विदेशबाट फर्केर व्यवसायिक कृषिमा

विदेशबाट फर्केर व्यवसायिक कृषिमा

सिन्धुपाल्चोक : मेलम्ची ३ बाजखेतका पुरुषोत्तम खतिवडाले वैदेशिक रोजगारीका सिलसिलामा आठ वर्ष विदेशमा बिताए। दुई वर्षदेखि उनले घरैमा व्यावसायिक कुखुरापालन गरिरहेका छन्।उनले सुरुमा तीन सयवटा कोइलर चल्लाबाट व्यवसाय सुरु गरे।

कोइलरभन्दा लेयर्स कुखुराबाट आम्दानी बढी हुने ठानेपछि लेयर्स पाल्न थालेको उनी बताउँछन्। पाँच लाखको लागतबाट व्यावसायिक कुखुरापालन सुरु गरेका खतिवडाले चार हजार कुखुरा अट्ने क्षमताको खोर बनाएका छन्। उनीसँग तीन हजार कुखुरा छन्। उनले दुई लाख ७५ हजार रुपैयाँ खर्चेर खोर बनाएका हुन्। हालसम्म उनको व्यवसायमा ३८ लाखभन्दा बढी लगानी गरिसकेका छन्। 'यहाँ अण्डाको माग बढी छ, जति उत्पादन भए पनि बिक्री समस्या छैन,' उनले सुनाए। अण्डा भोटेचौर, मेलम्चीका स्थानीय बजारमै खपत हुने गरेको उनले सुनाए। उत्पादन बढाउँदै लैजाने र काठमाडौंमा समेत अण्डा बिक्री गर्ने उनको सोच छ।

चार÷चार वर्ष दुवई र कतारमा सुपरमार्केटमा काम गरेका खतिवडाले अजित कृषि फार्ममार्फत कुखुरासँगै मौसमअनुसार व्यावसायिक तरकारी खेतीसमेत गर्छन्। 'विदेश बस्दा धेरै तनाव भयो', भन्छन्, 'अहिले परिवारको साथमा व्यवसाय गर्दा पैसा र खुसी दुवै मिलेको छ।'छिनछिनमा बत्ती जाने समस्याले उनलाई कुखुरापालनमा पनि समस्या भएको छ। भन्छन्, 'ऋण पाए सोलार किन्ने योजनामा छु।' विदेश बसेको केही समयमै गाउँमै व्यवसाय गर्ने उनको योजना थियो। तर आर्थिक अवस्था कमजोर हुँदा उनी दुईचोटी विदेश जान बाध्य भए।

मेलम्ची १ मबिरका गायत्री चौलागाईंका पति ६ वर्षदेखि मलेसिया छन्। उनले पतिलाई फर्काउन व्यावसायिक भैंसीपालन सुरु गरेकी छन्। 'छिट्टै भैंसीको संख्या बढाउने सोचमा छु, भन्छिन्, 'अब उहाँ आएपछि विदेश नफर्काउने सोचमा छु।' चारवटा भैंसी पालेकी उनको व्यावसायिक गोठ बनाएर भैंसीको संख्या दोब्बर बढाउने योजना छ। उनले दैनिक २४ लिटर दूध बेच्छिन्। दूधबाट दैनिक एक हजार चार सय रुपैयाँ आम्दानी गर्छिन्।

मलेसियामा चार वर्ष सुरक्षा गार्डको रूपमा बिताएका मेलम्चीका देवेन्द्र गुरुङ समूहमार्फत किबी खेती सुरु गरेका छन्। हरियाली कृषक समूहमार्फत २३ जना मिलेर प्रतिव्यक्ति तीन लाख सेयर हालेर किबी खेती सुरु गरेका हुन्। दुई वर्षअघिदेखि सुरु भएको किबीमा एक करोड लागत पुग्ने अनुमान छ। किबीबाट लाभ लिन अझै दुई वर्षभन्दा बढी कुर्नुपर्नेछ।

खतिवडा, चौलागाई र गुरुङ मात्र होइन, सिन्धुपाल्चोकमा वैदेशिक रोजगारीबाट फर्केर अधिकांश युवा व्यावसायिक कृृषितर्फ लागेका छन्। केही वर्ष विदेशको अनुभव र पैसा लिएर स्वदेशमै कृषि उत्पादनतर्फ लागेको सिन्धु कृषि सुधार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद चौलागाईंले बताए। 'अधिकांश सदस्य कृषि उत्पादनमा जोडिएका छन्', उनले भने, 'सहकारीबाट ऋण लिएर व्यवसाय गर्नुभएको छ।' 'धेरै सदस्यले १६ प्रतिशत ब्याज धेरै भयो भनेका छन्', उनले भने, 'त्योभन्दा कममा दिन सकिने अवस्था छैन।' राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई तिम्सिनाले सरकारले दिने सहुलियत कर्जा नपाउँदा सहकारीको ब्याज महंगो परेको बताइन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले सहकारी बैंकको सञ्चालन खर्च घटाएर पनि ब्याजदर घटाउन सकिने बताए। राष्ट्र बैंकले सहकारीमार्फत सहुलियत कर्जा वितरण गर्दै आएको उनको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.