कुची बोकी मनमौजी हिँड्ने चित्रकार

कुची बोकी मनमौजी हिँड्ने चित्रकार

काठमाडौं : जब दुःखी गरिब असहायहरू बिचल्ली परेको दृश्य देख्छन्, उनलाई छटपटी हुन्छ । कतिबेला कुची समाएर दृश्यलाई चित्रमा उतारु जस्तो लाग्छ । सामाजिक विभेद र कुसंस्कारविरुद्ध आफ्ना चित्रले आवाज उठाओस् भन्ने लाग्छ कलाकार मुकेश महतोलाई ।

वीरगन्ज घडीअर्वा पोखरीछेउका रैथाने हुन् महतो । पोखरी छेउछाउको सुन्दरता, कला र संस्कृतिको मादकता हेरेरै हुर्किएका हुन् । घरछेउका बाबुलाल पेन्टर थिए । बाबुलालले ट्रकमा पेन्टिङ गर्थे, थरीथरीका पोट्रेट, प्राकृतिक दृश्य र मायाका सिम्बोललाई ट्रकमा सजीव रूपमा उतार्थे उनी । मुकेश पनि बाबुलालले चित्र कोरेको हेरेर घण्टौं बिताउँथे । उनको जस्तै चित्र बनाउन मन लाग्थ्यो मुकेशलाई । घरमा आएर कपीमा स्केच कोर्थे । खुब ध्यान दिएर कोरिरहन्थे । उनले बनाएको चित्र सुन्दर हुन्थ्यो । उनलाई आफैंले बनाएको चित्र औधी मन पथ्र्यो ।

अघिल्लो हप्ता वीरगन्जमा तीनदिने कला महोत्सव सम्पन्न भएको थियो । महोत्सवकै दौरानमा भेटिएका हुन् मुकेश महतो । महोत्सवको पहिलो दिन अन्य कलाकारले माई मन्दिर, टाँगा, रिक्सा घण्टाघरको दृश्य चित्रमा उतारिरहँदा मुकेशले भने बडो अजीवको चित्रमा कुची चलाइरहेका थिए । माई मन्दिरपरिसरमा पलेँटी कसेर बसिरहेका उनी चित्रमा कुनै युवतीको खट्टामा रङ पोतिरहेका थिए । एउटा खुट्टाको औंलामा रातो मेहेन्दी, अलि माथि  पायल लगाइएको थियो । अर्को खुट्टामा स्कुल जाने मोजा लगाइएको थियो । ओहो कस्तो अचम्म, एकजोर खुट्टामा पनि फरकफरक शृंगार । एकापट्टिबाट हेर्दा बेहुलीको जस्तो खुट्टा अर्कोपट्टिबाट हेर्दा स्कुल जाने युवतीको खुट्टा ।

मरुभूमिजस्तो ठाउँमा सिउँडी उम्रिरहेका । युवतीको खुट्टालाई मोटो साङ्लोले बाँधिरहेको । समाजमा युवतीको पढ्ने चाहना र सानैमा बिहे गरिदिने सामाजिक परम्पराको संकेत गरेको थियो यो चित्रले । चित्रको अर्कोपट्टि विवाहमा दिइने दाइजोको कलेक्सन समेटिएको थियो । अन्य कलाकारले वीरगन्जको घण्टाघरलाई चित्रमा सजाउँदै गर्दा मुकेशलाई किन यस्तो चित्रले तान्यो त ?        

उनले आफू हुर्केको समाजमा दाइजो प्रथा र बालविवाहको प्रकोप नै देखेका छन् । छोरीहरूको सानैमा बिहे गरिदिने चलनले पढाइमा अब्बल र केही गर्न चाहने सयौ बालिका घरधन्दामै सीमित भएको देखेका छन् । यस्ता घटनाले उनलाई दुःखी बनाउथ्यो । भन्छन्, ‘कलाकार समाजको दर्पण हो । समाजमा जे छ त्यो देखाउनु उसको धर्म हो । हिजो भएका दृश्य आज नहुन सक्छ, भोलिका पिँढीलाई आजको दृश्य हस्तान्तरण गर्न चित्र उपयुक्त माध्यम हो ।’

कलाकारले चित्र बनाउने बेला दुनियाँको परवाह गर्न नहुने तर्क गर्छन् मुकेश । आफ्नो ब्रह्मले जे देख्यो, आफूलाई जुन घटनाले छोयो स्वतन्त्र रूपमा चित्रमा उतार्नुपर्नेमा उनको जोड छ । उनका चित्रमा प्रायजसो दाइजो प्रथा, चेलीबेटी बेचबिखन, बाल श्रम, प्रदूषण, छिनछिनमा बदलिरहने प्राकृतिक दृश्यहरूले स्थान पाउँछन् । भन्छन्, ‘मलाई मानवीय संवेदनासँग जोडिएका घटनाले बढी छुने गर्छ ।’

स्कुल पढ्दादेखि नै चित्र बनाउन थालेका मुकेशका चित्रमा वाटर कलर र एक्रेलिक कलरको समायोजन देख्न सकिन्छ । चित्रसँगै उनले विभिन्न प्रकारका मूर्ति पनि बनाछन् । उनको गाउँमा कलकत्ताबाट विनयपाल भन्ने मूर्तिकार आउँथे । उनले सरस्वतीको मूर्ति, विश्वकर्माको मूर्तिलगायत माटोका विभिन्न आकार प्रकारका मूर्ति बनाउथे । मुकेशले उनीसँग करिब आठ वर्ष लगाएर मूर्ति बनाउने काम सिके । अहिले विभिन्न चाडपर्व तथा मेलामा मूर्ति बनाएर बेच्ने गरेका छन् । चित्र प्रदर्शन गर्न उनी भरत र बंगलादेश पुगेका छन् ।

मुकेशले बनाएको सरस्वती, गणेश, विश्वकर्मा, दुर्गा भगवान्लगायतका मूर्ति वीरगन्जका विभिन्न चोकचोकमा अहिले पनि देख्न सकिन्छ । उनी चित्रकारसँगैे कुशल मूर्तिकार पनि हुन् । मूर्ति बनाउन सहयोगीको रूपमा उनले केही युवालाई रोजगारी दिएर राखेका छन् । गणेश चतुर्थी, विश्वकर्मा पूजा, दसंै तथा सरस्वती पूजामा उनलाई मूर्ति बनाउन भ्याइनभ्याइ हुन्छ ।

मूर्ति बनाउनु अघि उनले साइनबोर्ड लेख्ने काम गर्थे । पढाइमा भने त्यति ध्यान दिन सकेनन् उनले । उनले गर्ने काम पनि कलाकारितासँगेै जोडिएको हुन्छ । मूर्ति बनाउन होस् या चित्र बनाउन कुची नचलाई आफू बाँच्नै नसक्ने बताउने मुकेशले चित्र बनाउँदा आत्मसन्तुष्टि मिल्ने जानकारी दिए । रहरले सुरु गरेको चित्रकलाले पछिल्लो समय नामसँगै पैसा कमाउने बाटो पनि दिएकोमा उनले खुसी व्यक्त गरे ।

मुकेशले औपचारिक रूपमा एसएलसी पास गरेपछि चित्रकारितामै हात हाले । अहिले भरतबाट बीएफए लेभल पढ्दै छन् । पढाइको किताबमा पाना पल्टाउन भन्दा रङ, कुची र स्केच बोकेर हिँड्न मन पराउने मुकेश पूर्णतया चित्रकलामेै आबद्ध छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.