छामेर भेटें छोरी

छामेर भेटें छोरी

काठमाडौं : आइतबार साँझ ७ बजे । स्थान ः पर्सा, जगरनाथपुर । बिस्तारै अँध्यारो बढ्दै थियो । आकाश रिसाए जस्तो लाग्थ्यो । किनकि साँझ पर्दानपर्दै बादलका टुक्राटाक्रीले ठूलो रूप लिँदै थिए । तर जब रातले अधिकार जमाउन थाल्यो, हावाहुरीसँगै पानी पनि प¥यो । हेर्दाहेर्दै हुरीले वितण्डा मच्चाउन थाल्यो । वरिपरिको केही नदेखिने भयो ।

निमेषमै फुसका घरहरू लड्न थाले । तिनै घरलाई छिमेकीको तीनतले घरले च्याप्यो । मान्छेहरू हाहाकार गर्न थाले । जीउ जोगाउन सबै भागे । तर पाँच वर्षीया समिना खातुन भाग्न सकिनन् । सायद उनले मेसो पाइनन् । र च्याप्पिइन् । अनि रोइन् ।

खातुनका दाईदिदी भनी बुवाआमासँगै पछि लागे । घरबाट अलि परको बाटोमा पुगेका मात्र के थिए, खातुनका बाबु मन्सुरी मियालाई सन्तानको याद आयो । र हेरे । तर कान्छी छोरी समिनालाई देखेनन् । उनी आत्तिए । ‘सबै जना पछिपछि आएका होलान् भन्ठानेको थिएँ’, उनले भने, ‘नदेखेपछि घरतिर हेरें । अन्धकार थियो । धन्न छोरीको रुवाइ सुनें । र त्यही पछ्याउँदै गएँ ।’

खोज्दै जाँदा उनले केही छिन त छोरीलाई भेटाएनन् । तर पनि उनी छामछुम गर्दै अघि बढे । र बल्लतल्ल छोरी भेटे । तर छोरीलाई खरको छानोले च्यापेको थियो । बिस्तारै त्यसलाई पन्छाए । अनि छोरीलाई काखी च्यापे । अनि भागे ।

तीन छोरी र एक छोराका पिता मियाले आइतबार राति आएको आकस्मिक हावाहुरीको कहालीलाग्दो अवस्था सम्झिए, ‘सासले बाँचेको जस्तो लाग्थ्यो । तर त्यहाँको अवस्था हेर्दा बाँचिन्छ भन्ने विश्वास लागेको थिएन ।’ हावाहुरीले २८ जनाको ज्यान लिएको छ । टाउकोमा चोट लागेकी छोरी खातुनको टिचिङ अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचार संलग्न चिकित्सकले बताए ।

बाराको भरभरिया गाउँकी ३५ वर्षीया गीतादेवी पटेलले पनि खाना पकाएर राखेकी थिइन् । मजदुरी गरी फर्किएका        श्रीमान किशन आराम गरिरहेका थिए । खाना खाने तयारी हुँदै थियो । एक्कासि हुरीबतास बढ्दै आयो । हेर्दाहेर्दै घर भत्कियो । गीतादेवीका दुवै खुट्टा भाँचिए । किसनलाई पनि चोट लाग्यो । ‘पाकेको खाना खाने परको कुरा, ज्यान जोगाउनै सकस भयो’, किसनले भने, ‘पाकेको खाना पनि खान पाइएन ।’

हावाहुरीले घर भत्किएको छ । पटेल दम्पतीसहित तीन वर्षीय छोरा अमनको निधारमा चोट लागेको छ । घाइते भएपछि उनीहरूलाई छिमेकीले उद्धार गरी नारायणी उपक्षेत्रीय अस्पतालमा पु¥याइएको थियो । त्यसपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो । सेनाको स्काई ट्रकबाट घाइते भएकामध्ये सात जनालाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । तीमध्ये पाँच जना बारा र दुई जना पर्साका रहेको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । उपचाररत घाइतेहरू घरवास भत्किएपछि भविष्य सम्झेर चिन्तित छन् ।

१ हजार ४४ जनालाई आकस्मिक सेवा

हावाहुरीमा परी घाइते भएका १ हजार ४४ जनाले आकस्मिक सेवा पाएका छन् । हावाहुरीमा परेर २७ जनाको ज्यान गएको छ । बारा र पर्साका ४ सयभन्दा बढी घाइते भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज, तराई अस्पताल वीरगन्ज, कलैया अस्पताल, गण्डकी अस्पताल र वीरगन्ज हेल्थ केयरमा घाइतेहरूको उपचार भइरहेको छ ।

घाइते भएका ३ सय २३ जनाको काठमाडौंलगायत बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । घाइतेमध्ये बाराका ५९ वर्षीय मोहम्मद मिया, ३५ वर्षीया गीतादेवी पटेल, ३८ वर्षीय किशन पटेल, ३ वर्षीय अमन पटेल, ८० वर्षीय सुरेश पटेल, पर्साका ३३ वर्षीय मनोज अन्सारी र ५ वर्षीया समिना खातुनको उपचार भइरहेको डा. खड्गाले जानकारी दिए ।

नेपाली सेनाको एक र प्रहरीका दुई टोली घाइतेको उद्धारमा परिचालित छन् । प्रधानमन्त्री केपी ओलीले बारा र पर्साका हुरीप्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले समेत घटनास्थलको निरीक्षण गर्दै घाइतेको उद्धार र उपचारमा कमी आउन नदिन निर्देशन दिइसकेका छन् । मन्त्रालयबाट डा. रमेश खरेल र डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा दुईवटा टोली घटनास्थलतर्फ परिचालन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवको नेतृत्वमा मन्त्रालयका उच्चपदस्थ पदाधिकारीको बैठक बसेको छ । बैठकले उद्धार र उपचारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.