हावाहुरी प्रभावितलाई जाजरकोटका युवाले पठाए राहत
जाजरकोट : बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट प्रभावितलाई जाजरकोटका युवाले राहत संकलन गरेर पठाएका छन् ।हावाहुरीले घरवारविहीन भएका पीडितलाई युवाहरुले संकलन गरेको लत्ताकपडा, जुता, चप्पल जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतमार्फत पठाएका हुन्।
बुधबार खलंगामा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी बस्नेतमार्फत उक्त राहत सामग्री पीडित परिवारलाई पठाएको राहत संकलन अभियानका विश्वविक्रम शाहले बताए।
स्थानीय व्यापारीबाट संकलन गरिएको १ सय ९७ थान जुत्ता, चप्पल र १ सय ५३ थान कपडा पठाइएको शाहले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी बस्नेतले सामग्री बुझ्दै सम्बन्धित ठाउँमा विभिन्न संयन्त्र प्रयोग गरी साहत सामग्री पीडितसम्मा पुर्याइने बताए।
प्रजिअ बस्नेतले पीडित परिवारलाई मलहम लगाउन गरेको कार्य स्रहानीय भएको बताए। तराईको दुःखमा पहाड पनि दु:खित रहेको सन्देश यो सहयोगले दिएको उनले बताए। युवाहरु विश्वविक्रम शाह, नारायण घर्ती, अनिश कार्की, जगतध्वज शाहीलगायतका युवाले स्थानीय व्यापारी र अन्य सहयोगी हातबाट गैरखाद्य सामग्री सहयोग संकलन गरेका थिए।
यसैबीच नेपाल निजामति कर्मचारी संगठनले २३ हजार रुपैयाँ मुख्यमन्त्री राहतकोषमा पठाएका छन्।