रुप फेर्दै रंगशाला
![रुप फेर्दै रंगशाला](https://annapurnapost.prixacdn.net/media/albums/Ranga-Sala-Jhapa_20190405073234_Gs5R1G40zv.jpg)
बिर्तामोड : एक समय झापाको भद्रपुरमा रहेको मेची रंगशालामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू बाक्लै हुन्थे। खेलकुदले भद्रपुर क्षेत्रको रौनक नै भिन्न थियो। तर लामो समय गुमनाम जस्तै बनेको यो रंगशालाले अहिले काँचुली फेरेको छ। लामो समयदेखि जीर्ण रहेको मेची रंगशालाको अहिले मर्मत तथा पुनर्निर्माणको काम सुरु भएको छ।
पुनर्निर्माणले गति लिइरहँदा केही समय अघि राष्ट्रिय महिला फुटबल खेलाडीले यो रंगशालामा नै प्रशिक्षण गरेका थिए। सरकारले २०२५ सालमा झापा सदरमुकाम भद्रपुरमा निर्माण गरेको रंगशाला लामो समयदेखि जीर्णोद्धारको पर्खाइमा थियो।
जिल्ला खेलकुद विकास समितिमा शंकर थापाको अध्यक्षतामा नयाँ पदाधिकारी आएपछि अहिले रंगशालाले रङ फेर्ने मौका पाएको हो। ‘रंगशालाको मर्मत र खेल मैदान लथालिंग हुँदा धेरै वर्ष वर्षायाममा मैदानमा पानी जम्ने समस्याले फुटबल, क्रिकेटलगायतका खेल आयोजना गर्न समस्या थियो’ विगतलाई सम्झँदै अध्यक्ष थापा भन्छन् ‘पहिलेदेखि नै वैकल्पिक मैदान जरुरी पथ्र्यो।’ सधैं सरकारको उपेक्षामा परेको मेची रंगशाला स्थापनाकालदेखि मर्मत र पुनर्निर्माण हुन सकेको थिएन। जसले लामो समयदेखि यो रंगशालामा खेलकुद गतिविधि पनि ठप्प भएका थिए।
अध्यक्ष थापाका अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट केही समय अघि रंगशालाको मर्मत सम्भारका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिमार्फत टेन्डर भई निर्माणको काम भइरहेको छ। रंगशालामा माटो भर्ने र लेभलिङ गर्नुका साथै प्यारापिटको पनि काम भइरहेको अध्यक्ष थापाले बताए। अब पानी निकासका लागि मैदानभित्र नाला निर्माण गर्ने तयारी समितिले गरेको छ।
करिब १० हजार दर्शक क्षमताको प्यारापिटसमेत जीर्ण अवस्थामा रहेकाले क्रमशः मर्मत गर्दै लैजाने समितिले जनाएको छ। प्यारापिट मर्मतका लागि समेत खेलकुद विकास समितिले थप बजेट माग गरेको छ। अन्तर्राष्ट्रिय मापदण्डको जिल्लाकै एक मात्र मेची रंगशालालाई अझ व्यवस्थित र अत्याधुनिक बनाउन पहल थालिने थापाले बताए।
‘रंगशालालाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट व्यवस्थापनका लागि अनुरोध गरिएको छ’, उनले भने ‘विगतमा यो रंगशालामा खेलेर खेलाडी कहाँ पुगिसके रंगशाला भने जस्ताके तस्तै छ।’ सदरमुकाममै रहेको रंगशालाको उचित व्यवस्थापन र संरक्षणमा चासो नदिँदा ससाना प्रतियोगितासमेत अन्यत्र गर्नु परिरहेको छ। यो रंगशालमा खेल्दा फरक अनुभव हुने भएकाले यसको उचित संरक्षण आवश्यक रहेको राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)