कांग्रेस नेतृत्वप्रति बढ्दो निराशा

कांग्रेस नेतृत्वप्रति बढ्दो निराशा

भूराजनीतिक ज्ञान, तीक्ष्ण स्वभाव र राजनीतिक सुझबुझ भएका नेतालाई नेतृत्वले रुचाउँदैन। एस म्यानको सुझावमा मात्रै अघि बढ्दा कांग्रेसमा मतभेद झाँगिदो छ। तेह्रांै महाधिवेशनमा सबैलाई एकढिक्का बनाउने बाचा गर्दैगर्दा सबैको ताली पाएका सभापति शेरबहादुर देउवाकालीन कार्यकालमा कांग्रेसले आन्तरिक र राष्ट्रिय मुद्दाहरूमा एउटै विचार निर्माण गर्नै सकेन। सभापतिले सिंगो कांग्रेसको नेतृत्व गर्न नसक्दा पार्टीभित्र विभिन्न समूह निर्माण भए।

सुशील कोइराला सभापति हुँदा जनमतका आधारमा ठूलो दलका रूपमा अनुमोदन पाएको कांग्रेस पछिल्लो निर्वाचनमा विपक्षमा खुम्चन बाध्य भयो। कांग्रेसको अस्पष्टताले देशको राजनीति नै वामपन्थीमय बनेको छ। कांग्रेस आफ्नो आदर्शबाट विचलित हुँदै गएकाले यस्तो स्थिति देखापरेको हो। आज कांग्रेसभित्रको द्विविधाकै कारण नेकपाको सरकारले विकास र समृद्धिका नाममा सिंगो मुलुकलाई नै अस्थिरतातर्फ धकेल्दैछ। तर, पनि कांग्रेस सजग हुन सकेको छैन। सरकारद्वारा रचित बेथितिविरुद्ध संसद्देखि सडकसम्म ‘वैचारिक हस्तक्षेप’ हुन सक्नु पर्दथ्यो।

महासमिति बैठकको म्यान्डेट, जिल्ला सभापतिहरूको आग्रह र पार्टीभित्रका संस्थापनइतरको ‘कांग्रेस जगाउने, कांग्रेस जोगाउने’ एजेन्डाको विषय अगाडि आउन दिने पक्षमा संस्थापन पक्ष देखिँदैन। यसैले पनि गुटविहीन आदर्शको कल्पना कांग्रेसको हकमा टाढाको विषय बन्दै गएको छ। उदार राजनीतिक संस्कार र मुलुकका सामु देखिएका राजनीतिक एजेन्डाको पहिचानका खातिर हिजोसम्म कांग्रेस जनताबाट अनुमोदन भइरह्यो।

जब पछिल्लो समय कांग्रेसमा यी दुवै विषयवस्तुको अभाव टड्कारो रूपमा खडकियो तब कांग्रेस आकारका हिसाबले समेत खुम्चन बाध्य भयो। आफंैलाई मलजल गर्ने ‘ग्रामीण भेग’ कांग्रेसका लागि बिरानो हुँदै गयो। केन्द्रीय नेता गाउँदेखि नै प्रतिनिधि बनेर आउने सुन्दर कल्पनासहितको महासमितिको म्यान्डेट बहुमत केन्द्रीय समितिलाई घाँडो बन्न पुग्यो। केन्द्रीय नेतृत्व स्वयंलाई आफ्नो क्रियाशील सदस्यता रहेको बुथबाट प्रतिनिधि आउनेमा शंका उत्पन्न भयो। कांग्रेस नेतृत्वले सम्भ्रान्त र कुलीन परिवारबाहेक ग्रामीण भेगलाई नै बोझ सम्झन थाल्यो।

नीतिगत सुधारसहित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासहितको परिवर्तनलाई आत्मसात गर्दै स्पष्ट विचार बोकेको एकीकृत कांग्रेस मात्र देशको भविष्य बन्न सक्छ।

कांग्रेसले स्थापनाकालदेखि नै आफ्नो राजनीतिक जग मान्दै आएको मधेसभित्रसमेत अहिले आफू उभिने स्पेससम्म नपाउने स्थिति बन्दै गयो। स्थानीय र आम निर्वाचनमा टिकटसहित पर्चा पम्प्लेटका लागि संस्थागत रूपमा धेरथोर चुनावी खर्च पाइने आशमा रहेका कार्यकर्ताले टिकटका लागि पार्टी कार्यालय भन्दा लालपुर्जा बोकेर मालपोत कार्यालय धाउनुपर्ने, त्यो पनि नेताकै नाममा जग्गा पास गरिदिनका जस्तो स्थिति उत्पन्न भयो। कांग्रेस जस्तो लोकतान्त्रिक नामधारी पार्टीका लागि यो भन्दा विडम्बना के हुन सक्छ? यसैबाट अनुमान लगाउन सकिन्छ कांग्रेसको भावी दिशा र दशा।

बीपी, सुवर्णशमशेर, गणेशमान र किसुनजीको अवसानपश्चात कांग्रेस पार्टीका रूपमा भन्दा पनि ६०÷४० को भागबन्डा गर्ने मोर्चाका रूपमा रुपान्तरण हुँदै गएको छ। उक्त कालखण्डमा नेताले विचारका आधारमा पार्टी र मुलुकलाई सञ्चालन गर्दथे, आज कांग्रेस नेकपाद्वारा सिर्जित राजनीतिक तरंगकै वरिपरि तरंगित हुँदैछ। पार्टीले संस्थागत रूपमा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न नसक्दा पार्टी नेताहरूले जे बोल्यो त्यही पार्टीको दृष्टिकोण हो कि भन्ने भ्रम सिर्जना हुँदैछ।

कांग्रेसले आफूलाई पुन : जनतामा स्थापति गर्ने हो भने ‘गुटविहीन आदर्श’ पहिल्याउँदै मधेस फकाउन र मधेस फर्काउन सँगै ग्रामीण भेगसम्म आफूलाई पु¥याउन सक्नुपर्छ। मधेसले उठाउँदै आएको ‘मधेस मुद्दा’ संविधान संशोधनमार्फत स्थापित गर्न कांग्रेस स्वयंले अग्रसरता लिनुपर्छ। नियोजित रूपमा अगाडि ल्याइएका सीके राउतको एजेन्डा र धरातलको पहिचानसमेत कांग्रेसले तत्काल गर्न सक्नुगर्छ।

जुन दिनबाट कांग्रेसका स्थापित नेता कुलानन्द झा, गजेन्द्रनारायण सिंह, महन्थ ठाकुर, विजयकुमार गच्छदार र जेपी गुप्ता बाहिरिए सोही दिनबाट कांग्रेसको मधेसयात्रा नै ओरालोतर्फ उन्मुख भयो। कांग्रेसबाट यी नेता बाहिरिँदा मधेसभित्र कांग्रेसमा आफ्नो बन्दोबस्त गर्ने केही नेता मात्र बाँकी रहे ! यसको हेक्का रहँदा मात्र कांग्रेस पुन : मधेसमा स्थापित हुन सक्छ। मधेसमै जन्मिएको कांग्रेसले मधेसका हरेक आन्दोलनमा क्षति बेहोर्नेबाहेक मधेसलाई आफ्नो हो भन्ने अनुभूति प्रस्तुत गर्नै सकेन। कांग्रेसले अब संविधान संशोधनको पक्षमा ठोस रूपमा आवाज बुलन्द गरेर मधेसको पक्षमा उभिन ढिला गर्नु हुन्न।

चार ताराको मान राख्दै पार्टी जगाउने र गणतन्त्र जोगाउने दुवै एजेन्डा तय गर्नै सकेन कांग्रेसले। पार्टी नेतृत्व पार्टीभित्रको संगठनमा मजबुत हँुदै जाने तर जनमत कांग्रेसबाट बाहिरिँदै जाने स्थितिबाट कांग्रेस गुज्रन पुगेको छ यतिबेला। कांग्रेस कमजोर हुनुको अर्का कारण हो—स्वयं कार्यकर्ता, जो नेताका सामु सत्य कुरा बोल्नै सक्दैन। राजाकालीन समयमा कुनैबेला राजाले टेकेको जमिनको माटोको टीका लगाइन्थ्यो।

आज सोही प्रवृत्ति दोहो¥याइँदै नेतासामु उभिएर नेताको विश्वमै चर्चा भएको नक्कली कुरा गरेर नजिक हुने प्रवृत्ति हाबी छ। तिनै बनावटी कुरा बोकेर आउने कार्यकर्तालाई प्रिय ठान्ने मनोरोगबाट नेता स्वयंसमेत मुक्त हुन नसक्दासम्म कांग्रेसको पुनर्जीवन सम्भव देखिन्न। आफ्नै आलोचनाका खातिर मिडियासमेतलाई स्वयं आफैंले सदुपयोग गर्दै र आफू सच्चिँदै अघि बढेका बीपी कोइरालाको पार्टीमा आज आलोचना भन्ने शब्द नै ‘भैंसीले छाता देखे झैं’ हँुदै आएको छ।

विचार, उदारता, त्याग, इमान, साहस र सादगीपन गुमाएको कांग्रेस नेतृत्वका लागि अबका केही समय अनुशासनको कारबाहीको डण्डा प्रिय बन्न जाने निश्चित छ। सैनिक भर्ना खुलेकै शैलीमा ‘कारबाहीको दरखास्त’ आह्वान भइसकेको छ। विधि र विधानलाई प्रधान नमान्ने प्रवृत्तिका लागि कारबाही त स्वाभाविक मान्न सकिएला,आगामी महाधिवेशन र त्यसलगत्तै हुने स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा प्रारम्भ गरिएको कारबाहीको महाभारत पार्टी शुद्ध बनाउन कि पार्टी विशुद्ध आफ्नो बनाउन? भन्ने प्रश्न सतहमा आएको छ। कांग्रेस पार्टीले निर्माण गर्ने अबको साइजका बारे कारबाही पर्वपश्चात थप भन्न सकिन्छ।

पार्टी कब्जाकै शैलीमा देखिएका सभापति देउवा चौधांै महाधिवेशनमा पनि सभापति हुनकै निम्ति रणनीतिक फड्को मार्ने सोचमा भएको बुझ्न कठिन छैन। चिरैचिरा परेको संस्थापनइतर समूहलाई थप चिरा पारिदिने विषय नै देउवाको रणनीतिक हतियार हो। देउवा पक्षमा देउवाबाहेक थप अरूको स्वतन्त्र विचार देखिन्न। उता संस्थापनइतर सबैमा स्वतन्त्र विचारबाहेक एकै ठाउँमा एउटै मत निर्माण असम्भव झैं देखिँदैछ। यही स्थितिको भरपुर फाइदा लिने रणनीति हो देउवाको।

देउवाकालीन समयमा कांग्रेसको साख गिरेकै हो। तसर्थ देउवाइतरका नेता एउटै एजेन्डामा उभिन सक्दा मात्र चार ताराको मान र सम्मान जोगिने हो। कांग्रेसले परिवर्तित राजनीतिक परिस्थितिअनुरूप आफूलाई नवीकरण गर्न नसकेकै कारण जनमतबाट कांग्रेस दोस्रो हुन पुगेको लुकाएर लुक्दैन। कांग्रेसको इतिहास एकपटक हार र अर्को पटक जित छ भन्ने तर्ककै आधारमा नीतिशून्य रहिरहँदा आगामी दिनमा पनि जित नजिक देखिँदैन।

नीतिगत सुधारसहित गणतन्त्र, संघीयता र धर्म निरपेक्षतासहितको परिवर्तनलाई आत्मसात गर्दै स्पष्ट विचार बोकेको एकीकृत कांग्रेस मात्र देशको भविष्य बन्न सक्छ। यसका लागि पार्टीभित्र एकेडेमिक बहस प्रारम्भ नगर्ने हो भने अर्बपतिको क्लब बन्नबाट कांग्रेसलाई अब कसैले रोक्न सक्दैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.