महेश थापाको ‘मरिचिका’ सार्वजनिक
काठमाडौं : महेश थापाद्वारा लिखित कथासंग्रह मरिचिका पाठकमाझ आएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बीच पुस्तक विमोचन गरेका हुन्। आफैं अफ्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे।
‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उनले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो’, प्रधानमन्त्री ओलीले भने ‘अरू सशक्त अवस्थामा रहेकाले उनको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्छ।’
समाजमा राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहनुपर्ने प्रधानमन्त्री ओलीले बताए।
लेखक थापा शारीरिक रूपमा अशक्त छन्। सामान्य रूपमा चल्ने एक हातको दुई औंलाको सहायताले व्यंग्यात्मक रूपमा उनले कलम चलाउने गर्छन्। सामाजिक तथा राजनीतिमा देखिएको विकृति, विसंगतिविरुद्ध थापाका व्यंग्यात्मक लेख लोकप्रिय मानिन्छन्।
कार्यक्रममा प्राज्ञ माया ठकुरी, कवि तथा लेखक डा. सरोज धिताल र कवि तथा लेखक अभय श्रेष्ठले पुस्तकको बारेमा समीक्षा गर्दै लेखक महेश थापालाई हार्दिक बधाई तथा थप सफलताको लागि शुभकामना पनि व्यक्त गरेका थिए।
यस्तै लेखकीय मन्तव्य लेखकलाई बोल्न कठिनाइ हुने भएकाले उनको पत्नी निशा शर्माले पढेर सुनाएकी थिइन्। यसअघि लेखक थापाको आत्मकथा अल्पविराम र व्यंग्यात्मक पुस्तक नमोस्नम बजारमा लोकप्रिय भइसकेको छ।