आवाजहरूको कोलाज नेपथ्यदेखि पर्दासम्म

आवाजहरूको कोलाज नेपथ्यदेखि पर्दासम्म


रेडियो नेपालका चर्चित प्रस्तोता निरोधराज पाण्डे त नेपाली चलचित्र सिन्दूरमा अमिन सयानीले जस्तै क्यामिओ रोल गरेर मञ्चमा देखिएका थिए।


हाम्रो घरको बज्ने भाँडोमा हैल्लो भनेको सुनेर म यो हैल्लो कहाँबाट आएको भनेर धोबीघाटदेखि सिंहदरबारसम्म हिँडेर रेडियो नेपाल हेर्न पुगेँ ।
:धोबीघाटका एक श्रोता वैद्यजी ।

रेडियोभित्र बोल्ने मान्छे कस्ता हुन्छन् भनेर एक दिन घरमा सबै सुतेको बेला अँध्यारोमा रेडियो खोलेर सबै तार चुँडाएर भाँचेर हेरेँ । भित्र त खाली रहेछ । पछि आफैं रेडियोको प्राविधिक भएँ ।
:रेडियो प्राविधिक पवनप्रकाश उप्रेती ।

बीबीसी हिन्दी सेवाका कमलेश बुधवारलाई देख्दा म स्तब्ध भएँ, यो आवाज कहाँबाट आएको हो भनेर ? 
:वरिष्ठ सञ्चारकर्मी तीर्थ भण्डारी ।

रेडियो आवाजहरूको कोलाज हो, साँच्चै भन्नुपर्दा आवाजविहीनको आवाज नै हो ।
अनि रेडियो र आवाजलाई जोड्ने बीचको माइक्रोफोनको कथा त बाँकी नै छ ।
माइक्रोफोनले दुई नातालाई घनिष्ठ र निकट बनाउँछ तर ती दुई अपरिमेय नातालाई एकै भेटमा मेटी पनि दिन्छ । कस्तो कथा जस्तो सम्बन्ध हुन्छ, रेडियोमा बोल्ने मान्छे र रेडियो सुन्ने मान्छेको । भन्ने गर्छन्, भेटेपछि उहाँलाई सोचेको भन्दा  अलग पाएँ । वा, उहाँ मैले सोचेको भन्दा फरक हुनुहुँदो रहेछ । शब्दहरू नै हुन्, रेडियो ।मात्र शब्दहरू पनि होइनन्, रेडियो । रेडियो त धेरै थोक हो, जस्तो शब्द, स्मृति, अनि संषर्षको एक जीवन ।

यस्तै कुरा गरेका थिए, भारतका हिन्दीभाषी साहित्यकार कमलेश्वरले काठमान्डुको होटल याक एन्ड यतीको एक कक्षमा रेडियोका बारेमा । भारत स्वतन्त्रताको पचासौं वर्षको उपलक्ष्यमा नेपालको 
हिन्दी भाषा प्रतिष्ठानले आयोजना गरेको इलेक्ट्रोनिक मिडिया र साहित्यका बारेमा बोल्ने विषयक 
गोष्ठीमा म उनको कुरा सुन्न र उनी मेरा कुरा सुन्न आएका थिए ।

कमलेश्वरले भाषाको विकासमा रेडियोको भूमिकाबारे मन्तव्य राख्दै गर्दा रेडियोमा आफ्नो जीवन, भाषा र भाषाको भव्यतामाथि गहनतम विचार राख्दै गर्दा हामी त्यहाँ धेरै थियौं, त्यसमध्ये धेरै त रेडियोमा काम गरेका चलचित्रमा जीवन धानेका नै बढी थियौं तर विषय त भाषा र रेडियोको वा अडियो भिजुअल माध्यमकै थियो ।

रेडियो असलमा अहिले अडियो भिजुअलको माध्यम भएको छ तर जब यसले स्रोतव्यक्तिको माध्यम मात्र बन्ने मौका पाएको थियो, त्यो बेला यसले गुण, गरिमा र गोप्यतालाई गर्वका साथ कायम राखेको थियो ।
यही विषयमा कुनै समय लेखक कमलेश्वरले फिर वही नामक सिनेमा लेखेका थिए, त्यो सिनेमामा कसरी आवाजका दुनियाँका मान्छेसित नदेखेर, नचिनेर पनि मान्छे फिदा हुन्छन् भन्ने प्रसंग ल्याएका थिए । कमलेश्वर आफैं रेडियोमा काम गरेका मान्छे भएका हुनाले त्यो हिडन सेलिब्रेटीको महत्त्व बुझेका थिए ।

उनी पनि कुनै समय आवाजका दुनियाँका साथी थिए, बीनाका गीतमालाका प्रस्तोता अमिन जे. सयानी जस्तै । अमिन सयानीले रेडियो सिलोनमा प्रस्तुत गर्ने बीनाका गीतमाला एउटा इतिहास बोकेको रेडियो कार्यक्रम हो यसलाई आजसम्म कसैले भुल्न सकेको छैन, भुले पनि त्यो बराबरको अर्को स्मृति दिन सक्ने कार्यक्रम आउन सकेको छैन । सबैभन्दा रमाइलो कुरा, यो कार्यक्रम नसुन्ने पुस्ताका भाइबहिनीले पनि आज आफूलाई ‘आवाज के दुनियाँ के दोस्त’ भन्ने ट्यागलाइन जोडेका छन्।
यो साँच्चै एउटा रेडियोको करामत नै हो ।

सयानीबाट प्रभावित भएर सायमीसम्म आउँदा हाम्रा रेडियो धेरै प्रस्तोताका बीच पनि कैयाें अमिन सयानी प्रभावित रेडियोकर्मी नआएका होइनन्, तुलसीनाथ ढुंगेल, किरण खरेल, निरोधराज पाण्डे, नरेश अधिकारी, खगेन्द्र नेपाली, पाण्डव सुनुवार वा अरू धेरै ।

धना लामा, सूर्यकुमारी पन्त, शान्ता श्रेष्ठ, नूपुर भट्टाचार्य, सुशीला केसीले पनि रेडियोमा आफ्नो बहुमूल्य आवाज दिए, नेपथ्यबाट । रेडियो नेपालका चर्चित प्रस्तोता निरोधराज पाण्डेले त नेपाली चलचित्र सिन्दूरमा अमिन सयानीले जस्तै क्यामिओ रोल गरेर मञ्चमा देखिएका थिए ।
निरोधराज पाण्डे र किरण खरेलको आवाजले अमिन सयानीको आवाजलाई सम्झाइदिन्छ । पाण्डे र खरेल कुनै समय गीतिकथाका निम्ति लोकप्रिय थिए वा भए । तर रेडियो नेपालमा विधिवत्् रूपमा गीतिकथा सुरु गर्ने तुलसीनाथ ढुंगेलको इतिहास पनि कहाँ कम छ र ? 

तुलसीनाथ ढुंगेलले रेडियो नेपालमा गीतिकथा सुरु गर्दा भारतमा तिनताक अल इन्डिया रेडियोमा बीएन मित्तल, मेल्वाइल डिमेलो लोकप्रिय थिए, सायद 
उनले तिनकै प्रेरणाले रेडियो नेपालमा गीति कथा सुरु गरे कि ? 
रेडियो नेपालबाट पहिलोपटक हिन्दी फिल्म ‘हमलोग’को गीतिकथा प्रस्तुत गर्दा तुलसीनाथ ढुंगेलले त्यो समय बलराज साहनीको आवाजलाई बिर्साइदिएको इतिहासको चर्चा यदाकदा अझै गरिन्छ ।
तुलसीनाथ ढुंगेलले रेडियो नेपालमा गीतिकथा सुरु गर्दा नेपालमा गीत रेकर्डिङको इतिहास चेत भवनमा भर्खरै सुरु गरिएको थियो । तुलसीनाथ ढुंगेलसँगै त्यति बेला चर्चामा आएका शेखर मानन्धर, प्रचण्डमान सिंह, प्रकाशमान सिंह, भोग्यप्रसाद शाह आदि केही चर्चा आर्जेका नाम हुन्।

आजभन्दा ८३ वर्षअघि काठमान्डुको तँलाछी टोलमा जन्मेका शेखर मानन्धरको मातृभाषा नेवार भए पनि नेपाली र हिन्दीमा उनको पकड र बोलीमा कमान्ड देखेर मान्छे त्यति बेला झुक्किन्थे ।
शेखरले आफ्नै सिफारिसमा ल्याएका पछिल्ला समयका चर्चित समाचारवाचक कृष्णा ताम्राकार त्यही समयका उपज थिए । रेडियो नेपालसँग जोडिएर आएको प्रिय नाउँ शेखर मानन्धर र शेखर मानन्धरसँग जोडिएर आएका रेडियोका लोककलाकार महेन्द्रप्रसाद खनाल, चेतन कार्की पनि स्मरणीय छन्।

तर तुलसीनाथ ढुंगेलले सुरु गरेको गीतिकथा परम्पराले रेडियो नेपाललाई पछिसम्म जीवन्त राखेको अर्को पक्ष हो, भाषा र स्मृति, गीत र व्यक्ति । गीतिकथा रेडियो नेपालको पछिसम्म आएर लोकप्रिय कार्यक्रम हुन गयो, रेडियो नेपालको गीतिकथा कार्यक्रमले उद्घोषकलाई जुन ख्याति दिलायो, सँगसँगै गीतिकथा लेख्ने सर्जकलाई झन् ठूलो आकाश दियो ।
रेडियो नेपालको गीतिकथाले जन्माएका केही नाम चलेका स्रष्टामध्ये एक हुन् सुवासचन्द्र ढुंगेल । गीतिकथा लेखक ढुंगेल गीतसँग जोडिएको कथा  लेख्दै पछि आफैं एक कुशल गीतकार भए । यो अर्कै इतिहास हो । ढुंगेलजस्तै कैयन् प्रतिभा गीतिकथाकै माध्यमबाट रेडियोसित जोडिँदै आए, यहाँ नामको फेहरिस्त लामो छ ।

रेडियो नेपालसँग धेरै गीतकारको गीतिकारिताको इतिहासजस्तै अतिरेक इतिहास जोडिएका छन्। विसं २०१८ मा फुलाई फूल फूल न धरती आकाश ओर्ली आउला बाट गीति संसारमा प्रवेश गरेका ईश्वरवल्लभ पछि सूचनाचक्रमा यसरी जोडिए जसरी कुनै समय गीतकार यादव खरेल, राममणि रिसाल, भोग्यप्रसाद शाह जोडिएका थिए ।

गीतकार वा कविका हैसियतले विशिष्ट पहिचान बनाएका ईश्वरवल्लभलाई पहिलोपटक झरना र झंकार कार्यक्रममा सुन्न पाउँदा यो पंक्तिलेखक एउटा अद्भुत आवाजसँग साक्षात्करण हुन गएको महसुस गर्छ । ईश्वर वल्लभको आवाजमा ईश्वरवल्लभ नै गुञ्जिन्थे, अलिकति काव्यकर्खा, अलिकति पोयटक इस्सेन्स््, अलि धेरै नोस्टाल्जिक जोन हुन्थे उनका ।
ईश्वर वल्लभ यसरी केही कारणले गीत र रेडियो कार्यक्रममार्फत जोडिए, उनले सुरु गरेका अन्य कार्यक्रम पनि यादगार नै रहे । तर, उनीसित जोडिने चीज दुइटा नै भए, गीत र आवाज । ईश्वरवल्लभको आवाजमा दार्जिलिङ र काठमाडौंलेली भाषाको मोन्ताज पाइन्थ्यो, अहिले सम्झिँदा ईश्वरवल्लभ नै  थिए अर्का गीतिकथा शैलीका प्रस्तोता । तर उनले गीतिकथा पढेनन् सायद । बरु उनका भ्राता विश्ववल्लभले पढे ।

विश्ववल्लभ, सूर्यकुमारी पन्त, शरद्राज गौतम, पाण्डव सुनुवार, निरोधराज पाण्डेले पढेका कैयन् गीतिकथाका सर्जक आज नेपाली साहित्यमा स्थापित नाम भएका छन्, गीतकार सुवासचन्द्र ढुंगेलजस्तै । गीतिकथाले लेखेको रेडियो नेपालको इतिहास एक अनन्य पाटो हो, तुलसीनाथ ढुंगेलले सुरु गरेको हिन्दी फिल्मी गीतिकथापछि सुवासचन्द्र ढुंगेल प्रवृत्तिका गीतिकथासम्म आइपुग्दा ।

तुलसीनाथमा आवाज थियो, हिन्दी, अंग्रेजी अनि अन्य भाषा संस्कृतिको ज्ञान थियो र उनमा भाषागत स्वच्छन्दता थियो, जस्तो आजकाल त्यो पाइँदैन । तुलसीनाथको पर्सोनाबारे रेडियो नेपालका प्रथम गीतकार शंकर लामिछानेले लेखेका छन्,

रेडियो नेपालबाट यस्तो आकर्षक प्रोग्राम । कस्तो मीठो धोत्रो स्वर । बोल्ने लहजाले एकदम फिल्मका हिरो बलराज साहनीलाई सम्झाइदिने वा भनौं बिर्साइदिने ।
म अलिकति लालायित भएँ उसँग भेट्न । कल्पना गरेँ, निश्चय पनि सुग्घर अग्लो, खाइलाग्दो जीउ, र त्यस्तै व्यक्तित्व भएको ऊ हुनुपर्छ । एकप्रकारले मैले उसलाई यस्तो रूपमा भएको मान्छेको कल्पना गरेँ जो बम्बईको भीटी स्टेसनमा ओर्लिनासाथ सोझै फिल्म स्टुडिओतिर दौडाइन्छ । पछि देख्दा मलाई मेरै कल्पनाउपर शरम लाग्यो । यी थिए, शंकर लामिछानेले सम्झेका तुलसीनाथ ढुंगेल जसको तुलना बलराज साहनीसित गरिएको छ, आवाज भन्ने कुरा स्मृति नै हो ।

त्यति बेला बलराज साहनी लोकप्रिय थिए, रेडियोमा । पछि उनी सिनेमामा गए । जसरी रेडियोबाट सुनील दत्त बलिउड गए । जसरी रेडियोमा बोल्दाबोल्दै रोनाल्ड रेगन हलिउडमा नायक हुन गए र उनी एक्सन हिरो नै भए । तिनै रेगन पछि अमेरिकाका राष्ट्रपति भए ।
आवाज ब्रह्म हो ।

आवाज सुनेर मान्छेले सबै कुराको परिकल्पना गर्छ जसरी तुलसीनाथका बारे शंकरले कल्पना गरेजस्तै । आवाजको परिकल्पित संसारमा अमिताभ बच्चन वा राजेश खन्ना मात्र सिनेमामा शाहरूख खानले समेत रेडियो उद्घोषकको भूमिका निर्वाह गरेका छन्, मणिरत्नम्् निर्देशित ‘दिल से’मा । यो रेडियोकर्मीको व्यवसायमा बनेको एक उत्कृष्ट सिनेमा हो ।
रेडियो, गीत र माइक्रोफोनका अगाडि यस किसिमको भूमिकामा बलिउडका पहिलो सुपरस्टार राजेश खन्नाले अनुरोध फिल्ममा यही भूमिका ल्याएका थिए, अमीन जे सयानीको टोन दाहो¥याउँदै...
आवाज के दुनियाँ के दोस्तोँ...

आवाजका दुनियाँमा यस्ता धेरै नाम छन् जसले आफ्नो रचनासत्तलाई रेडियोसँग जोडेका छन्, ‘बसाइँ’ जस्तो चर्चित उपन्यासका लेखक लीलबहादुर क्षत्रीले रेडियो उद्घोषकको जीवनमा ‘अतृप्ति’ नामक उपन्यास लेखे । डाकबंगाल उपन्यासका लेखक शिवकुमार राईले आकाशवाणी खरसाङमा सुब्बासाहबको डाक नै चलाए । गीतकार जस योञ्जन प्यासी आकाशवाणी खरसाङसँगै आवाजमै जोडिए ।
रेडियोका माइक्रोफोनअगाडि ईश्वर वल्लभ जस्तो कार्यक्रम प्रस्तोता भएर स्टुडिओमा नआए पनि उनका समकालीनद्वय कवि भूपि शेरचन र नगेन्द्र थापाले पनि आवाजका दुनियाँका साथीलाई कैँयौंपटक 
प्रणाम गरे, अम्बर गुरुङ साँझमा होस्् वा मीतज्यू नाइटमा । नगेन्द्र थापाजस्तै गीतकार दिनेश अधिकारी, गीतकार सुवासचन्द्र ढुंगेल, कवि गगन विरही वा नाटककार दिनेश भुजूले आफूलाई आवाजको दुनियाँसित जोडे ।

कुनै मूल्यांकनले हेर्दा रेडियो नेपालले उहिल्यै बनाएको उद्घोषकको मापदण्ड बलियो थियो वा सही थियो । तर अहिले टेलिभिजन वा युट््युबले त्यसलाई तोड््दै गएको छ ।
केही अनौठो आवाज हामीसित पछि अहिले एफएमले त्यसलाई स्थापित गर्दै गएको छ । यही सत्य हो । सत्यहरू नै हुन् आवाज ।आवाज त हामी सबैसित छ तर त्योसँग जोडिएको स्मृति चाहिँ नोस्टाल्जिक नै हुन्छ ।
वा, स्मृतिहरू नै हुन् रेडियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.