विदेशको कमाइ खेलको विकासमा
बेनी : रोजगारीका लागि बिदेसिएका म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडाका युवाले गाउँको पूर्वाधार विकासमा सहयोग गरेका छन्।
कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा सडक र खेलमैदान निर्माण भएको छ। उनीहरूले जटिल रोगबाट थलिएका विपन्नको उपचारमा पनि सहयोग गरेका छन्।
देवी देउराली युवा क्लबले प्रवासीको सहयोगमा तीन रोपनी १४ आना जग्गा खरिद गरेर करिब पाँच लाख रुपैयाँको लागतमा खेलमैदान बनाएको छ।
४५ मिटर लम्बाइ र २० मिटर चौडाइको खेलमैदान निर्माणका लागि कतारमा रहेका २८ जनाले तीन लाख पचास हजार रुपैयाँ सहयोग गरेको क्लबका उपाध्यक्ष रेशम शर्माले बताए।
‘सरकारी निकायको सहयोगबिनै खेलमैदान निर्माण गरेका हौं’, उपाध्यक्ष शर्माले भने, ‘एक्साभेटर परिचालन गरेर जग्गा सम्माउन पुख्र्यौली नृत्य समूहले नाचगान गरेर जुटाएको एक लाख रुपैयाँ उपलब्ध गराएको थियो।’
चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख रुपैयाँ सहयोग गरेका कतारमा रहेका काफलडाँडावासीले ताकमकी रक्तक्यान्सर पीडित फूलमाया भण्डारीको उपचारका लागि एक लाख चौध हजार र हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न बीस हजार रुपैयाँ सहयोग गरेका थिए।
यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि १५ हजार, ताकमकी मिर्गाैला पीडित इन्द्रा खत्रीको उपचारका लागि १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि १० हजार रुपैयाँ सहयोग गरेका थिए।
रोजगारी र अवसरको खोजीमा बाध्यताले विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम संकलनका लागि संयोजन गरेका बालकृष्ण आचार्यले बताए।