दीक्षितले उनीसँग कुरा गर्दा देवीदत्तले ‘त्यति अव यसकार्य प्रति अभिरुचि पनी न राखनू भएको जसतो लाग्यो’ (‘पुराना संझना’, १३ पृ.) भनी राममणिले लेखेको।

देवीदत्त पराजुली परलोक भएपछि उनका पुस्तक उनका चेला दिव्यवज्र वज्राचार्य (वि.सं. १९७६–२०५६)कहाँ ल्याइँदा त्यस कोषका पाना पनि त्यहीँ आइपुगे। हाम्रो पाठशाला दिव्यवज्र वज्राचार्यकै बगैँचामा ठड्याइएको एउटा सानो घरको भुइँतलामा थियो र ती पुस्तक पनि त्यहीँ भित्तामा ठोकिएको दराजमा राखिएका थिए। त्यस कोषका पानाचाहिँ सानो झ्यालको आटमा राखिएका थिए। खाने पानीको घैँटो त्यही झ्यालमुनि राखिने हुनाले पानी खान जाँदा त्यस कोषका पानाको दर्शन वारंवार हुन्थ्यो। त्यो कोष निकै काम लाग्ने रहेछ भन्ने कुरा कालान्तरमा बुझ्ने भएपछि त्यस कोषका केही पाना हेर्दा त्यो कोष शास्त्रीय उद्धरणसहितको थियो भत्रे सम्झना अहिले आउँछ। तर त्यस वेलासम्म ती पानामध्ये केही हराइसकेको जस्तो मलाई लाग्न थालेको थियो। त्यो ठाउँ हामीले छोडेको ५० वर्ष पुग्न तीन वर्ष मात्र बाँकी रहेकोले दिव्यवज्र वज्राचार्यको मिल्कियतमा रहेका त्यहाँका पुस्तकपात्रा कुन अवस्थामा छन् भनी भन्न म सक्दिनँ।

राममणि आचार्य दीक्षितले ‘मणिकोश’को नाउँले नेपाली भाषाको विस्तीर्ण कोष बनाएको कुरा छात्रावस्थादेखि नै सुन्दै आएको हुँ। उनले र उनका कान्छा छोरा केशवमणि आ.दी.(वि.सं. १९९२ मा जन्म)ले त्यस कोषको विषयमा लेखेको कुरा पनि पढेको छु। झण्डै ५ लाख शब्द भएको त्यो कोष छाप्न थुप्रै खर्च लाग्ने भएकोले एकेडेमीबाट छापियोस् भनी कोषकारले एकेडेमीका चान्सलर श्री ५ महेन्द्र (वि.सं. १९७७–२०२८)लाई वि.सं. २०१८ वैशाख १ गते बिन्तीपत्र हालेका रहेछन्, त्यसको लागि ‘मणिकोश’को नामै फेरी ‘महेन्द्रकोश’ राख्नसम्म पनि कोषकार तयार थिए, त्यसो गर्दा पनि केही नलागेको, उल्टो त्यस कोषको विषयवस्तु चोरिने डर भएकोले विवश भई कोष आपैmँकहाँ फिर्ता ल्याउनुप¥यो भन्ने कुरा उनको आत्मकथाबाट र उनका कान्छा छोराको लेखाइबाट थाहा हुन्छ (‘पुराना संझना’, १५–१६, १६३–१६५ पृ.; केशवमणि आ. दीक्षित, ‘हिजो र आज’, गिरीशमणि आ. दीक्षित, काठमाडौँ, २०६०, ग–घ पृ.)। त्यो कोष बढाई करीब करीब डेढ लाख शब्द पु¥याउने विचार उनका कान्छा छोराको रहेछ भत्रे कुरा पनि उनको आत्मकथाबाट थाहा हुन्छ (‘पुराना संझना’, १५–१६ पृ.)। अहिलेसम्म पनि अप्रकाशित अवस्थामै रहेको त्यो कोष उनका कान्छा छोराले हिफाजतसाथ राखेको सुन्ने गरिएको छ।

सम्पन्न भाषाहरूमा व्युत्पत्तिमूलक कोष मात्र होइन, फलानो शब्द यस भाषामा यति सालदेखि चल्यो भन्ने कुरासमेत त्यस्तो कोषमा लेखिएको देखिन्छ। नेपालीसमेतका हाम्रा भाषामा हाम्रो आफ्नै पुरुषसम्पद् अर्थात् जनशक्तिद्वारा यस्तो कोषको कल्पना गर्नु आकाशकुसुमभन्दा बढी होइन भन्ने कुरा बजारमा आएका गतिछाडा कोषहरूबाट स्पष्ट हुन्छ। यस्तो हुँदा हुँदै पनि स्थाननामको विषयमा एकलो मानिसले गरेको प्रयास कृष्णप्रकाश श्रेष्ठ (वि.सं. १९९५ मा जन्म)को ‘स्थाननामकोश’ (१ संस्करण, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ, २०४४; २ संस्करण, हिमाल किताब, काठमाडौँ, २०६७)मा मूर्त छ भनी भन्नैपर्छ। त्यसको पहिलो संस्करणमा ‘लाजिम्पाट’को व्युत्पत्ति संस्कृत ‘राजपट्टन’बाट गरिएको छ (‘लाजिम्पाट’ हेर्नू) त दोस्रो संस्करणमा चाहिँ २ थरी व्युत्पत्ति दिइएकोमा पहिलो पुरानो संस्करणमा जस्तै ‘राजपट्टन’बाट र दोस्रोचाहिँ अङ्ग्रेजीको ‘लोजिङ पार्ट’बाट गरिएको छ (‘लाजिमपाट/लाजिम्पाट’ हेर्नू)।

राजपत्तनको अपभ्रंश भई ‘लाजिमपाट’ कहलिएको हो’ (‘लिच्छविकालका अभिलेख’, नेपाल र एशियाली अध्ययनसंस्थान, काठमाडौँ, २०३०, ३२४ पृ.) भनी धनवज्र वज्राचार्य (वि.सं. १९८८–२०५१)ले लेखेको कुराको खण्डन गर्दै ब्रिटिश रेजिडेन्सीको ‘लजिङ् पार्ट्को हालैको अपभ्रष्ट रूप लाजिम्पाट भएकोले लाजिम्पाट राजपत्तनबाट आउँछ भन्ने धनवज्र वज्राचार्यको भनाइ पूरै निराधार छ’ (‘दि एन्शेन्ट् सेटल्मेन्ट्स् अफ् द काठ्मान्डू भ्याल्इ’, नेपाल र एशियाली अनुसन्धानकेन्द्र, काठमाडौँ, ई.सं. २००१, १११ पृ.बाट मेरो उल्था) भनी सुदर्शनराज तिवारीले लेखेको कुराको आधारमा कृष्णप्रकाश श्रेष्ठले दोस्रो व्युत्पत्ति गरेको देखिन गएको छ।

सुदर्शनराज तिवारीले गरेको ‘लाजिम्पाट’को यही व्युत्पत्ति कमल दीक्षित (वि.सं. १९८६–२०७३)ले सकारेको कुरा उनको तलको वाक्यबाट स्पष्ट हुन्छ– ‘अचेल हामी जेलाई ‘लाजिम्पाट’ भन्दछौं त्यसलाई १९०० सालतिर अंग्रेजीमा ‘लजिङ्ग पार्ट’ भनिँदोरहेछ। अथवा भनूँ, त्यस गाउँलाई ब्रिटिश लिगेसनमा बस्ने ‘साहेबहरू’ ले आफ्ना कामदार, काम गर्ने नेपालीहरू बस्ने ठाउँका अर्थमा त्यसो भन्दारहेछन्।

अंग्रेजीको ‘लजिङ्ग’लाई ‘लाजिम’ र ‘पार्ट’लाई ‘पाट’ बनाए नेपालीहरूले’ (‘मजलिसको आँखा–१०’, ‘हिमाल’ साप्ताहिक खबरपत्रिका, २०७१।११।२४–३०, १४ पृ.)। सुदर्शनराज तिवारीले गरेको ‘लाजिम्पाट’को व्युत्पत्ति सौरभ (वि.सं. २०१५ मा जन्म)ले सकारेको कुरा ‘लाजिम्पाट नाम नै ती कामदारहरू बस्ने ‘लजिङ पार्ट’बाट बनेको हो’ (‘असङ्गति’, बुक हिल, काठमाडौँ, २०७४, ६९ पृ.) भनी उनले लेखेकोबाट बुझिन्छ।

हालै भएको एउटा सभामा ‘संस्कृतको ‘राजपत्तन’ (राजधानी) अपभ्रंश भएर लाजिम्पाट भएको रहेछ’ भनी सत्यमोहन जोशी (वि.सं. १९७७ मा जन्म)ले बोलेको कुरा अखबारमा आएको छ (‘जोडिंदै संस्कृत साइनो’, ‘कान्तिपुर’ २०७५।१२।६।४, ५ पृ.)। सत्यमोहन जोशीले ‘राजपत्तन’बाट ‘लाजिम्पाट’ भएको भनी बोलेको कुरा अखबारमा छापिएको पर्सिपल्टै त्यही अखबारमा प्रेम सिंह बस्न्यात यस्तो लेख्न पुगे— ‘बुधबार कान्तिपुरमा प्रकाशित ‘जोडिंदै संस्कृति र साइनो’ शीर्षक समाचारमा संस्कृतिविद् सत्यमोहन जोशीले गर्नुभएको ‘राजपत्तन’बाट अपभ्रंश भई ‘लाजिम्पाट’ बनेको दावीमा मेरो असहमति छ। खासमा लाजिम्पाट ‘लाजिम’ र ‘पट’ मिलेर बनेको हो। ‘लाजिम’ भनेको ‘राजा’ र ‘पट’ भनेको ‘दरबार’ हो। किरातकालमा ‘राजदरबार’ बुझाउन ‘लाजिमपट’ भन्दाभन्दै कालान्तरमा लाजिम्पाट भएको हो’ (‘जोशीको दावीमा असहमति’, ‘कान्तिपुर’, २०७५।१२।८।६, ६ पृ.)।

‘लाजिम्पाट’ शब्द त मैले पुराना अभिलेखमा देखेको छैन, ‘राजनपात’ भने ने.सं. ६०४ तदनुसार वि.सं १५४१ चैत्रकृष्णसप्तमीको लिखतमा आएको मैले देखेको छु (महेशराज पन्त, सहायक रोशनी श्रेष्ठ, ‘ने.सं. ५९३ (वि.सं. १५३०)देखि ने.सं. ६२८ (वि.सं. १५५५)सम्मका, अहिलेसम्म प्रकाशमा नआएका, ताडपत्रका ७ वटा लिखत’, ‘पूर्णिमा’ १४४ पूर्णाङ्क, २००–२०१ पृ.)। नकारान्त ‘राजन्’ शब्द र ‘पत्तन’ शब्दको समास हुँदा पूर्वपदको ‘न्’को लोप भई बनेको ‘राजपत्तन’ ‘राजनपात’ हुँदै ‘लाजिम्पाट’ भएको देखिन्छ।

खुलाएर भन्दा, वि.सं. १५४१ को लिखतमा नकारान्त ‘राजन्’ शब्दको अपभ्रष्ट रूप अर्थात् ‘राजन’ नै पूर्वपदमा कायम रहेको र उत्तरपद ‘पत्तन’मा चाहिँ एउटा ‘त्’को लोप भई अघिल्तिरको स्वरवर्ण दीर्घ भएको र अन्त्यको ‘न’को पनि लोप भएको देखिन्छ। ‘र’ को उच्चारण ‘ल’ हुन जाने चलनअनुसार कालान्तरमा ‘ल’ भई लामो अवधिमा पूर्वपदमा भारी परिवर्तन भएको देखिन्छ। वि.सं. १५४१ मै ‘पत्तन’को ‘न’को लोप भइसकेको माथि चर्चित लिखतबाट स्पष्ट भएकोले र नेवारीको दन्त्य वर्णको उच्चारण प्रायः मूर्धन्य गरिने हुनाले धनवज्र वज्राचार्यको व्युत्पत्ति पुष्ट गर्न सकिन्छ। त्यसैको अनुसरण सत्यमोहन जोशीले गरेकोमा शङ्का उठाउनुपर्दैन। यस कारण अङ्ग्रेजी ‘लजिङ् पाटर््’बाट ‘लाजिमपाट’ बनेको हो भनी सुदर्शनराज तिवारीले लेखेको र किरातकालमा ‘राजा’लाई ‘लाजिम’ र ‘दरबार’लाई ‘पट’ भनिन्थ्यो भनी प्रेम सिंह बस्न्यातले लेखेको कुरा प्रमाणकोटिमा लेश मात्र पनि चढ्दैन।

‘अंग्रेजहरूको आगमनसँगै ‘लङ (लामो) चौर’बाट लैनचौर बनेको पनि उनैले खुलाए’ भनी त्यही सभाको खबरमा सत्यमोहन जोशीले बोलेको प्रसंगमा आएको छ। यसको जवाफमा प्रेम सिंह बस्न्यातले लेखेको कुरा पठनीय छ—

‘लङचौर’बाट अपभ्रंश भई ‘लैनचौर’ बनेको दावीमा मेरो असहमति छ। सेनाका ब्यारेकहरूलाई अहिले पनि ‘लाइन’ भनिन्छ। प्रधानमन्त्री जंगबहादुर राणाले भण्डारखाल पर्वपछि आफ्ना विरुद्ध लागे भनेर श्रीपाली बस्न्यात परिवारका रने (बाङये) बस्न्यातका सन्तानको जग्गा खोसेर अंग्रेज कूटनीतिक मिसनलाई बसोबासका लागि दिए। त्यसपछि त्यहाँ ब्रिटिसहरूलाई सुरक्षा दिन आर्मी ब्यारेक अर्थात् ‘लाइन’ बन्यो। त्यही चौरमा बनेको ब्यारेक (लाइन) का कारण ‘लाइनचौर’ भन्न थालियो र त्यहीपछि ‘लैनचौर’ भएको हो।’

प्रेम सिंह बस्न्यातको यस भनाइको पुष्टिको लागि अङ्ग्रेजी भाषाका कोष अघि सार्न सकिन्छ। ‘लाइन्ज’ले ‘सैन्यक्षेत्र’ बुझाउँछ भन्ने कुरा ती कोषबाट थाहा हुन्छ। राल्फ लिलि टर्नरले आफ्नो नेपाली कोषमा ‘लैन्’को अर्थ गर्दा यस शब्दलाई अङ्ग्रेजीको ‘लाइन्’ शब्दबाट आएको भनी लेखेको पनि यस प्रसंगमा स्मरणीय छ (‘अ कम्पेर्एटिभ् यान्ड् एट्इमलज्इक्ल् डिक्शनरि अफ् द नेपाली ल्याङ्ग्विज्’मा ‘लैन्’ हेर्नू)।

‘लैन’को अर्थ गर्न बस्दा सबभन्दा उपयोगी त वि.सं. १९४० देखि १९४४ सम्म काठमाडौँको ब्रिटिश रेजिडेन्सीमा डाक्टर भई बसेका जी.एच.डी. गिम्लेटले नेपालको विषयमा र आफ्नो नेपालप्रवासको विषयमा लेखेको पुस्तक हो। त्यहाँ उनी एक ठाउँमा यस्तो लेख्छन्—

‘खोँचको ब्याँसीमा रहेको गाउँमा थानकोटमा मैले च्यान्टे घोडा भेट्टाएँ र त्यो घोडा काठमाडौँतर्पm लाग्ने राम्रो बाटोमा छिटो छिटो हिँड्दै थियो। त्यस च्यान्टे घोडालाई बाटो थाहा भएको जस्तो लाग्यो र आफू जान खोजेको बाटोतिर ऊ पस्यो। त्यस बेला साँझ परिसकेकोले काठमाडौँको सौन्दर्य धेरै नदेखिए पनि प्यागोडा जस्ता घर मन्द प्रकाशमा अनौठा र आकर्षक देखिए। मैले पूर्वका कुनै पनि ठाउँमा अहिलेसम्म झेलेकाभन्दा बढी नै दुर्गन्धले गर्दा अँध्यारो हुँदा हुँदै पनि मेरो दृष्टि तानियो। ‘लाइन्ज’ भन्ने नाउँबाट रेजिडेन्सी सधैँ चिनिने हुनाले लाइन्ज जाने बाटो सोध्दा हिन्दुस्तानी बुझ्ने वा मुलुकको तल्लो हिस्सामा बस्ने केही बटुवाहरूबाट मैले जवाफ पाउन सकेँ। साँघुरा सडक र गल्लीको जालो पार गरिसकेपछि म खुला सडकमा पुगेँ र छिटै रेजिडेन्सीमा आइपुगेँ। जसको ठाउँमा म खटिएको हुँ, तिनै डा. जेम्ज ब्राउनले त्यहाँ मलाई उदार भावले स्वागत गरे।’ (‘नेपाल् यान्ड् द नेपालीज्’ २ आवृत्ति, अनमोल पब्लिकेशन्ज, नयाँ दिल्ली, ई.सं. १९९३, १२७–१२८ बाट मेरो उल्था)

गिम्लेटको यस लेखाइबाट ब्रिटिश रेजिडेन्सी ‘लाइन्ज’ भन्ने नाउँले चिनिँदो रहेछ भन्ने बुझिन्छ। गिम्लेटको यस पुस्तकमा ४२ साल पर्व हुँदा रेजिडेन्सीमा शरण पर्न आएकाहरूको सन्दर्भमा पनि यस शब्दको प्रयोग भएको छ (उही, १७४, १८१ पृ.)। ब्रिटिश रेजिडेन्सीलाई तात्कालिक नेपाली मसीजीवी चिरञ्जीवी शर्मा पौड्याल (वि.सं. १९२४–१९९७)ले (‘आफ्नु–कथा’, विद्यादेवी आ.दी., २०१४, १३ पृ.) र राणाजीका दरबारिया काशीनाथ आचार्य दीक्षित (वि.सं. १९१७–१९९४)ले (नरेन्द्रमणि आचार्य दीक्षितद्वारा सम्पादित, काशीनाथ आचार्य दीक्षितको ‘भएका कुरा’, काठमाडौँ, २०३१, २४, २५ पृ.) ‘लैन’ भन्ने गरेको कुराको सम्झना पनि यस प्रसंगमा हुन्छ।

यस कारण सत्यमोहन जोशीले गरेको ‘लैन’ शब्दको व्युत्पत्ति पूरै बेठीक र प्रेम सिंह बस्न्यातको चाहिँ ठीक छ भन्ने यतासम्मका कुराबाट स्पष्ट हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.