हावाहुरी प्रभावितलाई प्रदेश-३ सरकारको १ करोड सहयोग
हेटौंडा : बारा र पर्साका हावाहुरी प्रभावितलाई आवास पुर्ननिर्माणका लागि तीन नम्बर प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेश २ सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।
साथै बैठकले हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरुको परिवारप्रति समवेदना प्रकट गरेको छ। सोमबार प्रदेश- ३ का मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त क्षेत्रको अवलोकन गर्दै मृतकका परिवार र घाइतेलाई भेटेका थिए।
यसैगरी प्रदेशसभा ३ ले बारा र पर्साका हावाहुरी प्रभावितलाई तीन दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना एक सय सदस्यबाट तीन दिन बराबरको तलब सहयोग गर्ने निर्णय गरेको राप्रपा संयुक्तकी प्रदेशसभा सदस्य रिना गुरुङले बताइन्।
हावाहुरी प्रभावित घाइतेहरुलाई भेट्दै मुख्यमन्त्री डोरमणि पौडेल ।