जंगलमै शिविर राखेर गरिन्छ भिरमौरीको मह सिकार
गोरखा : धार्चे गाउँपालिका—४ लाप्राकका युवाहरू केही दिनदेखि रासनपानी, ओढ्ने–ओछ्याउने बोकेर लेकतिर पुगेका छन्। उनीहरूको नेतृत्व स्थानीय गोठ समिति र वन समितिहरूले गरेका छन्। उनीहरू दिनभिर भिर, पहरामा झुन्डिएर मह काढ्छन्। दामासाहीले मह बाँड्छन् अनि साँझ परेपछि क्याम्पमा गएर बास बस्छन्। भोलिपल्ट फेरि उही कार्यक्रम दोहोरिन्छ।
उत्तरी गोरखाका विभिन्न भिर पहरामा यतिबेला भिरमौरीको मह सिकार गर्ने सिजन सुरु भएको छ। लाप्राकमात्र होइन, धार्चे गाउँपालिका— १ को हुल्चुक, वडा नं. २ को रुञ्चेत, वडा नं. ३ को खोर्ला, उहियाँका दर्जनौँ भिरहरूमा पनि धमाधम भिरमौरीको मह काढ्ने काम भइरहेको स्थानीयबासीको भनाइ छ।
एक दुई जनाले मात्र मह सिकार गर्न सम्भव छैन। त्यसैले गाउँका हरेक घरधुरीबाट गएका युवाहरू सामूहिक रूपमा मह सिकार गर्ने गर्छन्। कसैले रातसाँझ चोरी गरेर महसिकार गरेमा कारबाहीको भागीदार बन्नुपर्ने वडाध्यक्ष बताउँछन्।
अहिले वडा नं. ३ को निम्रुङखोलाका विभिन्न १३ वटा भिरमा भिरमौरीको मह काढिसकिएको वडाध्यक्ष शेरबहादुर गुरुङले जानकारी दिए। ‘धार्चे गाउँपालिकाको सबैभन्दा धेरै भिरमौरीको मह पाइने हाम्रै वडामा हो’, उनले भने, ‘निम्रुङखोलाको ठाउँठाउँमा मह सिकार गरिन्छ। अहिलेसम्म १३/१४ ठाउँमा महसिकार गरिसकेका छन्।’
महसिकार गर्न गाउँबाट धेरै टाढाको भिर पहरामा जानुपर्ने हुँदा धेरै दिन जंगलमै बास बसेर मह सिकार गरेका उनले बताए। ‘गाउँका युवाहरू रासनपानी, लुगा कपडा बोकेर छ, सात दिन जंगलमै बास बसेर मह काढे’, उनले भने, ‘सबैभन्दा धेरै २१/२२ वटा गोला हुने ठाउँमा यसपटक मह नपाइएकाले त्यहाँ चाहिँ काढेका छैनन्।’ अरू ठाउँमा भने साविककै मह पाइएको उनको भनाइ छ।
त्यस्तै वडा नं. ४ का १० भन्दा धेरै भिरमा भिरमौरीको सिकार गर्ने गरिन्छ। त्यहाँका ६–७ ठाउँमा मह सिकार गरिसकिएको वडाध्यक्ष किसान गुरुङको भनाइ छ। ‘गोठ समिति, वन समितिको नेतृत्वमा मह सिकार गर्ने गरिन्छ’, गुरुङ भन्छन्, ‘ती समितिले प्रतिघरधुरी पाँच सय रुपैयाँ उठाउँछन्। अनि सामूहिक रूपमा मह सिकार गरिन्छ। काढिएको मह त्यहाँ सहभागी सबैले दामासाहीले पाउँछन्।’ संकलित रकम गोठ, खर्क व्यवस्थापनमा खर्च गरिने उनको भनाइ छ।
यहाँ उत्पादित मह प्रतिमाना १५ सय रुपैयाँका दरले बिक्री गर्ने उनले बताए। ‘भिरमौरीको मह धेरै ठूलो औषधि हुन्छ। त्यसैले धेरैजसो घरायसी प्रयोग गर्छन्। आफूलाई अड्कलेर राखेर उघ्रिएको बिक्री पनि गर्ने गर्छन्’, उनले भने, ‘प्रतिलिटर तीन हजार रुपैयाँका दरले बिक्री गर्ने चलन छ।’
उत्तरी गोरखामा संकलन भएको भिरमौरीको मह देश, विदेशसम्म पुग्ने उनको भनाइ छ। बहुऔषधीय उपयोगी मह भएकाले यसको महत्व गाउँ, सहर र विदेशदेखि माग हुने गरेको उनी बताउँछन्।
प्रतिक्रिया दिनुहोस !