मादकपदार्थ सेवन गरी अस्पताल भित्र हुलदंगा गर्ने चार पक्राउ
विराटनगर : विराटनगरस्थित कोसी अञ्चल अस्पतालभित्र प्रवेश गरेर हुलदंगा र होहल्ला गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका-३ का ३० वर्षीय विनोद राय, २३ वर्षीय उमेश राय, २५ वर्षीय जागवत सहनी र प्रमोद राय रहेका छन्।
उपचार गराउने बाहनामा शनिबार साँझ अस्पताल प्रवेश गरेर उनीहरुले आकस्मिक कक्षका चिकित्सक र कर्मचारीलाई हातपात एवं दुर्व्यवहार गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।
प्रहरीका अनुसार मदिरा सेवन गरेर हिंड्ने क्रममा बाटोमा लडेर विनोदको हातमा चोट लागेको भन्दै उनीहरु उपचारका लागि अस्पताल आएका थिए। विनोदसहित चारैजनाले आकस्मिक कक्षका डा. सुनिलबावु खनालसमेतका चिकित्सक र अस्पतालका कर्मचारीलाई अपशब्द बोल्दै दुर्व्यवहार र हातपात गरेको एसपी केसीले बताए।
घटनाको जानकारी पाएर पुगेको प्रहरीलाई समेत युवाहरुले हातपातको प्रयास गरेका थिए।'उपचार गराउन भन्दै आएका युवाहरुको समूहले अस्पतालभित्र उपचार गराइरहेका अन्य बिरामीलाई समेत असर पर्ने गरी होहल्ला गर्दै चिकित्सक र कर्मचारीलाई आक्रमणको प्रयास गरेको पाइयो, केसीले भने, 'सम्झाई बुझाई गर्दा उल्टै प्रहरी टोलीमाथि अभद्र व्यवहार गरे।'
उनका अनुसार पक्राउ परेकाको स्वास्थ्य परीक्षण गराउँदा सबैजनाले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो। पक्राउ परेका युवालाई बिना कारवाही छाड्नका लागि राजनैतिक दलका नेता र विभिन्न ठाउँबाट प्रहरीलाई दबाब आएको थियो। तर प्रहरीले चारैजना विरुद्ध आइतबार 'अभद्र व्यवहार' अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।