हात्तीको आक्रमणपछि मृत्युशैय्यामा महिला, ‘थाहा छैन’ भन्छ सरकार !

हात्तीको आक्रमणपछि मृत्युशैय्यामा महिला, ‘थाहा छैन’ भन्छ सरकार !

राजविराज : सँगैका बिरामीहरु दुई-चार दिन, हप्ता दिनमा निको भएपछि घर फर्किएको दृष्य उनी ओछ्यानबाट नियाल्दै ओछ्यान भिजाउँछिन् ।

डेढ महिनाअघि अस्पताल भर्ना भएकी यी महिला अस्पतालमै बेवारिसे बनेकी छन् । हात्तीको आक्रमणमा परी घाइते यी महिलालाई सप्तरीको अग्नीसाइर कृष्ण सवरन गाउँपालिका–१ बाट बेवारिसे अवस्थामा फेला पारेपछि सप्तरी प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गराएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालका अनुसार हात्तीको आक्रमणले घाइते भएकी बिरामीको सनाखत हुन नसकेकाले उपचार र स्याहारमा समस्या परेको छ । बेवारिसे बनेकी यी घाइते महिलाको आफन्त फेला नपर्दा र राज्यको कुनै निकायले चासो नदेखाउँदा उपचार र स्याहारको अभावमै तड्पीनु परेको छ । उनको दाहिने हात भाँचिएको छ । मेरुदन्ड पनि राम्रोसँग चल्दैन । डेढ महिनादेखि उनको ओछ्याउन शौचालयकै छेउमा लगाइएको छ ।

दिशापिसाब आएको पनि चाल नपाउने उनको कम्मरदेखि मुनी पैतालासम्म उनकै दिशा कटकटिएर सुकेको छ । कम्मरबाट खुस्किएको पेटिकोट झरेकाले उनको लाज छोपिदिन अन्य बिरामीका कुरुवाले माथिबाट तन्नाले ढाकिदिने गर्छन् ।

छेउका बिरामी हेर्न आउनेहरुले दया गरी दिएको बिस्कुट, स्याउ पाए खान्छिन्, नभए भोकै सुत्छिन् । उनको यस्तो दर्दनाक अवस्था देखेर कतिपयले बिस्कुट दिन्छन्, कतिपयले मृत्युका लागि भगवानसँग प्रार्थना गर्छन् ।

अस्पतालका चिकित्सकका अनुसार उनको भाँचिएको हात प्लास्टरपछि पनि जोडिएको छैन । मृत्युसँग संघर्ष गरिरहेकी उनको हात छुनासाथ दर्दले रुन्छिन् । उनी न केही बोल्न सक्छिन् । न हिंडडुल नै गर्न सक्छिन् । अहिलेसम्म आफन्त वा परिवारजन पनि सम्पर्कमा छैनन् ।

त्यसो त, प्रहरीले अस्पतालमा भर्ना गरेपछि पत्ता लगाउने प्रयत्न पनि गरेको छैन । आकस्मिक विभागका इन्चार्ज धनेश्वर साहले रेखदेख गर्ने कोही कुरुवा नभएकाले उपचारमा समस्या भइरहेको र अस्पताल ल्याउने प्रहरीले उनको घर, ठेगाना पत्ता लगाउने तर्फ ध्यान नदिएको बताउँछन् ।

बेवारिसे बिरामी, घाइते ल्याएपछि प्रहरीले उसको घरठेगाना पत्ता लगाउन ध्यान नदिने गरेको गुनासो गर्छिन् ओसिएमसीकी फोकल पर्सन मनिषा सिम्खडा । उनका अनुसार अभिभावकत्वको जिम्मेवारी स्थानीय निकायले नलिँदा पुर्नस्थापना केन्द्र पठाउन पनि नसकिएको छैन ।

वास्ता छैन वन कार्यालयलाई

हात्तीको आक्रमणमा घाइते भएकाले उपचारको जिम्मा सबैभन्दा पहिले वन कार्यालयले लिनुपर्ने डिसपी भावेश रिमालको भनाइ छ । उपचारपछि कुनै संघ–संस्थामा जिम्मा लगाउँदा राम्रो हुने उनी तर्क गर्छन् ।

राजविराजमै रहेको डिभिजन वन कार्यालयले भने बिरामीलाई सुरुमा सञ्चो भएर घर फर्किसकेको दावी गरेको छ । हात्ती आक्रमणमा पर्ने घाइतेहरुको बारे विस्तृत प्रतिवेदन आफूसँग रहेको बताउने डिभिजन वन कार्यालयका प्रमुख धिरेन्द्रप्रसाद सिंहले सुरुमा अस्पतालमा ल्याएकै दिनदेखि आफूहरुले रेखदेख गरेको र उनी सञ्चो भएर घर फर्किसकेको गलत सूचनामा दावी गरे ।

तर बिरामीलाई सञ्चो नभएको र अस्पतालमै घाइते अवस्थामा रहेको बताएपछि सिंहले आफ्नो कुरालाई ढाकछोप गर्दै भने ‘बिरामी करिब ठीक भइसकेको थियो, वन कार्यालयले पूरै निगरानी गर्न सक्दैन, कुरुवा पनि राख्न सक्दैन तर लागेको खर्च समयमै उपलब्ध गराउँछ ।’

वन ऐन तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार वन्यजन्तुको आक्रमणमा परी धनजनको क्षति भएमा त्यस्तो क्षति वापत तोकिए बमोजिम राहत दिनुपर्ने छ । तर वन कार्यालय, आरक्ष र जिल्ला प्रशासन कार्यालय यसबारे अनविज्ञ छन् ।

आकस्मिक विभागका इन्चार्ज धनेश्वर साहले गत फागुन ९ गते हात्तीले आक्रमण गरेर घाइते भएको बेवारिसे महिला भन्दै प्रहरीले ल्याएर राखेपछि कोही फर्केर नआएको र कसैले एक रुपैयाँ पनि सहयोग नगरेको बताउँछन् । विरामीको प्राथमिक उपचार गरिएको जानकारी दिँदै साहले सरसफाइ र खानाको कमीले गर्दा बिरामी कमजोर भइरहेको बताए ।

प्रशासनलाई पनि छैन मतलब

यसबारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत प्रहरीले कुनै जानकारी गराएको छैन् । सिडिओ सुरेन्द्र पौडेलले आफूलाई यसबारे प्रहरीले कुनै जानकारी नगराएको बताए । यस्तो दुर्दशा निकै दुखद भन्छन् सिडिओ पौडेल ।

साथै परिवारको खोजी गरी पुर्नस्थापनाको प्रयास गरिने तर आफन्तहरु पत्ता नलागे अन्य विकल्प खोजिने उनको भनाइ छ । अस्पतालले स्लाइन पानी चढाउने, औषधी दिने काम त गरिरहेको छ । तर सरसफाइ र खानपिनको व्यवस्था हुन नसक्दा उनी जीवनमरणको संघर्षमा छिन् ।

जिम्मेवार निकायहरुले परोपकारी संघ–संस्थामा पठाउने, विभिन्न विकल्प खोजिने, उपचार गर्ने प्रतिबद्धता जनाए पनि बोल्न नसक्नेहरुको आवाज सम्बन्धित ठाउँसम्म पुग्नै नपाइ हराउने गर्छ । स्थानीय प्रतिनिधि र प्रशासन समेत बेखबर छन् यसमा ।

सरकारले गरिबीकै कारण उपचार नपाएर कसैको मृत्यु हुन नदिने घोषणा गरेको समाचार ताजै छ । मौलिक हक अन्तर्गतका संवैधानिक व्यवस्था रहे पनि यी बेवारिसे महिलाको उद्धार हुन अझै सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.