घोराही–स्वर्गद्वारी केबुलकार चार वर्षभित्र सञ्चालन
दाङ : दाङको घोराहीबाट प्यूठानको स्वर्गद्वारीसम्म केबुलकार सेवा सञ्चालनको तयारी भएको छ । यसका लागि डीपीआर तयार पार्ने काम अघि बढेको हो । नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थलका रूपमा रहेको प्यूठानको स्वर्गद्वारीसम्म केबुल कार पु¥याउन निजी क्षेत्र तातेको हो ।
तीन वर्षको विशेष अध्ययन गरेर ६ महिना अघिदेखि डीपीआरको काम सुरु भइसकेको र अबको ६ महिनामा डीपीआर पूरा हुने घोराही स्वर्गद्वारी केबुलकार प्रालिका माधव घिमिरेले जानकारी दिए । दाङको घोराहीदेखि स्वर्गद्वारीसम्म आठ किलोमिटर रुट बनाउने गरी डीपीआरको काम अघि बढाइएको घिमिरेले बताए । घोराही स्वर्गद्वारी केबुलकार प्रालि स्थापना गरेर निजी क्षेत्रबाट केबुलकार सञ्चालनको तयारी गरिएको हो । यसका लागि जग्गाको व्यवस्थापन भइसकेको छ । स्थानीय युवाको साढे पाँच अर्ब रुपैयाँ लगानीमा केबुलकार सञ्चालनको योजना गरिएको उनले बताए ।
‘स्वर्गद्वारीलाई देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउन चाहन्छौं’, घिमिरेले भने, ‘सरकारले थालेको अभियानलाई पनि हाम्रो कार्यले सहयोग पु¥याउने अपेक्षा छ ।’ अहिलेसम्म संस्था दर्ता गर्ने, सिफारिस लिने, जग्गा खरिद गर्ने, लिजमा लिने काम सकिएको छ । डीपीआरलाई अन्तिम रूप दिएलगत्तै पूर्वाधार निर्माणको काम सुरु हुने उनले बताए । घोराहीदेखि स्वर्गद्वारीसम्म चारवटा स्टेशन हुने छन् । मध्य भागमा वि श्राम केन्द्रको ब्यवस्था गरिने छ । केबुलकारका लागि २७ वटा पोल हुनेछन् । एउटा डिब्बामा ६ जना अटाउने छन् । बीच र अन्तिम विन्दुमा फन पार्क, रमणीय एवं पर्यटकीय स्थल निर्माण गरिने छ ।
केबुलकार बनेर सञ्चालनमा आए स्वर्गद्वारी पुग्न तीर्थयात्रुलाई जोखिम मोलेर गाडीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने छ । अहिले २ वटा रुटबाट स्वर्गद्वारी पुग्न सकिन्छ । भालुबाङबाट भृंग्री र घोराहीबाट रोल्पाको होलेरीहँुदै स्वर्गद्वारी पुग्न सकिन्छ । गाडीको यात्रामा कम्तिमा ४÷५ घण्टा लाग्छ । केबुलकार सञ्चालनमा आए २० मिनेटमा स्वर्गद्वारी पुग्न सकिने छ । पूर्वाधार निर्माण दुई वर्षमा सक्ने योजना छ । समयमै काम सुरु भए आगामी चार वर्षमा केवलकार सञ्चालन गर्ने तयारी प्रालिले गरेको छ । स्वर्गद्वारी भारतीय पर्यटकको मुख्य गन्तव्य मध्येको एक हो ।