सीमाबाट भित्रिन्छ बर्डफ्लु
हेटौंडा : भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ ल्याउन पूर्ण रोक लगायो। तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम रोकिएन।
चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको पन्छीजन्य पदार्थको जरिवानाबाट ४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगन्ज प्रमुख हरेराम यादवले जानकारी दिए। कार्यालयले बारा, पर्सा र रौतहटका चार नाकामा क्वारेन्टाइन चेकपोस्टमार्फत भारतबाट आउने पशुपन्छीको क्वारेन्टाइन जाँच्दै आएको छ।
नाकामा कडाइ गरे पनि प्रत्येक वर्ष देशका विभिन्न स्थानमा बर्डफ्लु देखिने गरेको छ। ‘यसबारे सरकारले पुश चिकित्सकमार्फत बृहत् अध्ययन गर्नुपर्छ’, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख चेतनारायण खरेलले भने, ‘के कारणले प्रत्येक वर्ष बर्डफ्लु देखिन्छ, यसै भन्न सकिन्न।’
आएन नियन्त्रणमा
हेटौंडामा बर्डफ्लु देखिएको दुई महिना बित्न लाग्यो। तर यो नियन्त्रणमा आएको छैन। नियन्त्रणमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ। फागुन पहिलो साताबाट हेटौंडा ६ र ७ नम्बर वडाका किसानले पालेका कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्राविधिकले परीक्षण गर्दा गम्भीर प्रकृतिको संक्रमण देखिएको थियो। फागुन १४ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरको पहलमा नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो। फागुन २८ गते मात्र प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै पठाएको पत्र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले फागुन ३० गते सार्वजनिक गरिका थिए। बर्डफ्लु पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रको चार किल्ला तोकेर कुखुरा बिक्रीबितरणमा रोक लगाई रोगी कुखुरा नष्ट गर्ने अभियान थालेको थियो।
प्रशासनले थाल्यो अनुसन्धान
किसालने पालेका कुखुरामा बर्डफ्लु भएको तथ्य लुकाउँदा अन्यत्र पनि फैलिएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुसन्धान थालेको छ। चैत ३ गते गते आधा दर्जन खोरमा पालिएका कुखुराको नमुना पठाउँदा चैत ५ गते नै बर्डफ्लु पुष्टि भएपछि दुई सातासम्म प्रतिवेदन लुकाएको आशंकमा प्रशासनले छानबिन थालेको हो।
त्यसयता एक दर्जनभन्दा बढी किसानले पालेका कुखुराको नुमना पठाउँदा प्रयोगशालाले बर्डफ्लु पुष्टि गर्दै प्रतिवेदन दिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। ‘प्रयोगशालाबाट रिपोर्ट ढिला आउँदा बर्डफ्लु प्रभावित क्षेत्रका बिक्री गर्न योग्य कुखुरा देशका विभिन्न ठाउँमा पुगे’, तामाङले भने, ‘त्यसपछि काठमाडांै, भक्तपुर, चितवनलगायत ठाउँमा पनि बर्डफ्लु देखिन थालेको हो।’
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडासँग रिपोर्ट ढिला आउनेबारे जानकारी लिन पत्र काटिएको र जवाफ आइनसकेको उनले बताए। ‘प्रयोगशाला र हेटौंडा केन्द्रका कर्मचारीको लापरबाहीले समयमा नै बर्डफ्लु रोग नियन्त्रणमा लिन सकिएन’, उनले भने, ‘यो किन र कसरी भयो, कर्मचारीको भूमिकाबारे छानबिन भइरहेको छ।’
हेटौंडाको ६, ७ र १६ नम्बर वडाका केही किसानले पालेका कुखुराको नमुना परीक्षणको काम भइरहेको तामाङले बताए। ‘अझै बर्डफ्लु पूर्ण नियन्त्रणमा आएको छैन’, उनले भने, ‘हालसम्म नष्ट गरिएको कुखुराको संख्या करिब ५६ हजार छ।’
धमाधम कुखुरा मर्न थालेपछि कुखुरा व्यवसायी संघ मकवानपुरले रानीखेत रोगका कारण कुखुरा मरेको दाबी गर्दै बजारमा कुखुरा बिक्रीवितरण गरेको थियो। ‘बर्डफ्लु मरेको कुखुराको बिमा कम्पनीबाट पैसा नआउने भएपछि कुखुरा व्यापारीहरूले रानीखेत रोग देखाएर देशभर रोगी कुखुरा बिक्रीवितरण गर्ने काम भएको हो’, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष वासु अधिकारीले भने, ‘कुखुरा व्यवसायीसँगको मिलेमतोमा पशुसेवाका कर्मचारीले रोगी कुखुरा बिक्रीवितरण गर्ने काम गरेको छ, यसबारे कडा छानबिन गर्न हामीले माग गरेका छौं।’ रोगी कुखुरा बिक्रीवितरण गरिँदा देशका अन्य क्षेत्रमा पनि बर्डफ्लु सरेको उनको दाबी छ।
किसानलाई क्षतिपूर्ति दिन पहल
कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुनिल अधिकारीले बर्डफ्लु पूर्ण नियन्त्रणमा आइनसकेको बताए। ‘५÷१० प्रतिशत बाँकी छ, हामी क्षतिपूर्तिका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘ढिला रिपोर्ट आउनु र अन्यत्र पनि बर्डफ्लु देखिनु हाम्रो गल्ती होइन।’ किसालाई क्षतिपूर्ती दिलाउन संघले पहल गरिरहेको उनले बताए। जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिले सरोकारवाला पक्षको सहमतिमा प्रतिगोटा जिउँदो लेयर्स ९ सय रुपैयाँ, ब्रोइलर चार सय रुपैयाँ, दाना प्रतिकेजी ६५ रुपैयाँ र अन्डा प्रतिगोटा ११ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
लेयर्स पनि संक्रमित
अन्डा पार्ने (लेयर्स) कखुरामा पनि बर्डफ्लु भेटिएको छ। यसअघि नेपालमा ब्रोइलर र स्थानीय जातका कुखुरामा मात्रै बर्डफ्लु देखिएको थियो। इतिहासमै पहिलो पटक लेयर्स कुखुरामा पनि बर्डफ्लुको संक्रमण भेटिएको पशुसेवा विभागका महानिर्देशक डा. विमल निर्मलले बताए। सरकारले सूक्ष्म रूपमा यसको निगरानी र अध्ययन गरिरहेको उनको भनाइ छ।
हेटौंडा, काठमाडौंसँगै ललितपुर, भक्तपुर, कास्की, मोरङ र सुनसरीमा बर्डफ्लुको संक्रमण भेटिएको छ। बर्डफ्लु पुष्टि भएपछि विभागले चैत २ गते प्रभावित क्षेत्रमा सर्भिलेन्सको कामलाई निरन्तरता दिएको छ। यो सर्भिलेन्स अझै करिब तीन सातासम्म कायम रहने डा. निर्मलले बताए। बर्डफ्लुको संक्रमण कुन स्रोतबाट फैलिएको हो भन्ने विषयमा गहन अध्ययन भइरहेको विभागको दाबी छ। खुला सीमाका कारण भारतीय क्षेत्रबाट अवैध रूपमा आउने कुखुरा, चल्ला, अन्डा र दानाका साथै उडन्ते चरा आउनेजाने गरेका कारण बर्डफ्लुका जीवाणु कुनै न कुनै स्रोतबाट भित्रिएको हुन सक्ने विभागको ठम्याइ छ।
‘भारतबाट वैध रूपमा कुखुरा, चल्ला र अन्डा आउँदैन’, निर्मलले भने, ‘जेजति आइरहेका छन्, ती सबै अवैध रूपमा ल्याइन्छ।’ फेला परेको अवस्थामा तत्कालै सुरक्षाकर्मीले खाल्डो खनेर पुर्दै आएका छन्।
साइकल, मोटरसाइकल तथा जिपमा हालेर सीमाक्षेत्रका इलाकामा अवैध रूपमा ल्याइने कुखुरा, चल्ला र अन्डाका माध्यमबाट पनि बर्डफ्लुका जीवाणु आउन सक्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मि श्रले बताए।
संक्रमण पुष्टि भएपछि सरकारले १२ करोडभन्दा बढी मूल्यका एक लाख दुई हजार पाँच सय ८० गोटा कुखुरा, चल्ला र हाँस नष्ट गरेको छ। यसबाहेक यी सात स्थानमा ३७ हजार ९ सय २६ अन्डा पनि नष्ट गरिएको छ। कुखुरा फार्म र हाँस फार्ममा रहेका दानासमेत नष्ट गरिएको विभागले जानकारी दिएको छ।
बर्डफ्लुको संक्रमण फैलिन नदिन विभागले काठमाडौंका तारकेश्वर र टोखा नगरपालिकाका किसानका फार्मबाट स्थानीय जातका तीन सय २५, ब्रोइलर जातका ३ हजार ४ सय ५९ गोटा, लेयर्स जातका (६ सातामाथिका) २६ हजार ६ सय ९४ र ६ साता कम उमेरका नौ सय ५०, ब्रोइलर प्यारेन्ट जातका ७ हजार ५ सय ४ गोटा कुखुरा नष्ट गरेको छ। यस्तै १० हजार दुई सय १५ अन्डा र ११ हजार दुई सय किलो दाना नष्ट गरेको छ।
ललितपुरको गोदावरी नगरपालिकामा १ हजार ८ सय ९० गोटा लेयर्स कुखुरा र १ हजार किलो दाना नष्ट गरिएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिकामा २ हजार ९ सय ८५ गोटा लेयर्स, २ हजार १ सय अन्डा र १ सय ५० किलो दाना नष्ट गरिएको छ। त्यस्तै हेटांैडा उपमहानगरपालिका–७, ८ र १७ मा ५५ हजार १ सय ७४ गोटा लेयर्स कुखुरा, ४ सय १२ ब्रोइलर, ३ सय ५१ स्थानीय कुखुरा, १३ हजार ५ सय ५६ गोटा अन्डा र २ हजार ५ सय २३ दाना नष्ट गरिएको छ। कास्कीको मादी गाउँपालिका–१ को याङजाकोटामा स्थानीय जातका ७७ कुखुरा, ८५ वटा अन्डा र ३५ किलो दाना नष्ट गरिएको छ।
यसैगरी मोरङको सुन्दरहरैंचा नगरपालिका–११ मा १ हजार ८ सय ३२ लेयर्स जातका कुखुरा, ७८ वटा स्थानीय कुखुरा, २९ चल्ला, १० हजार २ सय ९० अन्डा र १ हजार ५ सय किलो दाना नष्ट गरिएको विभागले जानकारी दिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा ८ सय ४७ हाँस, १ हजार ६ सय ८० अन्डा र ३ सय किलो दाना नष्ट गरिएको छ।
यसबाहेक बर्डफ्लु प्रभावित क्षेत्रमा विचरण गरेका र विभिन्न माध्यमबाट बर्डफ्लुको सबटाइप एचफाइभ एनवन जीवाणुको संक्रमण हुँदा लैनचौरस्थित ब्रिटिस दूतावास, राहदानी विभाग तथा नारायणहिटी दरबार वरिपरिमा तीन सय ५० को संख्यामा कागसमेत मरेका छन्। बर्डफ्लुको संक्रमणबाट करिब ६ वर्षअघि राष्ट्रिय सभागृह वरिपरि काग मारिएका थिए।
विभागले बर्डफ्लुका कारण क्षति बेहोरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग आठ करोड रुपैयाँ मागेको छ। सरकारले किसानलाई बजार मूल्यको ७५ प्रतिशत मूल्य क्षतिपूर्तिबापत उपलब्ध गराउने नीति बनाएको छ। बर्डफ्लुको संक्रमणबाट किसानले पालेका कुखुरा र हाँसको नोक्सानी हुन नदिन स्थानीय तहको पशुसेवा शाखाका कर्मचारी, पशु चिकित्सक र प्राविधिक टोलीलाई नियमित सर्भिलेन्सका लागि परिचालन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले जानकारी दिए।
बर्डफ्लुको संक्रमण मासु उपभोग गर्नुभन्दा कुखुराको सम्पर्कमा रहने, मासु काट्ने, किनेर ल्याउने व्यक्तिमा रोग सर्ने सम्भावना हुन्छ। ‘तर नेपालमा बर्डफ्लुबाट मानवीय क्षति भएको अहिलेसम्म फेला परेको छैन’, खतिवडाले भने।
जाडोयाममा मात्रै देखा पर्ने बर्डफ्लुको संक्रमण पछिल्लो केही वर्षयता गर्मीमा समेत फेला पर्न थालेको छ। कुखुरा, संक्रमित सुली, उपकरण, पानी, दानालगायतसँगको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कबाट पन्छीहरूबीच बर्डफ्लुका जीवाणु सर्ने सम्भावना हुन्छ। यस्तै बसाइँ सरेर आउने जंगली चरा तथा जीवित पन्छी तथा पन्छीजन्य सामग्रीको अवैध कारोबारबाट समेत यो रोग सर्छ।
ललितपुर सर्यो संक्रमण
करिब दुई साताअघि ललितपुरको ठेंचोको एक कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण देखियो। तर ती कुखुरा त्यहाँ उत्पादन भएका थिएनन्। काठमाडौंको तारकेश्वर नगरपालिकाको फार्मबाट ल्याइएका थिए। त्यसपछि ती कुखुरा तत्काल नष्ट गरिएको काठमाडौं, ललितपुर, भक्तपुर हेर्ने भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले बताए। ‘बर्डफ्लु काठमाडौंबाट ललितपुर छिरेको हो’, उनले भने, ‘त्यसपछि भने ललितपुरका अन्य स्थानमा संक्रमण देखिएको छैन।’
सजगता अपनाउनुस् : चिकित्सक
चिकित्सकले किसान, मासु वितरक उपभोक्तालाई बर्डफ्लुबाट जोगिन आग्रह गरेका छन्। कुखुराको मासु सेवन गर्नेभन्दा पोल्ट्री फार्ममा कार्यरत किसान बढी चनाखो हुनुपर्ने स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेक लालले बताए।
‘कुखुराका प्वाँख, सिँगान, र्याल, सुली, दाना, अन्डा, क्रेट र दाना राखेको बोरामा पनि भाइरस हुन सक्छ’, उनले भने, ‘कुखुराको स्याहार गर्ने र मासु बिक्रेता यसको बढी जोखिममा छन्।’ त्यसैले किसान र कामदारले सुरक्षाका उपाय अपनाउनुपर्ने उनको भनाइ छ।
किसान एवं मासु बिक्रेताले टोपी, मास्क, पन्जा, बुट लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले सुझाए। भाइरस सरेपछि रुघाखोकी लाग्ने, छाती दुख्ने, निमोनिया हुनेलगायत लक्षण देखिन्छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार व्यक्तिमा बर्डफ्लुको भाइरस संक्रमण भए मृत्युदरको जोखिम ६० प्रतिशत हुन्छ।