रिपोर्ट लुकाउँदा देशभर फैलियो बर्डफ्लु

रिपोर्ट लुकाउँदा देशभर फैलियो बर्डफ्लु

हेटौंडा : हेटौंडाका किसालने पालेको कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि बर्डफ्लु फैलिएको आशंका गरिएको छ। गत फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेको कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो। 

लगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गर्‍यो।

लगत्तै जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्री वितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान चलाएको थियो। चैत्र तीन गते आधा दजर्न खोरमा पालिएका कुखुराको नमुना पठाउँदा चैत्र पाँच गते नै बर्डफ्लु पुष्टि भएपछि दुई सातासम्म प्रतिवेदन लुकाएको भन्दै जिल्ला प्रशासन कार्यालयले सोधिखोजी सुरु गरेको हो। 

त्यसयता हालसम्म एक दर्जन बढी किसानले पालेको कुखुराको नमूना पठाउँदा प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै प्रतिवेदन दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।'प्रयोगशालाबाट रिपोर्ट ढिला आउँदा बर्डफ्लु प्रभावित क्षेत्रका बिक्री गर्न योग्य कुखुरा विभिन्न ठाउँमा पुगे, तामाङले भने, 'त्यसपछि काठमाडौं, भक्तपुर, चितवनलगायतका ठाउँमा पनि बर्डफ्लु देखिन थाल्यो।'

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडासँग रिपोर्ट ढिला आउनबारे जानकारी लिन पत्र काटिएको र जवाफ आइनसकेको उनले बताए। 'प्रयोगशाला र हेटौंडा केन्द्रका कर्मचारीको बदमासीले समयमा नै बर्डफ्लु रोग नियन्त्रणमा लिन सकिएन, उनले भने, 'यो किन र कसरी भयो,कर्मचारीको भूमिकाको बारेमा छानबिन भइरहेको छ।'

हेटौंडाको ६, ७ र १६ नम्बर वडाका केही किसानले पालेको कुखुराको नमुना परीक्षणको काम भइरहेको तामाङले बताए । 'अझै बर्डफ्लु पूर्ण नियन्त्रणमा आएको छैन,उनले भने, 'हालसम्म आफै मरेको र नष्ट गरिएको कुखुराको करिब ५६ हजार रहेको छ।'

धमाधम कुखुरा मर्न थालेपछि कुखुरा व्यवसायी संघ मकवानपुरले रानीखेत रोगका कारण कुखुरा मरेको दाबी गर्दै बजारमा कुखुरा बिक्री वितरण गरेको थियो। 'बर्डफ्लुल मरेको कुखुराको बिमा कम्पनीबाट पैसा नआउने भएपछि कुखुरा व्यापारीले  रोग लुकाएर देशभर रोगी कुखुरा बिक्री वितरण गर्ने काम भएको छ, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु अधिकारीले भने, 'कुखुरा व्यवसायीसँगको मिलेमतोमा पशु सेवाका कर्मचारीले रोगी कुखुरा बिक्री वितरण गर्ने काम गरेको छ, यसबारे कडा छानबिन गर्न हामीले माग गरेका छौं।' रोगी कुखुरा बिक्री वितरण गरिँदा देशका अन्य क्षेत्रमा पनि बर्डफ्लु सरेको उनको दाबी छ। 

कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले बर्डफ्लु पूर्ण नियन्त्रणमा आइनसकेको बताए। 'पाँच÷दश प्रतिशत बाँकी छ, हामी क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं, उनले भने, 'ढिला रिपोर्ट आउनु र अन्यत्र पनि बर्डफ्लु देखिनु हाम्रो गल्ती होइन।'
 
 भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डाक्टर चेतनारायण खरेलले पशु चिकित्सकले चेकजाँच गरेपछि मात्र कुखुरा जिल्ला बाहिर बिक्री वितरण हुने भएकाले हालसम्म रोगी कुखुरा जिल्ला बाहिर नगएको दाबी गरे।'रोगी कुखुरा जिल्ला बाहिर गएको छैन, हामी बर्डफ्लुलाई पूर्ण नियन्त्रणमा ल्याउने गरी काम गरिरहेका छौं,'उनले भने।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.