सरकार नपुगेकाे बस्ती
पर्साको पर्टेवा सुगौली– ५ मोर टोल। ७२ घरधुरी छन्। वीरगन्ज बजारदेखि करिब तीनघन्टा गाडीको यात्रापछि पुगिन्छ, मोर टोलमा। करिब डेढ वर्षअघिको बाढीले निकै क्षति पुर्याएको टोल/बस्ती। टोलवासीले जीवनभर कमाएको सम्पत्ति र घरटहरा सबै पानीसँगै बगेर गयो। टोलवासी अहिले पनि त्रिपालमुनि छ। सक्नेले फुसको घर बनाए भने नसक्नेले पाल टाँगेर जीवन गुजारा गरिरहेका छन्।
मोर टोलमा पुग्ने बाटो अझै बनेको छैन। गाडीबाट उत्रिएपछि दुई किमि हिँडेर त्यहाँ पुग्न सकिन्छ। मोटरसाइकलसम्म कुदाउन सकिने गोरेटो बाटो बनेको छ टोलसम्म। फाट्टफुट्ट बाइक कुदेको देखिन्छ। गाउँमा भएका मोटरसाइकल प्रायः बिहेमा दाइजोका आएका हुन्।
खरको छानो भएको फुसको घर, घरछेउमा माटोले बनाइएको गोलो आकारको धान राख्ने चिटिक्कको बेहरी। नजिकै भैंसी गोठ। कुखुरा, हाँस र बाख्रा यताउता चरिरहेका। आपसमा जोडिएर बनेका घर। बालबालिका धुलोमा यसै खेलिरहेका छन्। कसैको खुट्टामा चप्पल छैन, कसैको आङमा लुगा छैन। केही बालबालिका स्कुलबाट घर फर्किंदै छन्। टाँक चुँडिएको सर्ट, हुक खुस्किएको पेन्ट हातले समाउँदै उनीहरू हतारहतार आआफ्नो घरतिर कुदिरहेका छन्। झट्ट हेर्दा मोर टोलको बाहिरी दृश्य यही हो।
टोलभित्र पसेपछि मात्रै थाहा हुन्छ उनीहरूको दुःख। अभाव र राज्यविहीनताको अनुभव। संसार विकासको गतिमा दौडिरहे पनि मोर बस्तीमा अझै बिजुली पुगेको छैन। बिजुली बालेर आफ्नो टोल झलमल बनाउने स्थानीयको रहर सपनामै सीमित छ। टोलमा बिजुलीको पोल गाडिएको तीन वर्ष बढी भयो। तार पनि झुन्ड्याइएको छ। दस महिनाअघि ट्रान्सफर्मर पनि राखिएको छ। तर गाउँपालिका अध्यक्षकै मनोमानीका कारण बिजुली बल्न नसकेको दुखेसो सुनाउँछन् स्थानीय अगुवा सुरेन्द्र राउत बिन।
बाढीपीडितलाई सरकारले दिने २५ हजार राहतस्वरूपको रकम २८ परिवारले अहिलेसम्म पाउन सकेको छैन। कसैको नागरिकता नभएका कारण त कसैको सरकारी टिपोट र नागरिकतामा नाम फरक परेको भन्दै सरकारले राहतसमेत दिएको छैन।
धेरैजसो दलित परिवार छन् यस टोलमा। विन, चमार र केही मुस्लिम समुदाय पनि। सामाजिक रूपमै विभेदको सिकार भएका दलित समुदायलाई प्राकृतिक विपत्तिले पनि मर्माहत बनाएको छ। सरकारको उपस्थिति शून्यप्रायः छ। चुनावको बेला भोट माग्दै दलहरूले टाँसेका पर्चा अझै देखिन्छन्। दलका नेताकार्यकर्ताको उपस्थिति भने निर्वाचनपछि शून्य रहेको स्थानीय बताउँछन्। तैपनि उनीहरू भनिरहेका छन्, ‘हामी नेपाली हौं। हामीलाई यही ठाउँको माया छ।’
भत्किएको घरछेउमा बसेर महिला एक ठाउँमा भेला भएर गफ गर्दै थिए। पुरुष अर्कोतिर त्यसै अल्मलिरहेका छन्। कसैले मजदुरी गर्न बोलाएमा उनीहरू मेलापात जान्छन्। दुईचार रुपैयाँ ल्याउँछन् र छाक टार्छन्। महिला घरभित्रैको काममा अल्मलिन्छन्। प्रशस्त उब्जनी हुने खेतबारीमा बाढी पसेर खण्डहर बनाएको छ। ‘पहिलेको तुलनामा खेतमा अन्न फल्नै छाड्यो’, लालुदेवी विन खुइय सुस्केरा हाल्दै भन्छिन्।
बस्तीमा एउटा मात्रै स्कुल छ। जहाँ तीन कक्षासम्म मात्रै पढाइ हुन्छ। तीन कक्षाभन्दा माथि पढ्न दुई कोष पर पुग्नुपर्छ। त्यहाँसम्म पठाउने हिम्मत छैन मोरवासीको। हिँड्न सक्ने र साइकल किन्न सक्नेका बालबालिका अन्य गाउँमा पुग्छन्। प्रायः किशोरीको भागमा तीन कक्षाभन्दा माथिको शिक्षा पर्दैन। भाइबहिनी हेर्ने, भाँडा माझ्ने, गाइभैंसीलाई घाँसपात, खाना बनाउने काम पेवाजस्तै हो किशोरीको।
गाउँमा पस्दापस्दै भर्खरै बिहे गरेकी बालिका परालको कुन्युमा पराल तानिरहेकी थिइन्। नानु कति कक्षामा पढ्छौ नि ? हत्तपत्त घुम्टो छोपेर उनी बोल्छिन्् ‘शादी सुदा हमनी हई। शादी सुदा भि कही स्कुल जा त ? म नाजवाफ। उमेरले १५ टेक्दै गरेकी उनले गत वर्ष बिहे गरेकी रै छिन्। केहीबेरमा हाफपेन्ट लगाएका एक किशोर घरबाहिर निस्किए र भने ‘इ हमर बिबी वा’। उनीहरू लजाउँदै घरभित्र पसे।
धेरैजसो युवकयुवती घरको काममै अल्झिएका देखिए। स्कुल जान मन लाग्दैन ? तीन कक्षा पढेर छाडेकी निमादेवी भन्छिन्, ‘पैसा हुनेले मात्रै नजिकको बोर्डिङ स्कुल पढ्न पाउँछन्, हामी कसरी जाने तेती टाढा, कसले दिन्छ पढ्ने पैसा ? अधिकांश किशोरी तीन कक्षाभन्दा माथि पढेका छैनन् गाउँमा। गाउँभरिमा एसएलसी पास गर्नेको संख्या कमै छ। हामी पुगेको दिन गाउँको स्कुलमा जम्मा ३० जना विद्यार्थी उपस्थित थिए। २७ जना केटाको संख्या थियो भने केटीहरू जम्मा तीनजना मात्रै। मोरका किशोरी पढ्ने रहर मार्न बाध्य छन्।
सरकारको उपेक्षामा परेको मोर बस्ती अभाव र समस्याको स्वरूप भएको छ।
अलिपर सानो चौपारी छ। काठ ढलाएर तेर्सा पारिएको छ। जहा केटाकेटी खेलिरहेका छन्। गाउँले यताउता गएर थाकेर आउँदा शीतल ताप्ने र सुस्ताउने ठाउँ हो यो चौपारी। गाउँमा कोही नयाँ मान्छे आयो कि सबैजना त्यहीं भेला हुन्छन्। घर बनाउने कोही मनकारी भेटिन्छन् कि भन्ने आशा छ उनीहरूको।
यही चौपारीमा ससाना बालबालिका खेलिरहेका छन्। जगतिया देवी विन, रानुदेवी विन, ललितादेवी विन, कृष्णावती विन, लालतीदेवी विन, पम्फादेवी विनलगायत केही महिला भेला भएका थिए। उनीहरूलाई भत्किएको घर कसरी बनाउने भन्ने चिन्ताले सताएको छ। ललितादेवी ३० वर्षकी भइन्। उनका ४ छोरी र एक छोरा छन्। उनको पति बेहरी बनाउने काम गर्छन्। उनकी जेठी छोरी १४ वर्षकी भइन्। छोरीको बिहे कसरी गर्ने र तीलकको जोहो कहाँबाट गर्ने भन्ने चिन्ताले उनलाई सताइरहन्छ।
१६ वर्षअघि बिहे हुँदा उनलाई २० हजार दाइजो दिएका थिए। तर अहिले समय उस्तै रहेन। जस्तै नहुने गरिबले बिहे गर्दा पनि ३÷४ लाखको हाराहारीमा खर्च गर्नेपर्ने बाध्यता छ उनीहरूको। डेढ लाख रकम र ज्वाइँका लागि एउटा मोटरसाइकल छोरीको बिहेमा अनिवार्य जस्तै भइसक्यो। त्यसैले पनि होला खाने बस्ने टुंगो नभएको घरको आँगनमा पनि मोटरसाइकल देखिन्छ। भर्खरै बिहे गरेका केही किशोर तीलकमा आएको मोटरसाइकल चढेर ओहोरदोहोर गरेका देखिन्थे।
गाउँ भद्रगोल देखिन्छ। कसैको घरमा शौचालय छैन। सरसफाइमा कमजोर देखिन्छ बस्ती। महिला तथा बच्चामा स्वास्थ्य समस्या देखिन्छ। कोही बिरामी भयो अस्पतालभन्दा धामी हेराउँछन् उनीहरू। कति मानिस त अस्पताल पुग्नै नपाइ मर्न बाध्य छन्। अस्पताल लैजानुहुन्न ? भन्ने प्रश्नमा रानुदेवी भन्छिन्, ‘अस्पताल त साहुहरूका लागि हो। ’
बालबालिकाको आङमा गतिलो लुगा पनि छैन। दुःखले जोडेको सम्पत्ति बाढीले सखाप बनायो। उद्योग वाणिज्य संघका पदाधिकारी टोलमा पुगेका थिए केही समयअघि। सबैलाई घर बनाइदिने आशा देखाएर गए। उनीहरूले देखाएको आश पूरा हुनेमा अझै विश्वस्त छन् टोलवासी। सरकारले घर बनाइदिने आशा अझै मरेको छैन।
सरकारको उपेक्षामा परेको मोर बस्ती अभाव र समस्याको स्वरूप भएको छ। जहाँ बस्नलाई घर छैन। खेती गर्ने बारी खण्डहर बनेको छ। बिजुली बत्ती, बाटोघाटो, विकास निर्माण, स्कुल कलेजजस्ता विकासका सुविधाले यो बस्तीलाई कहिले छुने होला ?