साथीसँग खेल्न गएका बालकको माटोको ढिस्कोमा पुरिएर मृत्यु

साथीसँग खेल्न गएका बालकको माटोको ढिस्कोमा पुरिएर मृत्यु
जयप्रकाशलाई ढिस्कोले पुरेको स्थानमा पुगेको प्रहरी टोली । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर :मोरङमा माटोको ढिस्कोले पुरिएर एकजना बालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–६ सखुवा टोल बस्ने रामप्रकाश चौधरीका छोरा १० वर्षीय जयप्रकाश चौधरीको मृत्यु भएको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार जयप्रकाश बुधबार साँझ ५ बजेतिर अन्य ३ जना साथीहरुसँग खेल्नलाई घरनजिकको बूढीखोला किनारमा गएको खुलेको छ । खेल्ने क्रममा खोला किनारमा रहेको माटोको ढिस्कोले उनलाई पुरेको पाइएको बस्नेतको भनाइ छ ।

जयप्रकाशलाई माटोले पुरेको भएपनि त्यसको जानकारी समयमा प्राप्त हुन सकेन । ‘माटोले पुरिएको सूचना समयमा नआएकै कारण बालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,'डीएसपी बस्नेत भन्छन्,‘घटना हुनासाथ जानकारी पाएको भए उद्धार गरेर बचाउन सक्ने अवस्था रहन्थ्यो ।’ उनका अनुसार सँगै खेल्न गएका साथीहरुले पनि जयप्रकाशलाई माटोको ढिस्कोले पुरेको जानकारी अभिभावकलाई गराएनन् । 

‘ढिस्को खसेर जयप्रकाशलाई पुरेपछि सँगै गएका साथीहरू घर फर्किएर आएछन् । तर, घटनाका बारेमा कसैलाई भनेनछन्,'बस्नेतले भने,‘सायद डराएर उनीहरूले कसैलाई नभनेको हुनुपर्छ । पछि खोजी गर्ने क्रममा मात्रै कुरा खुलेछ ।’ 

जयप्रकाश अवेरसम्म घर नफर्किएपछि अभिभावकले खोजी गरेका थिए । त्यतिबेला मात्रै साथीहरूले जयप्रकाशलाई ढिस्को खसेर पुरेको जानकारी गराएका थिए । उनीसँगै खेल्न गएका साथीहरूले पछि घटनास्थल पुर्‍याएका हुन् । प्रहरीका अनुसार अभिभावकले थाहा पाएर घटनास्थल पुग्दा रातको ९ बजेको थियो । बुवा रामप्रकाश पुगेर हेर्दा छोरा जयप्रकाशलाई माटोको ढिस्कोले पुरिरहेको अवस्थामा फेला पारेका थिए । 

प्रहरीका अनुसार जयप्रकाशको मृत्यु घटनास्थलमै भएको हो । तर, उद्धार गरेर ९:३० बजेतिर विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरी शवलाई अभिभावकको जिम्मा लगाएर घटनाको अनुसन्धान सुरू गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका इन्सपेक्टर हेमराज ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ । 

दाजु अशोक चौधरीका अनुसार जयप्रकाश नजिकैको बोर्डिङ स्कुलको कक्षा ३ मा पढ्थे । छुट्टी भएर स्कुलबाट घर आएपछि साथीहरुसँग खेल्न गएको अशोक बताउँछन् । ‘खेल्न गएकामध्ये दुईजना साथीहरूले ढिस्को खसेर पुरेको देखेछन् । तर,उनीहरूले कसैलाई पनि खबर गरेनन्,’उनी भन्छन्,‘घर नआएपछि खोजी गर्दा पुरिएको अवस्थामा फेला पारियो । तत्काल बाहिर निकालेर अस्पताल पुर्‍याए पनि भाइलाई बचाउन सकिएन ।’ 

अशोकका अनुसार सँगै खेल्न गएकाहरुले नै पछि घटनास्थलमा पुर्‍याएका हुन् । ढिस्कोले पुरिएको देखेकाहरूले डराएर घटनाका बारेमा कसैलाई नभनेको पाइएको उनको भनाइ छ । जयप्रकाशसँग खेल्न गएकाहरू ८–९ वर्षका बालक रहेको अशोकले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.