चिनियाँको कारोबार डेबिट कार्डबाटै
पैचिङर : चिनियाँहरू आफ्नो खल्तीमा कम्तीमा पाँचवटा बैंकका कार्ड बोक्ने गर्छन् । चीनको केन्द्रीय बैंकको एक रिपोर्टअनुसार सन् २०१८ मा चिनियाँसँग रहेका बैंक कार्डको संख्या ७.६ बिलियन पुगेको छ ।
पिपल्स बैंक अफ चाइनाका अनुसार सन् २०१८ मा बैंकिङ कारोबारमा प्रयोग भएका कार्डमध्ये डेबिट कार्डको संख्या ६.९१ बिलियन छ । चीनमा पछिल्लो समय कागजी नोटको प्रयोग कम हुँदै गएको छ ।
मानिसहरू दैनिक जीवनलाई आवश्यक स–साना र कम पैसाका सामानदेखि महँगा सरसामान खरिद गरी मोबाइलबाट तिर्ने गर्छन् । सार्वजनिक बस तथा रेल चढ्न या ट्याक्सी चढ्न पनि मोबाइलबाट भुक्तानी गर्ने सुविधा छ । पसलमा सामान खरिद गर्न, चलचित्र हेर्न, हवाईजहाज वा रेलको टिकट किन्न मोबाइल प्रयोग गर्छन् ।
तर, त्यसका लागि मोबाइलको भुक्तानी सेवाका एप्समा पैसा भर्ने वा बैंक खाता जोड्नुपर्ने हुन्छ । चीनमा अधिकांश मोबाइल भुक्तानी अलिपे र विच्याटमार्फत हुने गरेको छ । यसरी कागजी नोटको प्रयोग कम हुनाका साथै मोबाइल भुक्तानी चलनचल्तीमा रहे पनि बैक कार्डबाट हुने कारोबार भने सन् २०१७ को तुलनामा गत वर्ष १३.५१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष २०१८ मा चीनमा नगदबाहेक वाणिज्य पत्र तथा बैंक कार्डबाट मात्र २२०.३१ बिलियन पटक ५६२ ट्रिलियन अमेरिकी डलरको लेनदेन भएको उल्लेख छ ।