अलैंचीको मूल्य घट्दा किसान निराश
भोजपुर : तीन वर्षअघि गाउँमै प्रतिमन एक लाख १० हजारले अलैंची बिक्री भएपछि दंग भएका भोजपुर नगरपालिका जिमीगाउँका प्रेमकुमार राई यसको खेतीमा हौसिए । आफ्नो ८ रोपनी धान फल्ने खेत मासेर त्यही वर्षदेखि उनले अलैंची लगाए । साबिककै मूल्य यथावत रहने आशमा अलैंची लगाएका प्रेम अर्को वर्ष एकाएक भाउ घटेपछि चिन्तित भए । यो वर्ष त उनी प्रतिमन २२ हजार रुपैयाँमै बेच्न बाध्य भए ।
‘मिहिनेतका साथ खाइनखाइ उब्जाएको अलैंचीले यो वर्ष त झनै ढाड सेक्यो । गरेको लगानी पनि उठेन’, उनले भने, ‘यो वर्ष अलैंची लिने ठेकेदार गाउँ पसेनन् । आफैं बजारसम्म पु¥याएर सस्तोमै बेच्नुप¥यो ।’ प्रेमजस्तै भोजपुरका अधिकांश किसान पोहोरभन्दा पनि मूल्य घटेपछि निराश छन् । गत वर्ष ३५ हजार प्रतिमन बिक्री भएको अलैंची यो वर्ष प्रतिकेजी चार सय ५० देखि ६ सय ५० रुपैयाँमा मात्र भयो । जिमीगाउँकै दुर्ज राईले पनि राम्रो मूल्य पाउने आशामा तीन वर्षअघि सयौं मुरी धान फल्ने १९ रोपनी खेतमा इलामबाट राम्रो जातको अलैंची ल्याएर रोपे । तर अलैंचीको मूल्यमा आएको भारी गिरावटले उनको सबै मेहनत खेर गएझैं भयो ।
‘बर्सेनि भाउ घटेको घट्यै छ । फलेको अलैंचीको आम्दानीले काम गर्ने श्रमिकलाई दिने ज्यालासम्म धान्न गाह्रो भइसक्यो’, उनले भने, ‘सुरुमा राम्रो भाउ होला भनेर सबै खेत मासेर अलैंची लगाइयो । अहिले भाउ नपाएपछि अलैंची खेती नै काउसो बनेको छ ।’ अलैंचीमा निरन्तर मूल्य खस्किए पनि किसान उचित मूल्य पाउनेमा आशावादी देखिएका छन् । श्रम र लगानी अनुसारको आम्दानी निकाल्न गाह्रो भएको किसानको गुनासो छ । भाउ घटे पनि दुःखले लगाएको अलैँची नै मासेर पुनः अन्नबाली लगाउने मनसायमा नरहेको टेम्केमैयुङ गाउँपालिका छिनामखुका किसान दीपचन्द्र राई सुनाउँछन् । उनी भन्छन्, ‘पसिना बगाएर खेती लगाएको छु । भाउ घटे पनि यसलाई मासेर अन्नबाली लगाउने इच्छा छैन । थोरैबहुत भए पनि राम्रै आम्दानी दिइहाल्छ क्यारे ।’
अलैंचीको मूल्यमा भारी गिरावट आए पनि भोजपुरमा यो वर्ष गतवर्षको तुलनामा ८ मेट्रिक टनले अलैंची उत्पादन बढेको छ । कुल ६ सय ५० हेक्टर क्षेत्रफलमा गरिने अलैंची खेतीबाट यो वर्ष कुल दुई सय मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकले देखाएको छ । गत वर्ष जिल्लामा कुल एक सय ९२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । उत्पादनमा वृद्धि भए पनि अलैंचीको मूल्य भने क्रमिक रूपमा खस्किँदा किसानलाई यो वर्ष पनि निराश तुल्याएको हो ।
गुणस्तरीय उत्पादन नभएपछि ग्रेडिङ र ब्रान्डिङमा समस्या आएकाले पनि अलैंचीले सन्तोषजनक मूल्य नपाएको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी युकमणि भट्टराईले बताए । राज्यले अन्तर्राष्ट्रियस्तरमा अलैंची व्यापारको प्रवद्र्धन गर्न नसक्नु र गुणस्तरीय उत्पादन हुन नसक्नुले पनि अलैंचीको मूल्य घटेको उनले सुनाए । ‘भोजपुरमा उत्पादित कच्चा अलैंची राम्ररी प्रशोधन गरिँदैन । अनि यहाँबाट कच्चा पदार्थको रूपमा लगिएको अलैंची बिर्तामोडमा पु¥याएपछि सबै अलैंचीको पुच्छर काँटछाँट गरिन्छ । गुणस्तरीय उत्पादन नभएर पनि मूल्य घटेको हो’, उनले भने ।
चालु आर्थिक वर्षदेखि सुरु गरिएको अलैंची जोन कार्यक्रममा जिल्लाका ९८ किसान समूह र कृषि फार्म आबद्ध छन् । अलैंची जोन कार्यालय भोजपुरका अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये ६ वटाका ३० वडामा अलैंची जोन परियोजना सञ्चालन गरिएको छ । परियोजनाले किसानको घरघरमै पुगेर उनीहरूका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको अलैंची जोनका निमित्त प्रमुख खिरप्रसाद राईको भनाइ छ ।
कार्यक्रमअन्तर्गत जिल्लामा करिब ४९ लाखबराबरको किसानलक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ । अलैंचीका लागि प्रमुख क्षेत्र मानिने टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिका, भोजपुर नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका विभिन्न ग्रामीण भेगमा रामसई, गोलसई र डम्बरसई जातका अलैंचीखेती गरिन्छ ।