प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने
काठमाडौं : सरकारले सदनको अवरोध हटाउनका लागि गम्भीर भएर लाग्न प्रतिपक्षी दललाई आग्रह गरेको छ।
शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले समस्या समाधानका लागि सरकार गम्भीर भएर लागिरहेको भन्दै जिम्मेवार प्रतिपक्षी भएर सहमति खोज्न आग्रह गरिन्। उनले संबादबाटै समाधान निस्कनेमा सरकार विश्वस्त रहेको बताइन्।
त्यस्तै वर्तमान मन्त्रिपरिषदका सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय भएको उनले बताइन्। बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने र फौजदारी कसुर तेस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै मन्त्रिपरिषदले स्टाण्डर्ड नाप र तौल छैटौं संशोधन नियमहरू स्वीकृत गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको एक संयन्त्रमा नेपालको सहभागिताका लागि स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ।