प्रचण्डको अमेरिका मोह

प्रचण्डको अमेरिका मोह

दल एकीकृत गरेर निर्वाचित शक्तिशाली अध्यक्ष बन्ने अवसरमा दाहालको चासो र रुचि देखिँदैन


डोटेली भाषामा एउटा उखान छ– औरले ब्या अर्यो रे क्येई नै, जोगीले ब्या अर्यो रे भेस्यो । अर्थात् अरूले बिहे गर्दा केही नहुने, जोगीले बिहे गर्दा होहल्ला । प्रति वर्ष हजारौं नेपालीले अमेरिका आवत–जावत गर्छन् तर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक मानवीय संकटको बेलामा गरेको अमेरिका यात्रामा दानवीय होहल्ला भयो । एक कट्टर राजनीतिक प्राणी भएकाले पारिवारिक पीडाको बेलामा पनि दाहालले दया र क्षमा उचित मात्रामा प्राप्त गर्न सकेनन् ।

विद्रोहपश्चात् उनले आफ्नो लोकप्रियता कायम गर्न नसक्नु यसको प्रमुख कारण हो । विद्रोहको बखतका अनेक मुद्दामा शंकाको लाभ दिन सकिन्छ तर बोलाइ र गराइको भिन्नतामा, सैद्धान्तिक विचलनमा र अपारदर्शिक आम्दानीमा शंकाको लाभ दिन सकिन्न । जुन साम्राज्यवादलाई मुर्दावाद भनेर लाखौं जनतामाझ नारा घन्काइएको थियो त्यसैलाई जिन्दावाद भनेपछि र सुदामा कुबेरमा परिणत भएपछि चर्चा र होहल्ला हुने नै भयो ।

पूर्वप्रधानमन्त्रीकि पत्नीको स्वास्थ्यको उपचार नागरिकका लागि चासोको विषय हो । यो एक मानवीय संवेदना प्रकट गर्ने बेला पनि हो । दाहालको अमेरिका भ्रमण विवादित हुनुको एउटा कारण उनको राजनीतिक डक्ट्रिन हो । प्रचण्ड पथका निर्देशक प्रचण्डको राजनीतिक डक्ट्रिनमा शत्रु मानिएको देश अमेरिका एक पुँजीवादी अर्थतन्त्र हो ।

सर्वहारा वर्गको अधिनायकवाद र समानताका लागि प्रचण्डले एक हिंस्रक आन्दोलनको नेतृत्व गरेका थिए । एक सर्वहारा कम्युनिस्ट नेताले आफ्ना प्रेरणाका स्रोतहरू जस्तै क्युबा, उत्तरकोरिया वा भेनेजुएलामा उपचार गर्न गएको भए त्यो सस्तोमा वा निःशुल्कसमेत हुन सक्थ्यो । चिकित्सा विधेयकको औचित्य सिद्ध गर्न नेताहरूले दुर्गा प्रसाईंको अस्पतालमा उपचार गर्न सक्थे । समानता सैद्धान्तिक नारा हुनेका लागि भरतपुर वा वीर अस्पताल उपयुक्त हुन्थे । अमेरिकालाई शत्रु मान्ने सोचले कसरी हावा खायो ? त्यसैले सैद्धान्तिक नारा प्रचण्डका देखाउने दाँत मात्र थिए । उनको हालको आर्थिक हैसियत, कांग्रेससँगको सत्ता सहकार्य र ओलीसँगको एकताले पनि यसको पुष्टि गर्छ । भयावह प्रचण्डबाट उनी दाहालमा परिणत भए तर उनले भयबाट मुक्ति पाएनन् । त्यसैले उपचारका लागि अमेरिका नै रोजाइमा पर्नुको प्रमुख कारण राजनीति हो ।

भेनेजुएला प्रकरणमा उनले अमेरिकाको आलोचना गरेर अमेरिकाबाटै पुरष्कृत भएपश्चात् उनको सुरक्षित तवरले अमेरिका जाने मार्गप्रशस्त भयो । दाहालले भेनेजुएलाको उपयोग मात्र गरेका हुन् । उनका पूर्वदौंतरी बाबुराम भट्टराईले कम्युनिस्टको हावादारी बयानबाजीबाट समृद्धि नहुने निष्कर्षसहित कम्युनिस्टको त्याग गरेर अमेरिका र युरोप घुमिसकेका छन् । कांग्रेसलाई प्रमुख शत्रु मान्ने भट्टराई कांग्रेसको सहयोगले निर्वाचित भएर, दौरा–सुरुवालको भेषभूषामा सजिएर अहिले अमेरिका र युरोपबाट सिक्नुपर्ने भन्न थालेका छन् । भट्टराई र दाहाल दुवै मार्क्सवादी हुन् । मार्क्सको कम्युनिस्ट घोषणापत्रसहित अनेक दार्शनिक, आर्थिक र राजनीतिक दस्ताबेजको व्याख्या आआफ्नै ढंगले गरेर संसारमा मार्क्सवादका नाममा थुप्रै राजनीतिक परिवर्तन भए ।

लेनिन र माओको क्रान्तिले कम्युनिस्ट आन्दोलनलाई एक थप उचाइ दियो तर आर्थिक समृद्धि लेनिन र माओले समेत गर्न सकेनन् । मार्क्सवादीले क्रान्तिकारी वाक्यांशको उपयोग मात्र गरेको देखेर मार्क्सले भनेका थिए– ती मार्क्सवादी हुन् भने म स्वयं मार्क्सवादी होइन ।’ मार्क्स जीवित भएका भए अहिले दाहाल, ओली, भट्टराई, वैद्य आदिलाई के उनले मार्क्सवादी भन्ने थिए ? यो एक मनोगत प्रश्न हो तर नेपालका कम्युनिस्ट नेताको मार्क्सवादप्रतिको बुझाइमा प्रश्न गर्ने प्रशस्त ठाउँ छन् । अमेरिकालाई शत्रु मान्नु एक उपयोगितावाद थियो, अहिले मित्र मान्नु एक अवसरवाद हो । त्यसैले दाहालजस्ता कम्युनिस्ट नेताले उपचारको लागि अमेरिका नै रोज्नुको कारणको विश्लेषण नेपालका वाम बुद्धिजीवीले गरेमा त्यो बढी अर्थपूर्ण र पूर्वाग्रहरहित हुनेछ ।

अब खुला समाजमा देश प्रवेश गरिसकेकाले केही सान्दर्भिक प्रश्नहरू कम्युनिस्ट नेतासमक्ष नेपाली जनताले राख्नैपर्ने हुन्छ । अमेरिकाबाट सिक्नुपर्ने केही छ वा केही छैन ? अमेरिकामा उल्लेख्य आर्थिक प्रगति भएको छ वा छैन ? अमेरिका लोकतान्त्रिक मुलुक हो वा होइन ? कम्युनिस्टका लागि शत्रु आवश्यक हो वा शत्रुविना पनि कम्युनिस्ट बन्न सकिन्छ ? अमेरिका नेपालको मित्रराष्ट्र हो वा शत्रु राष्ट्र ? अमेरिकाप्रति कम्युनिस्ट नेताहरूको अस्पष्टता दाहालको अमेरिका भ्रमणलाई विवादित बनाउने अर्को कारण हो । अमेरिकालाई शत्रु भन्न सिकाइएका कतिपय नेपाली नागरिक अहिले अमेरिकामा व्यवसाय, पेसा, अध्यापन र अनुसन्धान गर्दैछन् । माओवादी युद्धका बेला युद्धरत दुवै पक्षका कतिपय पीडितले अमेरिकामा शरणार्थीका रूपमा ग्रिनकार्ड प्राप्त गरेका छन् ।

अमेरिकाको डीभी आवेदनको सूचना नेपालका छापाहरूले समाचारका रूपमा प्रकाशित गरेकोबाट अमेरिकाप्रतिको नेपालीको आकर्षण छर्लंगै हुन्छ । नेपालको रेमिट्यान्सको एक ठूलो हिस्सा अमेरिकाबाट प्राप्त हुन्छ । आर्थिक पारदर्शिताको अभाव दाहाल भ्रमणको अनावश्यक हल्लाको अर्को कारण हो । समाजवादी मुलुकमा सरकारले स्वास्थ्य सेवामा अनुदान दिने गरेकाले त्यहाँ स्वास्थ्य उपचार तुलनात्मक रूपमा महँगो हुँदैन ।

पुँजीवादी अर्थतन्त्रको स्वास्थ्य सेवा महँगो हुन्छ । अमेरिका स्वास्थ्योपचारका लागि सर्वाधिक महँगो देश हो । उदाहरणका लागि नेपालमा छातीको प्रति एक्सरे खर्च करिब ६५० रुपैयाँ पर्छ भने अमेरिकामा २०० देखि ४०० अमेरिकी डलर (नेपाली २२ हजारदेखि ४४ हजार रुपैयाँ) सम्म पर्छ । अमेरिकामा स्वास्थ्योपचार अमेरिकी नागरिकका लागिसमेत ठूलो समस्याका रूपमा रहेको छ । त्यसैले अमेरिकाको प्रत्येक निर्वाचनमा जनताको स्वास्थ्य बिमा एक प्रमुख राजनीतिक मुद्दाका रूपमा देखिन्छ ।

अमेरिकी नागरिक स्वास्थ्योपचारका लागि क्यानाडा वा कहिलेकाहीं भारत पनि जाने गरेका छन् । चिकित्सा पद्धति सस्तो भएकाले भारतले चिकित्सा पर्यटनबाट मात्र करिब ३ अर्ब डलरको वार्षिक आम्दानी गर्छ । अमेरिकामा बस्ने नेपाली नागरिकले नेपालमा उपलब्ध हुने सुलभ स्वास्थ्य सेवाको लाभ लिने गरेका छन् । त्यसैले नेपाली नागरिकले अमेरिकामा स्वास्थ्योपचार प्राप्त गर्नु एक खुसीको समाचार हो तर सार्वजनिक पदमा बस्नेका लागि आर्थिक मुहानको स्पष्टता अति आवश्यक हुन्छ ।

पंक्तिकारको एक निजी अनुभव यहाँ उपयुक्त हुन्छ । केही समयअघि पंक्तिकारको नानीको पैतालाको हड्डीमा एक सानो संक्रमण देखियो र अस्पताल भर्ना गर्नुप¥यो । चिकित्सकले अनेक जाँच गरेपश्चात् एउटा सानो शल्यक्रिया गर्नुपर्ने भयो र चार दिन अस्पतालमा राखियो । एक महिनापछि अस्पतालले उक्त सेवाका लागि करिब ५५ हजार अमेरिकी डलरको बिल पठायो । एक सामान्य खटिराको उपचारका लागि यस्तो महँगो सेवा संसारका कुनै पनि मुलुकमा हुँदैन । पंक्तिकारको स्वास्थ्य बिमाले त्यसको करिब ८० प्रतिशत खर्च बेहोथ्र्यो । त्यो स्वास्थ्य बिमाको सुविधा अमेरिकामा रोजगारदाताले कामदारलाई उपलब्ध गराउँछ । अमेरिकाको आलोचनमा जीवन समर्पण गरेका मार्क्सवादका विद्वान्ले कर्मचारीका लागि यति मात्र गरेर पनि आर्थिक क्रान्तिको शंखनाद आजै गर्न सकिन्छ ।

नेपालका धनवान् व्यक्तिलाई समेत अमेरिकामा उपचार गराउन अमेरिकी डलरको आवश्यकता पर्छ । नेपाल राष्ट्र बैंकले सीमित मात्रामा अमेरिकी डलर त्यस्ता व्यक्तिलाई उपलब्ध गराउँछ । दाहालको अमेरिका भ्रमणको खर्च एक लाख डलर मात्र भए पनि त्यो राष्ट्रबैंकले उपलब्ध कसरी गराउँछ ? के एक सामान्य नागरिकलाई समेत राष्ट्रबैंकले त्यो सुविधा दिन्छ ? राष्ट्रबैंकले अमेरिकी डलरको प्रबन्ध गर्दा दाहालको आम्दानीको स्रोत खोज्दैन ? सिंगापुर, दिल्ली र अमेरिकामा स्वास्थ्योपचार गराउन आम्दानीको स्रोत खुल्नु पर्दैन ? नागरिकले सरकारलाई तिरेको करको रसिदबाट उसको आम्दानीको स्तर र स्रोत स्पष्ट हुन्छ । त्यो नहेरी राष्ट्रबैंकले कर नतिरेको आम्दानी विदेश लैजान अनुमति कसरी दिन्छ ? रह्यो कसैले उनलाई आर्थिक सहयोग गरेको हुन सक्ने अनुमान ।

अब ती व्यक्तिको आर्थिक हैसियत, सहयोग गर्नुको उद्देश्य र तिनलाई सहजै राष्ट्रबैंकले डलर उपलब्ध गराइदिनुको कारण के हो ? तिनले कर तिरेको हेरिन्छ कि हेरिँदैन ? अकूत सम्पत्तिको नाममा ससाना कर्मचारी समातिएका छन् तर स्वास्थ्योपचारमा लागेको खर्च के अकूत सम्पत्ति होइन ? जननेता दाहाल अहिले ५ दर्जन प्रहरीको घेरामा यात्रा गर्छन् । त्यसैले क्रूद्ध बुद्धिजीवीले लेख्ने बेलामा मज्जाले आक्रोश पोख्दा कहिलेकाहीं मानवीय घेरा नाघिन्छ ।

पत्रकारलाई धम्क्याएर ठीक पार्ने अरौटेहरूको घेराभित्रबाट मनोरञ्जन गर्नुभन्दा आरोप र आलोचनाको तथ्यगत र बौद्धिक निवारण गर्नु लोकतन्त्रमा हितकारी हुन्छ । दाहालले नेतृत्व गरेको हजारौं जनताको आन्दोलनले पूर्णता पाएको छैन । क्षमताअनुसारको काम र आवश्यकताअनुसारको माम साम्यवादी आन्दोलनको लक्ष्य हो । वर्गहीन समतावादी समाज निर्माण गर्ने आन्दोलनका क्रममा १७ हजार नेपालीले ज्यान गुमाए । हजारौं विस्थापित भए, घाइते भए । तर आफ्नै आयस्रोत नभएका एक सर्वहारा आन्दोलनका पूर्णकालीन राजनीतिक कार्यकर्ता दाहाल अमेरिका र सिंगापुरमा स्वास्थ्योपचार गराउन समर्थ भए । त्यसैले समानता, वर्गहीनता वा साम्यवाद दाहालको सत्तामा पुग्ने उपयोगिता मात्र थियो । जुन दलका नेतालाई उनले शत्रु मानेर सफाया गरेका थिए, अहिले त्यही दलका उनी अध्यक्ष बनेका छन् । साम्यवाद ल्याउन हिँडेको नेताले अमेरिकाको यात्रा गर्नु नै द्वैधचरित्रको उदाहरण हो ।

स्थानीय निर्वाचनको परिणामपछि खड्गप्रसाद ओलीले एउटा अवसर देखे र एउटा जोखिम मोले । सम्भवतः ओलीसँग दाहाललाई साइजमा राख्ने योजना र सामथ्र्य पनि होला । ओलीको हातबाट नेकपाको तालासाँचो फुत्केको दिनमा एमालेले देख्ने छ– दाहालको चमत्कार, असली रूप । आफ्नो ज्यान जोखिममा राखेर सहकार्य गर्ने योद्धालाई सजिलै पाखा लगाउन सक्ने दाहालले माधव, भीम, वामदेव, झलनाथ, विष्णु, ईश्वर आदिलाई कामरेड मान्नुपर्ने कुनै कारण छैन ।

त्यसैले दाहालको नेतृत्वमा नेकपाका एक ढिक्का रहन सक्नेमा विश्वसनीय आधार छैनन् । दाहाललाई अध्यक्ष नबनाइँदा हुने दुर्घटना लेखिरहनु परेन । दल एकीकृत गरेर निर्वाचित शक्तिशाली अध्यक्ष बन्ने अवसरमा दाहालको चासो र रुचि देखिँदैन । दाहालको एउटा लचकता पनि छ । त्यो हो– सम्झौता । भेनेजुएला प्रकरण र अमेरिकाको मेजमानी यसको ताजा उदाहरण हो । दाहालले धेरैलाई धेरै धोका दिएका छन् । धोका खाने अग्रपंक्तिमा अब ओली छन् । भारत र चीनको भ्रमणपछि अमेरिकासँग दाहालको हिमचिमको उद्देश्य त्यही हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.