एन्फाको आर्थिक नियमावली र कार्यविधि तयार
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक नियमावली र कार्यविधि तयार भएको छ। एन्फालाई पारदर्शी बनाउने अभियानसहित एक वर्षअघि एन्फा नेतृत्वमा आएको कर्माछिरिङ शेर्पाको टोलीले आर्थिक नियमावली र कार्यविधि तय गरेको हो।
एन्फाले सोमबार पत्रकार सम्मेलन गरी आर्थिक नियमावलीबारे जानकारी दिएको छ। ‘हामीले चुनावअघि एन्फालाई पारदर्शी ढंगले अगाडि बढाउन आर्थिक पारदर्शिताको कुरा गरेका थियौं।
सोहीबमोजिम रोडम्याप तयार गरेका हौं,’ एन्फा अध्यक्ष शेर्पाले भने। उनले नियमावलीले नीतिगत रूपमा गाइड र कार्यविधिले प्रक्रियाको विषयमा काम गर्ने पनि बताए। एन्फाको आर्थिक नियमावलीलाई अडिट एन्ड कम्पलायन्स कमिटीले दिशानिर्देश गर्ने बताइएको छ।
एन्फाले सार्वजनिक गरेको आर्थिक नियमावली र कार्यविधिमा पेस्की र फस्र्योट, खरिद तथा निर्माण, टेन्डर, विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) बाट प्राप्त अनुदान र सहयोगको कार्यान्वयन, खर्चको प्रक्रिया, भत्ता, पदाधिकारीको भ्रमणलगायत विषय समेटिएको छ।
पहिलो पटक लिखित रूपमा तयार पारिएको यस नियमावली र कार्यविधिलाई व्यवहारमा लागू गरिने प्रतिबद्धता पनि शेर्पाले गरेका छन्।