हुम्ली नागरिकका दुःख : सडक छैन, जहाजले बोक्दनन्

हुम्ली नागरिकका दुःख : सडक छैन, जहाजले बोक्दनन्

सुर्खेत : हुम्ला अहिले पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। हुम्लालाई प्रदेश राजधानी सुर्खेतसँग जोड्ने एक मात्र विकल्प हवाई यातायात हो। तर, त्यो सर्वसाधारणको पहुँचमा छैन। विमान कम्पनीले कार्गो मात्र बोक्ने र यात्रुलाई बोक्न नमानेपछि हुम्लीहरू सुर्खेत र नेपालगञ्जमा अलपत्र पर्दै आएका छन्।

यात्रुभन्दा कार्गो सामान ओसार्दा दोब्बर फाइदा हुने भएपछि विमान कम्पनीले अहिले सामान मात्र ओसार्दै आएका छन्। जसकारण विभिन्न कामले प्रदेश राजधानी सुर्खेत आएका हुम्लाका बासिन्दा घर जान पाएका छैनन्। जहाजले बोक्न नमानेपछि दुई महिनादेखि दर्जनौं हुम्ली नागरिक सुर्खेतमै अलपत्र परेको हुम्ली एकता समाजले जनाएको छ। बिरामीको उपचार गर्न आएकाहरू पनि सुर्खेतमै अलपत्र छन्। जहाजले लैजान नमानेकै कारण अधिकांश हुम्लीको खर्चसमेत सकिएको छ।

निजी विमान कम्पनी सीता एयर, तारा एयर र समिट एयरले सुर्खेतबाट हुम्ला उडान गर्दै आएका छन्। तर, यी विमान कम्पनीले कार्गो मात्र ओसार्ने र यात्रु बोक्न नमानेपछि हुम्लाका बासिन्दा थप निरास बनेका हुन्। दिनहुँ विमानस्थलसम्म पुगे पनि जहाजले आफूहरूले लैजान नमान्ने गरेको हुम्ली एकता समाजका कलबहादुर लामाले बताए। ‘मान्छेको भाडा पाँच हजार छ तर कार्गो बोक्दा १२ हजारसम्म भाडा लाग्छ’, लामाले भने, ‘दोब्बर बढी फाइदा हुने भएका कारण पनि विमान कम्पनीले मान्छे बोक्न मान्दैन, हामीले घर जान नपाउने भयौं।’

‘सडक पुगेको छैन, हिँडेर जाँदा एक महिनाभन्दा बढी समय लाग्छ’, हुम्लाका प्रेमबहादुर लामाले भने, ‘जहाजले कार्गो मात्र बोक्छन्, हामीले हारगुहार गर्दा पनि लैजान मान्दैनन्। हामीलाई घर पुग्नै मुस्किल भयो, हाम्रा लागि राज्य नै छैन।’ आफूहरूले बारम्बार आग्रह गर्दा पनि विमान कम्पनीले यात्रु बोक्न नमानेको र प्रदेश सरकारले समेत कुनै चासो नदिएको उनको गुनासो छ। पहुँच भएकाहरू कार्गो उडानमै जाने गरे पनि सर्वसाधारण भने महिनौंदेखि घर जान नपाएको जयबहादुर रोकायले बताए। उनले भने, ‘प्रदेश भएर हामीले के पायौं ? राजधानी आउन र जानै यस्तो हालत छ। हाम्रा लागि जहाज चढ्नै सकस छ, सुर्खेतमै अलपत्र परियो।’ हुम्ली एकता समाजका अनुसार अहिले हुम्लामा दर्जनांै नागरिक सुर्खेतमा अलपत्र परेका छन्।

०००प्रदेश सरकारसँग हारगुहार०००

कार्गो मात्र ओसार्दै आएका विमान कम्पनीले यात्रु बोक्न नमानेपछि हुम्ली नागरिकले प्रदेश सरकारसँग हारगुहार गरेका छन्। तर, उनीहरू घर जान पाएका छैनन्।

प्रदेश सरकारले भने नागरिक उड्डयन संघीय सरकारमातहत रहेकाले केही गर्न नसक्ने जवाफ दिएको छ। यद्यपि, हुम्ली नागरिकले सातामा एउटा मात्र भए पनि एउटा उडान यात्रु बोक्ने गरी व्यवस्था मिलाइदिन माग गरेका छन्। हुम्ली एकता समाजका कलबहादुर लामाले भने, ‘आजसम्म सडक पुगेको छैन, जहाज चाहिएको हामीलाई हो। तर, पहुँचवालाले मात्र जहाज चढेका छन्, अब नेपाल एयरलाइन्सको जहाजले हुम्लामा अनिवार्य उडान गर्नुपर्छ।’ यसका लागि प्रदेश सरकारले पहल गरिदिनुपर्ने उनको माग छ।

‘सातामा एक दिन यात्रु बोक्छौं’

यात्रु नबोकेको भन्दै हुम्लाका नागरिकले सुर्खेतमा आन्दोलन नै गरेपछि निजी विमान कम्पनी सातामा एकदिन यात्रु बोक्न सहमत भएका छन्। सीता, तारा र समिट एयरले सातामा एक दिन यात्रु बोक्ने प्रतिबद्धता जनाएका हुन्। बाँकी दिन कार्गो बोक्ने र हप्तामा एक दिन यात्रु ओसार्न आफूहरू तयार रहेको समिट एयरका चन्द्र शाहीले बताए।

नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख विनोद पन्तले भने, ‘मानवीयता नै ठूलो हो, मान्छेले पहिलो प्राथमिकतामा पर्नुपर्छ। अब सातामा एक दिन यात्रु बोक्न विमान कम्पनी सहमत भएका छन्, यसले हुम्लाका नागरिकलाई सहज हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.