के गर्दैछन् वैद्य ?

के गर्दैछन् वैद्य ?

काठमाडौं : माओवादी ‘स्कुलिङ’ का नेताहरूका चार धार क्रियाशील छन् अहिले। पुष्पकमल दाहाल तत्कालीन एमालेसँगको एकतापछि प्रधानमन्त्री केपी ओलीसँगै नेकपाका साझा अध्यक्ष छन्।

डा.बाबुराम भट्टराई वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै नयाँ शक्ति पार्टी निर्माणमा बल गरिरहेका छन्। अर्काे धार जन्मिएको छ, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वमा, नाम नेकपा राखेरै। जसका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाइसकेको छ। यी धारको बीचमा छन्, मोहन वैद्य (किरण), जो यी सबै नेताका माक्र्सवादी गुरु हुन्। उनी नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव हुन्।

०५२ सालमा तत्कालीन माओवादीले ‘सशस्त्र युद्ध’ गर्दाका १९ केन्द्रीय सदस्यमध्ये ४ नेता उनीसँगै छन्। वैद्य स्वयं, सीपी गजुरेल, हरिभक्त कँडेल र दिनेश शर्मा। यसबाहेक उनलाई सशस्त्र द्वन्द्वकालकै पोलिटब्युरो सदस्य इन्द्रमोहन सिग्देल, चन्द्रहरि सुवेदी (अटल)लगायतले साथ दिइरहेका छन्। सबैतिरबाट एक्लिँदै गएका वैद्यलाई ४ वर्षदेखि साथ दिएका छन्, परि थापा, रामसिंह श्रीष र सिताराम तामाङलगायतले।

उनको सोच अहिले न सरकारसँग मिल्छ, न विप्लवसँग नै। उनी अलग्गै आफ्नो पहिचान रहेको जिकिर गरिरहेका छन्। सरकारलाई उनी ‘फासिवादउन्मुख’ बन्दै गएको आरोप लगाउँछन्। विप्लवलाई भने अपरिपक्व र महत्वाकांक्षी। नेपालमा अझै जनवादी क्रान्ति पूरा नभएकाले एक चरणको नयाँ क्रान्तिको आवश्यकता औंल्याइरहेका छन् वैद्य।

वैद्यसँगै रहेका नेता सीपी गजुरेल भन्छन्, ‘हाम्रो बाटो प्रष्ट छ, जनवादी क्रान्ति पूरा गर्दै समाजवादी क्रान्तिको दिशामा अगाडि जाने।’ वैद्यको मूल पार्टी पनि विप्लवको पार्टी जस्तै कतै दर्ता छैन। संयुक्त मोर्चामा सहभागी हुने र निर्वाचन उपयोग गर्ने गरी बनाइएको ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’ निर्वाचन आयोगमा दर्ता छ। गत प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा वैद्य माओवादीले यही मोर्चाको उपयोग गरेको थियो। तर देशभरिबाट जम्माजम्मी मत पायो १० हजार मात्र।

मोर्चाका संयोजक छन्, नेता सीपी गजुरेल। त्यही मोर्चाको पहिलो राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ। विप्लवको बाटो र प्रचण्ड–बाबुरामको संसद्वादी बाटोभन्दा बिल्कुलै फरक सोचमा क्रान्ति हुने आशमा अझै वैद्य देखिन्छन्। क्रान्तिको वातावरण विस्तारै बन्ने उनको विश्वास छ।

२०६९ साल असारमा तत्कालीन एकीकृत माओवादीबाट वैद्यकै नेतृत्वमा माओवादी पार्टी विभाजनको शृंखला सुरु भएको थियो। त्यसपछि वैद्य आफैंले नेतृत्व गरिरहेको पार्टीबाट विप्लव विभाजित भए। वैद्यले राष्ट्रिय एजेन्डामा मुद्दा मिल्नेसँग अहिले ध्रुवीकरण गर्ने योजना बनाएका छन्, तर सैद्धान्तिक कुरामा नमिल्दासम्म कोही कसैस“ग पनि पार्टी एकता भने नगर्ने निष्कर्षमा उनी छन्।


‘कम्युनिस्ट बदनाम गर्ने सरकार’

नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टकै बदनाम गर्ने गरी सरकार चलाइरहेको आरोप लगाएका छन्। पार्टीको संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै वैद्यले ओलीले विदेशी शक्तिको हित रक्षाका लागि सरकार चलाइरहेको आरोप लगाए। ‘अहिलेको सरकार कम्युनिस्टको होइन, कम्युनिस्टको बदनाम गर्नेको सरकार हो’, वैद्यले भने, ‘विदेशी प्रभुहरूको हित संरक्षण गर्ने सरकार चलेको छ। यो नामधारी कम्युनिस्ट सरकार हो।’

उनले ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा प्रधानमन्त्री ओलीको लफ्फाजी मात्र भएको जिकिर गरे। ‘देशभित्रका जग्गा बाँझो राख्ने, धान–चामल भारतबाट ल्याउने, युवालाई विदेश धपाउने, प्राकृतिक स्रोतसाधन बेच्ने, अनि समृद्द नेपाल सुखी नेपालीको नारा दिने’, वैद्यले भने, ‘यो ओलीको लफ्फाजी मात्र हो। त्यो पूरा हुन सक्दैन।’

वैद्यले सिके राउतसँगको सम्झौता, रेशम चौधरीमाथि जन्मकैदका फैसला र विप्लवमाथिको प्रतिबन्धले सरकार अमेरिकी साम्राज्यवादीको डिजाइनमा चल्न थालेको पुष्टि भएको जिकिर गरे।

रेशम चौधरीको मुद्दामा राजनीतिक रूपमा समाधान खोज्नु पर्ने धारणा वैद्यले राखे। ‘चौधरीमाथि मिथ्या आरोप लगाइएको छ, हामी पनि त्यो आन्दोलनमा सँगै थियो’, वैद्यले भने,‘त्यो राजनीतिक आन्दोलन हो, राजनीतिक रूपमा समाधान खोज्नुपर्छ।’

उनले कम्युनिस्ट सरकारले अर्काे कम्युनिस्टलाई प्रतिबन्ध लगाएको इतिहास नभएको भन्दै ओली–पुष्पकमल दाहाललाई ०२८ र ०५२ सालको आन्दोलन सम्झन आग्रह गरे।

पदाधिकारी बनाइने

राष्ट्रिय सम्मेलनले पदाधिकारीसहितको केन्द्रीय समिति निर्वाचित गर्ने भएको छ। बन्दसत्रमा पदाधिकारी चयन गर्न छलफल चलेको छ। मोर्चाका अध्यक्ष सिपी गजुरेल र सचिव परी थापा थिए। २०७३ सालमा चुनावको उपयोग गर्ने नीतिसहित बनाइएको मोर्चाको ७१ सदस्यीय केन्द्रीय समिति थियो।

अब अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवलगायत पदाधिकारी नै बनाउने तयारी भएको छ। तर कति सदस्यीय बनाउने भन्ने निर्णय मोर्चा सचिवालय बैठकले तय गर्नेछ। बन्दसत्र मंगलबारसम्म चल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.